श्रीलालीगुराँस सहकारी संस्थाको २१औं साधारण सभा सम्पन्न


नेपाल समाचारपत्र, ललितपुर । 

श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २१औं वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल निर्वाचित भएका छन् । चारवर्षे कार्यकाल रहेको कार्यसमति सदस्यहरुमा कदम जोशी प्रधान, भोलाकुमार श्रेष्ठ र आर्यासिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै लेखा समितिको संयोजकमा पुण्यप्रसाद पोखरेल र सदस्यहरुमा विद्यादेवी पाण्डे र तिमिला रञ्जित निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारी, लेखा समितिका संयोजक र सदस्यलाई प्रमुख निर्वाचन अधिकृत रत्न अवालेले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । सभाले शेयर सदस्यहरूलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

कोभिड–१९ को महामारकिा कारण एकैपटक धेरै शेयर सदस्य भेला हुन नमिल्नेपछि संस्थाले मंसिर ११ गतेदेखि २६ गतेसम्म संस्थाको मुख्य कार्यालय तथा सदस्य सुविधा काउण्टरमा शेयर सदस्यहरुको नामावली दर्ता भएपछि प्रतिनिधित्वको रुपमा आयोजना गरिएको साधारण सभामा संस्थाका सचिव सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँले महामारीका बेलामा पनि संस्थाले लगानी गरेको परियोजनाहरू सफल भइरहेको बताउनुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका भण्डारीले देशभरका करिब ३५ हजार सहकारीमध्ये लालीगुराँस उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको उल्लेख गर्दै सरकारले यो संस्थालाई नमुना सहकारी घोषणा गरिसकेको बताउनुभयो ।

सहकारी क्षेत्रको पुँजीलाई ऊर्जा, पर्यटन, पशुपालन, कृषिलगायत मझौला तथा ठूला परियोजना तथा उद्योगमा लगानी गर्ने वातावरण सृजना गरी सहकारी मार्फत राष्ट्रिय अर्थतन्त्रको विकास धारणा राख्दै उहाँले सहकारीमार्फत बचत ऋणलगायत उत्पादनको कार्य गर्न वर्तमान सहकारी ऐन २०७४ मा संशोधन अपरिहार्य रहेको बताउनुभयो । सभामा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले आर्थिक वर्ष २०७६/७७ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीको बारेमा जानकारी गराउनुभयो ।

लालीगुराँस सहकारीको शेयर सदस्यको संख्या करिब २२ हजार पुगेको छ । संस्थाले चितवनको खैरहनीमा देशकै ठूलो गाई फार्म सञ्चालन गरेको, अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्था मार्फत आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । साथै संस्था स्थापना भएको दिन असोज १५ गतेदेखि ‘श्रीलालीगुराँस दुग्ध प्रसोधन उद्योग’ सञ्चालन भएको भण्डारीले जानकारी गराउनुभयो । संस्थाले छिट्टै काठमाडौको नयाँबजार, महाराजगन्ज, भक्तपुरको सूर्यविनायक, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मावि÷कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ ।

साधारण सभामा संस्थाका १७ जना जेष्ठ शेयर सदस्य, संस्थाका सर्वोत्कृष्ट, उत्कृष्ट र ५ वर्षे सेवा गरेका कार्यक्रममा सर्वोत्कृष्ट कर्मचारी सविना विष्टलगायत ५ जनालाई नगदसहित सम्मान गरिएको छ ।