भेट्रान्स फुटबल यस वर्ष पनि

0
Shares

हेटौंडा, (नेस) ।

हेटौंडा भेट्रान्स क्लबले हरेक वर्ष आयोजना गर्ने भेट्रान्स कप फुटबल खेल यस वर्ष पनि आयोजना गर्ने निर्णय गरेको छ ।

शनिबार आयोजित साधारणसभाले माघमा आयोजना गरिने सातौं भेट्रान्स कप फुटबल प्रतियोगिताका लागि भेट्रान्स सदस्य कविन साँगामीलाई संयोजक चयन गरेको हो । संयोजक साँगामीले सातवटा उपसमिति बनाएर प्रतियोगिताको तयारी गरिने जनाए । ४० वर्षमाथिका पूर्वखेलाडीले खेल्ने प्रतियोगिताले हेटौंडाको फुटबलमा रौनकता थप्दै आएको छ ।

हेटौंडा भेट्रान्स क्लबको छैटौं साधारणसभा शनिबार सम्पन्न भएको छ । भैंसेमा आयोजित साधारणसभाले आर्थिक वर्ष २०७६÷०७७ को महासचिवको प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत् पारित गरेको छ । महासचिव ज्ञानु क्षेत्रीले क्लबबाट भए–गरेका गतिविधि प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रमेश उप्रेतीले आर्थिक वर्ष २०७६/०७७ को १० लाख ८३ हजार ४ सय ४० को आयव्यय प्रस्तुत गरेका थिए ।
साधारणसभाले विधानमाथि छलफल गर्दै ४० वर्षमाथिका व्यक्ति सदस्य रहन पाउने र यसअघि साधारण सदस्यको शुल्क १ सय रहेकोमा अब एक वर्षको सदस्य शुल्क १ हजार रहने कायम गरेको छ ।