काठमाडौंका मानव निर्मित सम्पदा र पोखराको प्राकृतिक सम्पदालाई पर्यटनसँग जोडौं: मेयर शाक्य

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटनको माध्यमबाट मुलुकको अर्थतन्त्रलाई समृद्घ बनाउन सकिने बताउनु भएको छ । पोखरा महानगरपालिकाले अध्ययन भ्रमणका क्रममा आज उहाँले यस्तो बताउनु भएको हो ।

काठमाडौं महानगरपालिका र रामग्राम नगरपालिकाबीच अन्तर स्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी भई काठमाडौँ फर्किने क्रममा पोखरा आइपुग्नु भएका प्रमुख शाक्य नेतृत्वको प्रतिनिधि मण्डललाई आज पोखरा महानगरपालिकाले स्वागत गर्‍यो । स्वागतपछि महानगरकै सभा कक्षमा आयोजना गरिएको परिचयात्मक एवं अनुभव आदानप्रदान कार्यक्रमलाई दुवै नगरका प्रमुख र काठमाडौं महानगरकी उपप्रमुखले सम्बोधन गर्नुभएको थियो । यसै गरी पोखरा नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले आपसी हित प्रबर्धनका विषयमा धारणा राख्नुभएको थियो ।

त्यस क्रममा बोल्दै मेयर शाक्यले काठमाडौंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन प्रवर्धनका काम गर्न सके पर्यटन व्यवसायबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने धारणा राख्नुभयो । ‘काठमाडौं मानव सृजित कला, मन्दिर र जात्राको सहर हो । यसै गरी पोखरा प्राकृतिक सम्पदाले सम्पन्न सहर हो । काठमाडौं र पोखराको यो पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न सकिन्छ । दुई नगरको यो प्रयास अन्तर पालिका समन्वय र सहकार्यका दृष्टिले अनुकरणीय बन्नेछ ।’

मेयर शाक्यले विकास वितरण र व्यवस्थापनमा काठमाडौंको अनुभव सुनाउँदै भन्नुभयो, ‘काठमाडौं भुगोल सानो भए पनि जनघनत्व बढी भएकाले व्यवस्थापनमा चुनौती छ । पोखराले हामीले गरेको गल्ती दोहोर्‍याउनु पर्दैन । हामी विकास निर्माण र पूर्वाधारमा काठमाडौंले गरेका गल्ती देखाउन सक्छौं । यसबाट पोखरालाई पाठ हुनेछ ।’ सहर केन्द्रीत बसाइ सराइ दुवै नगरका लागि चुनौती हुन् । काठमाडौं धेरै मानिसको सपनाको सहर हो । हामीले काठमाडौंंका स्थानीयका समस्या समाधान गरेर मात्र पुग्दैन । मेयर शाक्यले थप्नुभयो — ‘आपसी सीप र क्षमता बढाएर नागरिकका गुनासा व्यवस्थापन हामीले नै गर्नुपर्छ । यसले देशलाई असफल राष्ट्र हुनबाट बचाउँछ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले काठमाडौं महानगरपालिका जेठो महानगर र संघीय राजधानीको महानगरपालिका भएकाले उसले सबै पालिकाको समस्याको समाधानका लागि नेतृत्व गर्नुपर्ने बताउनुभयो । ‘अहिले पनि योजना छनौट प्रक्रिया पुरानै प्रणालीको छ । कर्मचारी व्यवस्थापन हुन सकेको छैन । काम गर्ने तरिका पुरानै छ । अनि स्थानीय सरकारले कसरी जिम्मेवारी पूरा गर्न सक्छन्?’ उहाँले संघीय व्यवस्थालाई दिगो बनाउन संघीयताको मर्म अनुसारका संघीय कानुन निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘स्थानीय सरकार बलियो हुनुपर्छ । यसका लागि नगरपालिकाहरु आफैंले पनि सरकारको भूमिका निर्वाह गर्नुपर्छ ।

यो काठमाडौंले सिकाउनुपर्छ ।’ जिसीले भन्नुभयो, ‘बिविध पहिचानसहितका सहरका समानता खोजौं । अब नगरले आफूले आफ्ना बारेमा मात्र होइन । अन्य नगरको सम्भावनाका विषयमा कुरा गरौं । यसले नागरिकमा विश्वाश जाग्छ ।’

तहगत प्रणालीमा प्रदेश र संघ सरकारसँग भन्दा नागरिकका समस्या स्थानीय सरकारसँग नजिक हुन्छन् । यसकारण स्थानीय सरकारकाबीच गहिरो सम्बन्ध र सहकार्य जरुरी छ । काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो- ‘पालिकाबीच आपसी समस्या, सम्भावना र समाधान गरिएका सफल अभ्यासको अनुभव बाँडौं । स्थानीय सरकारलाई बलियो बनाउन सामुहिक र सृजनात्मक दवाव सृजना गरौं ।’

त्यस क्रममा मायाको चिनो आदानप्रदान गरिएको थियो । अन्तरपालिका सम्बन्ध राष्ट्रिय एकतालाई बलियो बनाउने शक्ति हो । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्नुहुन्छ – काठमाडौं महानगरमा आउने देशभरिका पालिकाहरुको अवस्था र व्यवस्थाको सूचना र अनुभव आदान प्रदान गर्ने कामलाई महानगरले प्राथमिकता दिनेछ । पोखराका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले, काठमाडौंबाट मेयर, उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यसहित प्राबिधिक र प्रशासनिक कर्मचारी पोखरा महानगरको अवलोकन भ्रमणमा आउनुले महानगरहरुका वीचमा कार्यसम्पादन लय मिल्ने अपेक्षा गर्न सकिने बताउनुभयो ।

महानगरका मेयर शाक्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । त्यहाँबाट फर्कने क्रममा हिजो तानसेन नगरको र आज पोखरा महानगरको अवलोकन भ्रमण गरेको हो । प्रतिनिधि मण्डल भोलि काठमाडौं फर्कनेछ ।