देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा कांग्रेस गम्भीर : देउवा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताउनुभएको छ । उहाँले आइतबार विज्ञप्तिमार्फत पार्टीले मुलुकलाई हरेक चुनौतीका घडीमा निकास र नेतृत्व दिएको तथा प्रतिपक्षका रूपमा निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निर्वाह गर्दै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको आरोप लगाउनुभयो ।

उहाँले ७७ वटै जिल्लामा आज सोमबार पार्टीले आयोजना गर्ने देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागिताका लागि आग्रह गर्नुभएको छ ।

उहाँले पार्टीले सडकदेखि संसद्सम्म अब सरकारलाई तीव्र दबाब दिई जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्ने बताउनुभएको छ । लामो संघर्षबाट स्थापना गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु स्वाभाविक हक भएको उहाँको भनाइ छ ।

कांग्रेसले कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेका परिवार, बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त समाज, खेतीका बेला मल नपाएर छटपटिएका किसान, लकडाउनका बेला भोकका कारण सयौं किलोमिटर पैदल हिँडेर गाउँ फर्किएका श्रमिक, व्यापार ठप्प हुँदा पनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती बेहोरिरहेका साना व्यवसायीदेखि ठूला उद्योगीलगायतका पीडा र भावनालाई अब प्रखर ढंगले मुखरित र नेतृत्व गर्ने जनाएको छ ।

यसै गरी पार्टीले ७७ वटै जिल्लामा गर्ने विरोधका कार्यक्रम सहभागी हुन केन्द्रीय नेताहरु आइतबारबाटै जिल्ला गएका छन् । जिल्लामा हुने विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरिएको गिरफ्तारीको विरोधमा सोमबार हुने देशव्यापी प्रदर्शनलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू हिजो आइतबारदेखि नै आफूलाई तोकिएको जिल्ला गएका छन् ।

सभापति शेरबहादुर देउवाले मकवानपुर तथा वरिष्ठ नेता पौडेलले काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह धनुषा र कृष्णप्रसाद सिटौला महोत्तरी, पूर्वसहमहामन्त्री डा. रामशरण महत चितवन र अर्जुननरसिंह केसी कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र सहमहामन्त्री सुनीलबहादुर थापा धनकुटामा हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

कांग्रेस युवा नेता गगन थापाले धनगढी र रामहरि खतिवडाले इलाममा आयोजित विरोध सभालाई सम्बोधन गर्ने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयबाट देशभरका कार्यक्रमको समन्वय अपडेट गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

ओली सरकारको सर्वसत्तावाद, कुशासन, बेथिति, भ्रष्टाचार, दमन, कोभिड–१९ को अव्यवस्था र अन्यायविरुद्ध पनि प्रदर्शन गर्ने भन्दै कांग्रेसले केन्द्रबाट नारासमेत जिल्लालाई पठाएको छ ।