उधारो नतिर्दा हत्या

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा उधारो सामान लिएर नगद रकम नदिएको आक्रोसमा पसलवालाको आक्रमणबाट एक युवकको ज्यान गएको छ ।

जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ सथवल निवासी २४ बर्षीय उमेश ठाकुरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमण गर्ने पर्साको पटेर्वा सुगौली गाउँपालिकाको रंगपुर टाडी निवासी ३० बर्षिय आनन्द दास थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।थारुको आक्रमणले गम्भीर घाइते भएका मृतक ठाकुरलाई मंसिर २४ गते बुधबार वीरगन्ज स्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममै अस्पताल मै शनिबार ठाकुरको मृत्यु भएको उनको आफन्त शुभनारायण ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक ठाकुर केही समय पहिला रंगपुर टाडीस्थित रहेको थारुको नास्ता पसलमा उधारो खाएका थिए । सोही उधारो रकम नदिएको आक्रोशमा थारुले मोफलरले घाँटी समाएर घाइते बनाएका थिए । उपचार कै क्रममा तीन दिन पछि मृत्यु भएको हो ।मृतकको शव पोष्टमार्टमपछि आफन्तहरुले बुझेर लगेका छन् ।