विरोधीले धूप हाल्दैमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले विरोधीले नेपाल कम्युनिस्ट पार्टी विभाजन होस् भनेर धूप हाले पनि नेकपा विभाजन नहुने बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाको नगर अस्पतालको आइतबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कसैले पार्टी फुटोस् र सरकार ढलोस् भने पनि त्यो सोच निरर्थक हुने बताउनुभयो ।

नेपाली जनताले इतिहास निर्माण गर भनेर नेकपालाई दुई तिहाइनजिकको मत दिएकाले जनचाहनाअनुसार नै नेकपा एक हुने उहाँको भनाइ छ । नेकपा समुद्र भएको बताउँदै समुुद्रमा सानोतिनो छाल आउनु सामान्य भएको उहाँले बताउनुभयो ।

सत्तारूढ पार्टीको एकता नै अहिलेको प्रमुख आवश्यक भएको भन्दै मन्त्री श्रेष्ठले यसको व्यवस्थापन गर्न पार्टी सक्षम रहेको बताउनुभयो । केपी शर्मा ओलीले आगामी चुनावपछि सरकार र आगामी महाधिवेशनपछि पार्टी अध्यक्ष छोड्छु भन्ने वचन दिएकाले अहिलेको पार्टी एकताको बटमलाइन नै त्यहीँ भएको मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद अबको चुनावपछि र पार्टी अध्यक्ष पद आगामी महाधिवेशनपछि मात्रै छाड्ने पनि स्पष्ट रहेको बताउनुभयो । उहाँले पार्टी एकता दुई अध्यक्षका सहमतिबाट मात्रै सम्भव भएको र सहमतिको आधारमा पार्टीलाई सञ्चालन गर्ने भनिएकाले अहिले पनि दुई अध्यक्षबीच सहमति हुन जरुरी रहेको बताउनुभयो । दुई अध्यक्षमध्ये एकले समझदारी छाडेपछि समस्या उत्पन्न भएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

मन्त्री श्रेष्ठले जनताले केपी शर्मा ओलीलाई नै पाँच वर्ष प्रधानमन्त्री हुन जनादेश दिएकाले बीचैमा जनतालाई धोका दिएर सत्ता छोडेर जाने छुट प्रधानमन्त्री ओलीलाई नभएको बताउनुभयो ।

उहाँले पार्टीभित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताउनुभयो । पार्टीको एकता नै ६० र ४० प्रतिशतको अनुपातमा भएकाले पनि बहुमत र अल्पमतमा जाँदा एकले अर्कोलाई समाप्त गर्ने स्थिति हुने भएकाले दुई अध्यक्षको सहमति बेगर कुनै पनि समस्याको समाधान हुन नसक्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको १९ पृष्ठ लामो दस्तावेज आरोपपत्र भएकाले पार्टीभित्र छलफल नै गर्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ३८ पृष्ठ लामो दस्तावेजमाथि छलफल गरेर अगाडि बढे मात्रै पार्टीले निकास पाउने पनि मन्त्री श्रेष्ठले बताउनुभयो । सरकारले मंसिर १४ गते देशभरका स्थानीय तहमा एक अस्पताल उद्घाटन र शिलान्यास गरेर स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको उहाँले बताउनुभयो । कार्यक्रममा उहाँले भक्तपुरको शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र कहाँ बनाउने भनेर विवाद गर्नुको तुक नभएको भन्दै सरकारले चाँगुनारायणको झौखेलमा बनाउने र चाँगुनारायणमै पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय हलसमेत निर्माण गर्ने तय गरेको बताउनुभयो । कुन पार्टी, कुन नेताले विकास गर्‍यो भनेर विवाद गर्न नहुनेमा जोड दिँदै उहाँले जसले गरे पनि विकासमा एकताबद्ध हुने र निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने औल्याउनुभयो ।

चाँगुनारायण अस्पताल अस्पतालजस्तो नभएको, सडकको दूरावस्था रहेको, बाहिर भवन राम्रो देखिए पनि भित्र सेवा प्रभावकारी नभएको, भित्र श्ययादेखि शौचालयसम्म फोहोर रहेको र व्यवस्थापनमा कमजोर रहेको भन्दै नगरपालिकाले अस्पताललाई साँच्चिकै अस्पताल जसरी चलाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले विगतमा स्वास्थ्य केन्द्र रहेकोमा त्यसलाई विस्तार गरी नगर अस्पताल निर्माण गरिएको बताउनुभयो । आवश्यक सबै पूर्वाधार निर्माणको काम सकिएकाले अब कर्मचारी व्यवस्थापनपछि नगर अस्पताल सञ्चालनमा आउने उनको भनाइ छ । ‘हामीले विज्ञापन गरेका छौं, १७ जना अहिले कार्यरत हुनुहुन्छ, नयाँ कर्मचारी आएपछि करिब पुसको पहिलो साताबाट अस्पताल शुरु हुन्छ।’ –नगरप्रमुख मिश्रले भन्नुभयो ।

पहिलो चरणमा यो कोभिड विशेष अस्पताल हुने र कोरोना संक्रमण भएर घरमै बसेका चाँगुनारायणका बासिन्दालाई अस्पताल लानुपर्ने अवस्था आएमा यहीं उपचार हुने नगरप्रमुख मिश्रले बताउनुभयोे । मिश्रले पाँच रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल सरकारको ३ करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न भई स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गर्दै सञ्चालनमा ल्याएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेपाल सरकारका सचिव मणिराम गेलाल, गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, वडा सदस्य जयन्द्र खड्का, नगरपालिकाका प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, व्यवस्थापन समितिका अध्यक्ष बुद्धिलाल महर्जनलगायतले अस्पतालले सेवा र श्ययालाई व्यवस्थित र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा २०६८ सालमा अस्पताल शिलान्यास गर्ने नेपाली कांग्रेसका युवा नेता रोशन पौडेललाई मन्त्री श्रेष्ठ, नगर प्रमुख मिश्रले विशेष सम्मान गर्नुभयो । प्रसूति, नाक, कान, घाँटी, आँखा, ओपीडीलगायतका सेवा दिने तयारी नगर अस्पतालको छ । हाल १५ सामान्य श्यया र अन्य दुई गरी १७ शैया रहेको छ ।