विद्युत पोल राख्न अबरोध पछि कार्यदल गठन

0
Shares

सीताराम अधिकारी, धादिङ ।

प्रसारण लाइनको टावरका कारण सिंगो बस्तीनै समस्यामा पर्ने भएपछि टावर सारिदिन सिद्धलेक गाउँपालिका वडा नम्बर ७ पिपलटारबासीले राख्दै आएको मागको सुनुवाई हुने भएको छ ।

मस्र्याङ्दी–काठमाण्डौ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका क्रममा पिपलटारको बस्तीमा निर्माण हुन लागेको प्रसारणलाईनले दिर्घकालिन रुपमा समस्या ल्याउने भन्दै यहाँ का स्थानीयले टावर निर्माणमा अबरोध गर्दै आएका थिए ।

बस्ती एकै ठाउँमा रहेको र खेतीयोग्य जमिन ६ हजार रोपनी मध्ये ३ हजार रोपनी बिद्युत प्रशारण लाईनको कारण टावर रहेको ठाउँ मात्रै होइन प्रशारण लाइन तलको जमिन समेत बैंक तथा वित्तिय संस्थामा धितो राखेर कारोवार गर्न नपाउने भएपछि स्थानीय आन्दोलित भएका छन् । प्रशारणलाईन बनाउँदा बस्ती र खेतीयोग्य जमिन छलेर लैजान चार बर्ष देखि स्थानीयले गरेको आग्रहको आयोजनाले वेबास्ता गरेपछि संघर्ष समिति बनाएर काममा अवरोध गरेपछि उर्जामन्त्रीले समुदायको कुरा सुनेको संघर्ष समितिका उपाध्यक्ष टंकलाल श्रेष्ठले वताउनुभएको छ ।

पिपलटारमा यस अघि पनि बस्तीमै १ सय ३२ केभि र ३३ केभिका दुई वटा प्रशारणलाईनको टावर निर्माण भई सकेको छ भने अब सोही ठाउँमा ४ वटा टावर वनेपछि यहाँका ५ सय घर परिवार प्रत्यक्ष मारमा पर्नेछन् । स्थानीयको मागबारे धादिङका जनप्रतिनिधिले आईतबार ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराएका हुन ।

स्थानीयले आफ्नो समस्या राखेपछि मन्त्री पुनले समस्या समाधानका लागि सुझाव दिने गरी आइतबारै एक कार्यदल गठन गरेका छन् । ऊर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदलमा नेपाल विद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालय धादिङका प्रतिनिधि, सिद्धलेक गाउँपालिका–७ का वडाध्यक्ष र प्रभावितमध्येबाट एक प्रतिनिधि सदस्य रहनेछन्। मन्त्री पुनले प्रभावितलाई पुनस्र्थापना र पुनर्वास सहितका कार्यक्रम समेटेर दुई हप्ताभित्र सुझाव पेस गर्ने कार्यादेश कार्यदललाई दिइएको छ ।

कार्यदलको सुझावअनुसार प्राधिकरण सञ्चालक समितिबाट समुदायको मागको सुनुवाई गरिने भएको छ । छलफलमा सहभागि सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालका अनुसार ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक शाक्य, उपकार्यकारी निर्देशक मनोज सिलवाल, मस्र्याङ्दी–काठमाण्डौ २२० केभी डबल सर्किट प्रसारण लाइनका आयोजना प्रमुख तारा प्रधान र प्रभावितहरूका तर्फबाट धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठी, नेकपाका जिल्ला अध्यक्ष नेत्रराज पौडेल र सिद्धलेक गाउँपालिका ७ का वडाध्यक्ष लक्ष्मण खतिवडा लगायत सहभागि हुनुभएको थियो ।

मस्र्याङ्दी नदी बेसिनका आयोजनाबाट काठमाण्डौ उपत्यकामा विद्यत पु¥याउन तनहुँको मार्कीचोकबाट काठमाण्डौको मातातीर्थसम्म उक्त प्रसारण लाइन निर्माण भइरहेको छ । ८२ किलोमिटर लामो प्रसारण लाइनमा दुई सय ३१ वटा टावर बन्ने छन् ।

पिलटारमा स्थानीयको अवरोधका कारण दुई वटा टावर निर्माणको काम रोकिएको छ । प्रसारण लाइनअन्तर्गत ७५ किलोमिटरभन्दा बढी तार तानि सकिएको आयोजनाले जनाएको छ ।