नेकपा स्थायी समिति बैठक स्थगित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटीको स्थायी कमिटीको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक व्यक्त गरेर सकिएको छ । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार बसेको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भएपछि बालुवाटरमै बैठक राखिएको थियो । यसअघि बसेको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो । मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष ओली भने सहभागी हुनुभएको थिएन । स्थायी समिति बैठकमा सहभागी नभए पनि पत्रमार्फत बैठकलाई सम्बोधन गर्नुभएका ओलीले प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्नुभएको थियो । तर पूर्ववत् अडानबाट पछि हट्दै ओली आइतबारको बैठकमा सहभागी हुनुभएको छ ।

स्थायी समिति बैठकमा दुवै अध्यक्षले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदन अध्ययन गर्नका लागि बाँडिएको छ । आइतबारको बैठकमा छलफल हुन नसकेपछि पुस १ गते बस्ने बैठकमा दुवै प्रतिवेदनमाथि स्थायी समितिका सदस्यहरुले धारणा राख्ने बताइएको छ । सात दिन प्रतिवेदन अध्ययन गर्न दिएपछि शीर्ष तहमा कुनै पनि छलफल हुन सकेको छैन । ओलीले प्रचण्डसँग एकपटक मात्र छलफल गरे पनि कुनै पनि सहमति जुट्न सकेको छैन ।

ओली र प्रचण्डबीच लिखितरुपमा आरोप प्रत्यारोप शुरु भएसँगै चिसिएको सम्बन्ध सुधार गर्न ओलीनिकट नेता सुवासचन्द्र नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डसँग भेटवार्ता गरिरहनुभएको छ । ओलीनिकट नेताहरुले ओली अहिलेको समस्या समाधान गर्न चिन्तित भएकाले प्रचण्डले पनि विषयलाई गम्भीरतापूर्वक लिएर निकास दिन आग्रह गर्दै आएका छन् । तर जवाफमा अध्यक्ष प्रचण्डले विषयवस्तु पार्टीको कमिटीमा प्रवेश गरिसकेकाले सबै कुराको छिनोफानो बैठकले नै गर्ने बताउँदै आउनुभएको प्रचण्डको सचिवालयले बताएको छ ।

श्रेष्ठको बचाउमा प्रचण्ड

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको मृत्यु भएको केही दिनपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिनुभएको छ । सांसद एवं पूर्वराजदूत लामाको कोरोना संक्रमणका कारण बिहीबार निधन भएको थियो । लामाको निधनपछि अडियो भिडियो सार्वजनिक भएसँगै श्रेष्ठ विवादमा तानिनुभएको हो ।

आइतबारको स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले लामाको निधनपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गाँसिएर आएको विषयमा बैठकमा ब्रिफिङ गर्नुभएको थियो । प्रचण्डले कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता श्रेष्ठलाई अनावश्यकरुपमा जोडेर प्रचार भएको जानकारी गराउनुभएको थियो । लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न पनि प्रचण्डले नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

प्रचण्डले श्रेष्ठको चरित्र हत्या हुने गरी भएका प्रचारको निन्दा गर्नुभएको थियो । तर बैठकमा सहभागी हुनुभएका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ । यसअघि नै श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफूले प्रयास मात्रै गरेको प्रतिक्रिया दिनुभएको थियो । लामा र हाइड्रोपावरका सम्बन्धित व्यक्तिलाई सँगै राखेर उनीहरूबीच रहेको लेनदेन विवादमा मिल्नुस् भन्नेबाहेक अरु कुनै पनि कुरा नगरेकाले भ्रममा नपर्न पनि दाहालले आग्रह गर्नुभएको छ ।

बालुवाटारमा नारायणकाजीविरुद्ध प्रदर्शन

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सडकअगाडि प्रदर्शन भएको छ । प्रदर्शन भइरहेका बेला स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल भने श्रेष्ठको बचाउमा बोल्दै हुनुहुन्थ्यो ।

नेकपा सचिवालय सदस्य श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरुले बालुवाटारमा प्रदर्शन गर्दै कमानसिंह लामा प्रकरणमा छानबिनको माग गरेका थिए । प्रदर्शनकारीले नारायणकाजी र सुसन कर्माचार्यको सम्पत्ति छानबिन गर्न पनि माग गरेका थिए ।

उनीहरुले ‘हेल्लो नारायणकाजी, एउटा झुट छोप्न सयवटा झुट नबोल्नुस्’ भन्दै नारा लगाएका थिए । कमानसिंहले पनि निधन हुनुअघि नारायणकाजीसहितका कारण आफ्नो जीवन बर्बाद भएको फेसवुक स्टाटस राख्नुभएको थियो । तर श्रेष्ठले भने आफूले कमानसिंहले जलविद्युत्मा लगाएको सेयरको हिसाब मिलाउन मध्यस्थकर्ताको मात्रै भूमिका निर्वाह गरेको स्पष्टीकरण दिँदै आउनुभएको छ ।