माडुरोको दावी : अमेरिकाले मेरी पत्नीलाई पारपाचुकेका लागि लालच दियो


काराकास (एजेन्सी) ।

भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले आफ्नी पत्नी सिलिया फ्लोरेसलाई सम्बन्ध विच्छेडका लागि अमेरिकाले लालच दिएको दावी गरेका छन् । प्रत्यक्ष प्रसारित एक प्रेस सम्मेलनमा राष्ट्रपति माडुरोले भेनेजुयला र इरानका लागि विशेष अमेरिकी प्रतिनिधि इलियत अब्राम्सले आफ्नीपत्नीलाई सम्बन्ध विच्छेद गरेमा अमेरिकी प्रशासनले उनलाई बिना सर्त मद्दत गर्ने लालच दिएको बताएका थिए ।
माडुरोले भने , हाम्रो डोनाल्ड ट्रम्पका दुतहरुसँग माध्यमहरु मार्फत सँधै सम्पर्क भइरहेको थियो, इलियट पनि यसमा समावेश थिए ।

एकपट अमेरिकी दुतले एक ब्यक्तीका माध्यमबाट मेरी पत्नी सिलियालाई प्रस्ताव राखेका थिए कि उनले भेनेजुयलाका राष्ट्रपतिलाई सम्बन्ध विच्छेद दिनु पर्छ । अमेरिकी दुतले सन्देसमा भनेका थिए, यदि सिलिया माडुरोलाई पारपाचुके दिन्छ भने तपाईले विदेश यात्रा गर्न सक्नेछ र हामी तपाईलाई पुरा समर्थन दिनेछौं ।

उक्त प्रस्तावपछि सिलियाले आफ्नो आँखामा हेरेको र अंगालो हाल्दै ‘कहिल्यै हुँदैन’ भनेको राष्ट्रपतिले बताए । माडुरोले भने ‘ यो उपन्यास होइन । यो सत्य हो । ’ अमेरिकी ठान्छन् कि हामी भ्रष्ट छौं र धेरै धनी हौं ।

अमेरिकी दुतले सिलियालाई उनको सबै पैसा उनले आफुसँगै लग्न सक्ने बताएका थिए । अमेरिका र भेनेजुयलाबीचको सम्बन्ध विगत एक दशकदेखि अत्यन्त खराब चलिरहेको छ ।

अमेरिकाले मानवअधिकार उलंघन र चुनावमा धाँधलीको आरोप लगाउँदै भेनेजुयलामाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ । जर्ज बुश, बाराक ओबामा र डोनाल्ड ट्रम्प तीनै जना राष्ट्रपतिले ती प्रतिबन्धलाई जारी राखे । अमेरिकामाथि माडुरो र उनका पुर्ववर्ती ह्युगो चाभेज विरुद्धको असफल विद्रोहको समर्थन गरेको आरोप लागेको छ । ट्रम्पले भेनेजुयलाको तेल निर्यातमाथि पनि प्रतिबन्ध लगाएको हो ।