राहत प्याकेज ल्याउने सरकारको तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं  ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन थप राहत प्याकेजको तयारीमा सरकार रहेको बताउनुभएको छ । शनिबार सम्पन्न नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० को पाँचौ महासभालाई सम्बोधन गर्दै उहाँले सो जानकारी दिनुभएको हो । उक्त कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्नुभयो–‘आर्थिक र सामाजिक क्षेत्रमा कोभिडबाट उत्पन्न समस्यामा छन् । आर्थिक सामाजिक जीवनलाई पहिलेकै अवस्थामा फर्काउनुपर्ने चुनौती सरकारसमक्ष आइपरेको छ । संक्रमित व्यक्तिको परीक्षण र उपचार गर्नुपर्ने अवस्थामा रहेका बिरामीको जिम्मा सरकारले लिन्छ । नागरिकको जीवन रक्षा सरकारको प्राथमिकता रहेकाले परीक्षण र उपचारबाहेक थप राहत प्याकेज पनि ल्याउने छौं ।’

उहाँले गुणस्तरीय खोप तुलनात्मक रूपमा सस्तो मूल्यमा आयात ल्याएर सबै नेपालीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यावस्थापन गर्ने सरकारले तयारी गरिरहेको दाबी गर्नुभयो । अर्थमन्त्री पौडेलले महामारीमा रोजगार गुमाएकालाई कसरी रोजगारी दिने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै कोरोनाका कारण आर्थिक क्षेत्रले पीडा सहनु परेको छ । त्यो पीडा सहज गर्ने मात्र होइन सामना गर्न पनि सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धिदर कस्तो रहन्छ, भन्नेबारे अहिले नै केही भन्न नसकिने बताउनुभयो । गभर्नर अधिकारीले भन्नुभयो–‘रिकभरी कसरी हुन्छ, त्यसमा नै आर्थिक वृद्धिदर निर्भर हुन्छ । अहिले नै केही भन्न सकिँदैन ।’ कोभिडका कारण अर्थतन्त्रमा असर परेको भएको छ । साथै बैंक वित्तीय संस्थाको खर्च बढे पनि अन्य क्षेत्रमा जस्तै ठूलो समस्या नरहेका गभर्नर अधिकारीको भनाइ छ । ‘कोभिडले हामीलाई समस्यामा पारेको छ । आर्थिक रूपले हेर्दा प्रभावित छ । कतिपय सेक्टरमा सोचेभन्दा राम्रो रिकभरी आएको अवस्था छ । कतिपय क्षेत्रमा वर्षैंसम्म रिकभरी आउने सम्भावना छैन ।’ उहाँले भन्नुभयो । कोभिडकै कारण गत वर्षको तुलनामा आयात घटेको छ । आयात घटेकाले पनि सहज जुनखालेको त्रास थियो । त्योभन्दा राम्रो देखिएको गभर्नर अधिकारीले बताउनुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको समस्यासँग लड्नका लागि निजी क्षेत्रका सबै छाता संगठन एक भएको बताउनुभयो । उहाँले कोभिडका कारण उद्योग व्यवसायलाई पुरानै क्षमतामा फर्काउन चुनौती रहेको पनि उल्लेख गर्नुभयो । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा ल्याएको भार बैंकिङ क्षेत्रले थेगिरहेको दाबी गर्नुभयो । महामारीले अर्थतन्त्रमा निम्त्याएको संकट नेपाली बैंकहरूले थेगेको भए पनि सबैले बैंक तथा वित्तीय संस्थालाई गाली गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘नेपालका सबै वित्तीय कम्पनीहरु पारदर्शी हिसाबले काम गर्छन् । तर, पनि सबैले यही क्षेत्रलाई गाली गर्ने गर्छन् ।’

यसैगरी चेम्बर अफ कमर्सको अध्यक्ष राजेशकाजी श्रेष्ठले आफूले व्यक्तिगत कुरा गर्न छोडिसकेका बताउँदै भने महासंघ, सीएनआई र चेम्बरले सबै निजी क्षेत्रको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो छ । ‘कसरी आर्थिक क्षेत्र चलायमान हुन्छ, भनेर हामी अगाडी बढेका छौं । सरकारले श्वेतपत्र जारी गरेर निजी क्षेत्रको मनोवल वृद्धिका लागि काम गर्नुपर्ने छ । चेक बाउन्सका लागि कडा नीति ल्याउनुपर्छ । चेक बाउन्सले व्यवसायीलाई समस्या पारेको छ । चेक बाउन्सका लागि एउटा कडा नियम ल्याएमा कारोबार गर्न सहज हुन्छ । सामान कति फिर्ता आइरहेको छ। कतिको डेट एक्सपायर भइरहेको छ । करको हिसाबले पनि सबै राख्नुपर्ने। ड्यामेज हुने बित्तिकै कर तिर्न नपरोस् भन्ने हाम्रो चाहाना हो ।’ अधयक्ष श्रेष्ठको भनाइ थियो ।