सुपर जोन भन्दा बाहिरका कृषक सुन्तला खेतीबाट पलायन हुने अवस्थामा

अनुदानका उत्पादनसंग प्रतिस्पर्धा गर्न नसकेको गुनासो

0
Shares

भूपराज बस्याल, स्याङ्जा ।

सुन्तला उत्पादनमा चर्चा पाएको स्याङ्जा जिल्लामा सुन्तला उत्पादन वृद्धि गर्ने उदेश्यले केही स्थानलाई मात्रै सुन्तला सुपर जोन घोषणा गरेर अनुदान दिदा बर्षौ देखि सुन्तला उत्पादन गर्दै आएका कृषक सुन्तला खेतीबाट पलायन हुने अवस्था सिर्जना भएको छ ।

जिल्लाका एघार वटा स्थानीय तहमामा करिब दुई हजार हेक्टरमा सुन्तला उत्पादन हुने तथ्यांक सुन्तला सुपर जोन स्याङ्जासंग रहेपनी हाल चार वाट स्थानीय तहमा जम्मा १३ सय हेक्टरलाई मात्रै सुपर जोन घोषणा गरेर अनुदान दिदा अन्य क्षेत्रका कृषकमा निराशा छाएको छ ।

पुतलीबजार नगरपालिमा आठ वटा वडा, अर्जुन चौपारी गाउँपालिकामा दुई वटा वडा, वालिङ् नगरपालिकामा एक वडा, भिरकोट नगरपालिकामा चार वडालाई सुन्तला सुपरजोन घोषणा गरि त्यही क्षेत्रलाई मात्रै अनुदान दिदा अन्य क्षेत्रका कृषक ती अनुदानका उत्पादनसंग बजार प्रतिस्पर्धा गर्न नसकेको जनाएका छन् ।

आर्थिक बर्ष ७१ /७२ देखि जिल्लाका केही स्थानलाई सुन्तला सुपर जोन घोषणा गरेर बिउबिजन देखि उत्पादनको लागि आवश्यक पर्ने औजारहरु सहुलियत दरमा वितरण गरेपछि अनुदान बिहिन कृषकले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएपछि निरास भएका हुन् । जिल्लाको सुन्तला चीन निर्यात गर्ने गरि सुन्तला पकेट क्षेत्र घोषणा गरि काम भएपनी उत्पादित सुन्तला चीन निर्यात हुन नसक्दा र अनुदान प्राप्त सुन्तलासंग बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बर्षौ देखि सुन्तला उत्पादन गर्दै आएका कृषक पलायन हुने अवस्थामा रहेको बताएका छन् ।

सुन्तला सुपर जोन भित्र आफ्नो क्षेत्र नपरेको हुँदा केही अनुदान नपाएको र अनुदान पाएर उत्पादन हुने सुन्तलासंग प्रतिस्पर्धा गर्न नसक्दा २५ बर्ष देखि गर्दै आएको सुन्तला खेती बाट पलायन हुने अवस्था सिर्जना भएको कृष्ण पाठकले गुनासो गर्नुभयो ।
पाठकले २५ बर्षदेखि सुन्तला खेति गर्दै आएको बताउनु भएको छ ।

२०५२ साल देखि सुन्तला खेती गर्दै आउनु भएका साबिक स्वारेक गाबिस ४ र हाल वालिङ् नगरपालिका ११ फेदि गाजने स्वामी डाडाका पाठकले अहिलेसम्म एउटा बिरुवा समेत अनुदानमा नपाएको गुनासो गर्नुभयो । सुपर जोन क्षेत्रमा पर्नेहरुले बार्षिक रुपमा अनुदान पाएर उत्पादन गरेको सुन्तला र बिना अनुदानमा उत्पादन गरेको सुन्तलाको उत्पादन लागत धेरै हुने हुँदा बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको पाठकको भनाइ छ ।

“हामिले बिरुवा देखि सबै आफै किन्ने हुँदा हाम्रो लागत केही बढी हुने हुँदा बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको छ ।” पाठकले नेपाल समाचारपत्रसंग कुराकानी गर्दै भन्नुभयो । साना ठुला गरेर करिब दुई सय बोट रहेको उहाँको क्षेत्रमा यस बर्ष भने खासै सुन्तला फलेको देखिदैन । “ पहिला पहिला निकै मेहनत गरेर उत्पादनमा ध्यान दिने गर्दथे तर पछिल्लो समय अनुदामा उत्पादन भएको सुन्तलासंग बजार प्रतिस्पर्धा गर्न नसक्ने भएपछि सुन्तला उत्पादनमा इच्छा कम हुँदै गएको छ ।” पाठकले सुक्दै गएका सुन्तलाका बोट देखाउदै भन्नुभयो ।

हावापानीको हिसाबले सुन्तला उत्पादन हुने क्षेत्र भएको हुँदा पहिले देखि सुन्तला उत्पादन गर्दै आएको स्मरण गराउदै उहाँले बजार टाढा भएपनी टोकोमा बोकेर लैजादा राम्रै मुल्य पर्ने गरेको बताउनुभयो । जिल्लामा केही क्षेत्रमा मनग्ये अनुदान र केही क्षेत्रले बिना अनुदानमा उत्पादन गर्दा उत्पादन लागतमा फरक पर्ने भएको हुँदा सुन्तला उत्पादक कृषक सबैलाई समान अनुदानको ब्यबस्था मिलाउन पाठकको आग्रह छ ।

“सकिन्छ सबै कृषकलाई लाई अनुदान दिउ सकिदैन कसैलाई पनि नदिउ, कसैलाई अनुदान र कसैलाई बिना अनुदानमा गर्दा उत्पादन लागतमा तलमाथि हुने हुँदा बिना अनुदान उत्पादन गर्ने कृषकको मनोबल घटेर उक्त पेसाबाट पलायन हुने अवस्था सिर्जना हुन सक्छ ।” पाठकले आफ्नो उदाहरण दिदै भन्नुभयो ।

यत्रो बर्ष सुन्तला उत्पादन गर्दा अहिलेसम्म एउटा बिरुवा समेत अनुदानमा नपाएको गुनासो गर्दै पाठकले केही सहयोग पाएमा पुन सुन्तला ब्यबसायलाई नयाँ ढंगले अगाडि बढाउने योजना बनाएको बताउनुभयो । यी बारिमा पहिले खासै केही खेती हुदैन थियो तत्कालीन अवस्थामा कृषि बिज्ञा आएर हेरेपछि उहाँको सल्लाहमा सुन्तला उत्पादन सुरु गरेको उहाँले स्मरण गराउनु भयो ।

सुन्तला सुपर जोन भित्र सुन्तलाको शीर्षकमा बार्षिक करिब ४,५ करोड अनुदान दिइने सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । जिल्लामा करिब दुई हजार हेक्टरमा सुन्तला उत्पादन हुुने भएपनि आफुहरु कार्यक्षेत्र भन्दा बाहिर जान नसक्ने लम्सालले बताउनुभयो । नेपाल समाचारपत्रसंग कुराकानी गर्दै उहाँले भन्नुभयो “हामी कार्यक्षेत्र बढाउने योजनामा छौं । अबको कार्यक्षेत्रमा सबैलाई समेट्ने गरि अगाडी बढ्ने गरि योजना तयार गर्ने छौ ।”