द्वन्द्वको समयमा बेपत्ता पारिएका २० जनाको नाम सार्वजनिक

0
Shares

किरन धामी, दार्चुला ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका दार्चुलाका २० जनाको नाम सार्वजनिक गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले शुक्रवार दार्चुला सदरमुकाम खलंगामा सरोकारवालाहरुसंगको अन्र्तक्रिया कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।

आयोगका अनुसार बेपत्ता पारिएका दार्चुलाको महाकाली नगरपालिकाका हर्के लोहार र भिमसेन नगारी, शैल्यशिखर नगरपालिकाका गणेश लुहार, नरेन्द्र्र सिंह भण्डारी, बहादुर डाँगा, रामदत्त भट्ट र विर्ष सिंह धामी रहेका छन् ।

यस्तै मालिकार्जुन गाउँपालिकाका गणेश सिंह धामी, तारा चन्द, भवान सिंह धामी, मनिराम लोहार र शेर सिंह धामी, लेकम गाउँपालिकाका रमेश बहादुर पाल, केशव राम जोशी र तर्क बहादुर पाल रहेको आयोगले जनाएको छ । यस्तै मार्मा गाउँपालिकाका लोकेन्द्र सिंह विष्ट, ब्याँस गाउँपालिकाका गोविन्द राम लोहार, नौगाड गाउँपालिकाका प्रेम सिंह ठगुन्ना र बिक्रम सिंह ठगुन्ना तथा दुहुँ गाउँपालिकाका डम्बर बहादुर बमको नाम बेपत्ता पारिएको सूचीमा रहेको जनाइएको छ ।

उजुरी निवेदनको आधारमा दार्चुलाका २० जनाको नाम सार्वजनिक गरिएको आयोगका अध्यक्ष युवराज सुवेदीले बताउनुभयो । आयोगले बेपत्ता पारिएका पीडित परिवारजनको पहिचान, छानविन गरि परिचय पत्र वितरण गर्ने जनाएको छ । राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै देशभर २ हजार ५ सय ६ जनाको उजुरी परेको आधारमा वेपत्ता पारिएकाहरुको नाम सार्वजनिक गरिएको आयोगका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । आयोगले अढाइ हजार उजुरी निवेदन माथि छानविन र बयानको काम गर्ने जनाएको छ । त्यसक्रममा परिपुरण तथा एण्टीमोटम फाराम भराउने काम अघि बढाउने आयोगको तयारी छ । आयोगले बेपत्ता पारिएका व्यक्ति बारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि सबैमा अनुरोध गरेको छ ।