तरकारीमा आत्मनिर्भर बन्न नगरपालिकाको अभियान

0
Shares

रामधन राई,खोटाङ ।

खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले सुक्खाग्रस्त क्षेत्रमा समेत तरकारीजन्य कृषि उपज उत्पादन गर्ने अभियान शुरु गरेको छ । सुक्खाग्रस्त क्षेत्रका रुपमा परिचित हलेसी क्षेत्रका कृषकहरुलाई हाल कृषि सामाग्री वितरण गर्ने कार्य भईरहेको छ । हाल नगरपालिकाभित्र करिब दुई करोड ४४ लाख बराबरको कृषि सामग्रीहरु वितरण भईरहेको मेयर ईवन राईले जनाउनुभयो ।

जम्मा ५ हजार ६ सय ८ घरधुरी रहेको नगरपालिका भित्रका ४ हजार ५३ घरधुरीलाई स्वीस सरकार (एसडिसि)को जीविकोपार्जन तथा आयआर्जन कार्यक्रमको सहयोगमा कृषि सामग्री वितरण गरिएको मेयर राईले सुनाउनुभयो । कृषकहरुको अनुकुलता अनुसार हाल पानी जम्मा गर्ने हिलटैँक तथा प्लास्टिक टनेल, तरकारी खेतिका लागि पानी छिट्ने हजारी, भिटामिन तथा किटनाशक औषधी छर्ने ऐक्सप्रेयर र विभिन्न जातका तरकारीका वीउहरु वितरण भईरहेको छ ।

नगरपालिकाका अनुसार नगर भित्रका १ हजार ३ सय ६२ परिवारलाई हिलटैँक र २ हजार ६ सय ९१ परिवारलाई प्लास्टिक टनेल प्रदान गरिएको छ । यस्तै, ४ हजार ५३ घर परिवारलाई आवश्यक तरकारीका वीउ तथा भिटामिन, पानी छिट्ने हजारी, एस्प्रीयर मेसिन प्रदान गरिएको जनाईएको छ । नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यले अभियान शुरु गरिएको उपमेयर विमला राईको भनाई छ ।