रियलसँग एट्लेटिको पराजित

0
Shares

लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगाअन्तर्गत डर्बी भिडन्तमा रियल मेड्रिडसँग एट्लेटिको मेड्रिड पराजित भएको छ ।

रियलले घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । योसँगै एट्लेटिकोले सिजनको पहिलो हारको स्वाद चाखेको छ । शनिबार राति सम्पन्न उक्त खेलमा रियलको जितमा कासेमिरोले पहिलो हाफमा गरेको एक गोल र दोस्रो हाफमा पाएको एक आत्मघाती उपहार गोल निर्णायक बनेको थियो । खेलको १५औं मिनेटमा टोनी क्रुसको कर्नर किकलाई कासेमिरोले हेडमार्फत गोल गर्दै रियललाई पहिलो हाफसम्म १–० ले अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा रियलका डानी कार्भालले डीबक्स बाहिरबाट गरेकोे सशक्त प्रहार पोस्टमा लागेर रिबाउन्ड हुने क्रममा गोलकिपर यान ओब्लाकलाई लागेर गोलमा परिणत हुन पुगेको थियो । जितसँगै रियलले १२ खेलमा २३ अंक जोडेको छ । यता पहिलो हारको सामना गरेको एट्लेटिकोको ११ खेलबाट २६ अंक भएको छ । त्यस्तै, दोस्रोमा रहेको रियल सोसिडाडको १२ खेलबाट २५ अंक छ ।

शनिबार राति नै भएको अन्य खेलमा ह्युसकाले अलाभेसलाई १–० गोल अन्तरले पराजित गर्‍यो । जितपछि ह्युसको १३ खेलबाट ११ अंक भएको छ । त्यस्तै, अर्काे खेलमा सेभियाले पनि गेटाफेलाई १–० ले पराजित गरेको छ । सेभियाको जितमा गेटाफेका जेभियरले गरेको आत्मघाती गोल नै निर्णायक साबित बन्यो । जितसँगै सेभियाले ११ खेलबाट १९ अंक जोडेको छ । त्यस्तै, पराजित गेटाफेको १३ अंक मात्र रहेको छ ।