मैती अजिमा द्यः छेँ (देव घर)को शिलान्यास

अमूर्त सम्पदालाई मूर्त सांस्कृतिक संरचना र मूर्त सांस्कृतिक संरचनालाई पर्यटनलगायत क्षेत्रसँग जोडेर दिगो व्यवस्थापन गर्नुपर्छ : मेयर शाक्य

0
Shares

न्युज अफ नेपा, काठमाडौं ।

मालीगाउँस्थित मैती अजिमा देवघरको शिलान्यास भएको छ । मंसिर २६ गते काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले देवघरको संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । द्यः छेँः भनेको नेपाल भाषाको शव्द हो । यसको नेपाली रूपान्तरण ‘देउता राख्ने घर’ भन्ने हुन्छ ।

यस देव घरमा मैतीदेवी मन्दिरको खट र देउता राख्ने गरिन्छ । मैतीदेवी मन्दिर महानगरको वडा ३० मा पर्छ । हरेक बर्षको तिहारमा पर्ने मैतीदेवी जात्रामा यहाँबाट खट र देवता निकाल्ने गरिएको छ । मैतीदेवीलाई गोरखाको प्रसिद्ध मनकामना देवीकी दिदीका रूपमा पुजिन्छ । देव घर २०७२ सालको भूकम्पले जीर्ण बनेको थियो ।

शिलान्यास समारोहपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख शाक्यले — अमूर्त सांस्कृतिक सम्पदालाई जोगाउन मूर्त सांस्कृतिक संरचना बचाउनु पर्ने दायित्वलाई महानगरले प्राथमिक जिम्मेवारीका रुपमा लिएको बताउनुभयो । यस्ता सम्पदाको दिगो सुरक्षाका लागि पूर्खाले सिकाएको जस्तै पर्यटनलगायत आय हुने क्षेत्रसँग कार्यक्रम जोडिनु पर्छ । मेयर शाक्यको भनाइ थियो ।

देवघरको पुननिर्माण क्रमागत योजनाअन्तर्गत हुनेछ । प्रदेश सभा सदस्य नारायण सिलवालकाअनुसार चालु आर्थिक बर्षमा १ करोड रुपैयाँ बिनियोजन भएको छ । २ लाख ६ हजार रुपैयाँ लागत अनुमान गरिएको यस देवघरका लागि बाँकी रकम अर्को बर्ष छुट््याइनेछ ।

सम्पदा पुननिर्माणका लागि महानगर स्रोतका अभाव हुन नदिने बताउँदै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले – सम्पदा पुननिर्माणमा आएको तीव्रतासँगै महानगरको स्वरुप उज्यालो हुँदै गएको धारणा राख्नुभयो । महानगरको वडा ५ ले हाँडी गाउँलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा रुपान्तरण गर्ने योजनालाई प्राथमिकता दिएको छ ।

वडा ५ का अध्यक्ष रमेश डंगोलका अनुसार द्यः छेँः पुननिर्माणले स्थानीयमा हौसला थपिएको अनुभूति गरेको बताउनुभयो ।द्यः छेँः निर्माण उपभोक्ता समिति अध्यक्ष रमेशमान मुनिकारका अनुसार मंसिर १३ गतेको साइत पारेर देवघर भत्काउन थालिएको थियो ।