कोरोनाविरुद्धको खोप खरिद प्रक्रियामा छलफल गर्दै नेपाल

बेलायतले प्रयोगमा ल्यायो, अमेरिकाले आज ल्याउने



भगवती तिमल्सिना, काठमाडौं ।

चीनको उहानमा कोरोना भाइरस प्रमाणित भएपछि विश्वव्यापीरुपमा ठूलो आर्थिक क्षति भएको छ । पछिल्ला दिनमा विश्वका वैज्ञानिकहरुले कोरोनाविरुद्धको खोप पहिचान गरी प्रयोगमा समेत ल्याइसकेका छन् । बेलायतले प्रयोगमा ल्याएको एक सातापछि अमेरिकाले पनि आज सोमबारदेखि प्रयोगमा ल्याउँदै छ ।

अन्य मुलुकमा प्रयोगमा आइसक्दा नेपालमा भने खोप कुन मुलुकबाट कसरी भित्र्याउने भन्ने विषयमा छलफल शुरु भएको छ । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विषय विज्ञहरुसँग बसेर खोप कसरी, कुन मुलुकबाट भित्र्याउने र भण्डारणका लागि के कस्तो तयारी गर्ने भन्ने विषयमा छलफल गर्नुका साथै खोप प्रयोगपछि हुन सक्ने असरका बारेमा के गर्ने भन्ने पनि छलफल शुरु गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । तर खोप खरिद, भण्डारण, वितरण र प्रयोगका लागि आवश्यक अन्य तयारी भने खासै भइनसकेको स्रोतको दाबी छ ।

नेपालले हालसम्म छिमेकी मुलुक भारतले के गर्छ त्यसकै सिको गर्दै आएको र खोपका विषयमा पनि भारतले निर्णय लिएपछि मात्र नेपालले सोच्ने गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

आइतबारसम्म कोरोना भाइरसकै कारण १६ लाख ३ हजार ४ सय १५ जनाको मृत्यु भइसकेको छ भने ७ करोड १६ लाख ८ हजार ९ सय ६१ जना संक्रमित भएकामा ४ करोड ६६ लाख ८६ हजार ९ सय ४५ निको भएका छन् ।

नेपालको हकमा हालसम्म १ हजार ६ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । कोरोना संक्रमणपछि संस्कारको जिम्मेवारी सम्हाल्दै आएको नेपाल सरकारकै अर्को अंग रक्षा मन्त्रालयअन्तर्गतको नेपाली सेनाले भने संक्रमण पुष्टिदेखि वडाको सिफारिससमेत सुरक्षित राखी तयार पारेको रिपोर्टमा स्वास्थ्य मन्त्रालयको भन्दा ६ सय जना बढीको मृत्यु भइसकेको प्रतिवेदन एक महिनाअघि नै स्वास्थ्य मन्त्रालयसमक्ष बुझाएको थियो तर सरकारले आफूले गरेको गल्ती स्वीकारेर सत्यतथ्य सार्वजनिक भने अहिलेसम्म गर्न सकेको छैन ।

संक्रमितको संख्या पनि सरकारले भनेभन्दा फरक हुन सक्छ भन्दै जनमानसमा शंका उब्जिएको भए पनि नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ रहेको छ भने निको हुनेमा २ लाख ३५ हजार ७ सय ३१ रहेको छ ।

नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ पीसीआर परीक्षण भएको छ भने ५ सय १६ जनाको क्वारेन्टाइनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षणको संख्या हेर्दा धेरै भए पनि यति व्यक्तिमा गरिएको नभई एकै व्यक्तिमा पटकपटक गर्नुपर्ने अवस्था रहेकाले यसमा कति जनाले परीक्षण गरे भन्ने यकिन तथ्यांक सरकारका कुनै पनि निकायसँग छैन । एउटै व्यक्तिले कति पटकसम्म पीसीआर परीक्षण गर्नुपर्‍यो भन्ने तथ्यांक नहुँदा कति व्यक्तिको परीक्षण भयो भन्न सकिने अवस्था नरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरु बताउँछन् ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित छन् । आइतबार १ हजार ५ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्