टिग्री पिपुल्स लिवरेसन फ्रन्टमाथि विजय : प्रम एवि


मेकेल्ले,(एजेन्सी) ।

इथियोपियाका प्रधानमन्त्री एवि अहमदले सरकारी फौजले उत्तरी टिग्री क्षेत्रको क्षेत्रिय राजधानी माथि पूर्ण नियन्त्रण लिइसकेको बताएका छन् । टिग्री पिपुल्स लिवरेसन फ्रन्ट ( टिपिएलएफ ) को आक्रमणको जवाफ दिन ति फौज यसअघि मेकेल्ले शहरमा प्रवेश गरेको थियो ।

तर टिपिएलएका नेताले अन्तर्राष्ट्रिय संचार निकाय रोयटर्सलाई आफुहरु आफ्ना हक र अधिकारको सुनिश्चितताका लागि ति फौजसंग अन्तिम श्वास सम्म लड्ने दृढता व्यक्त गरेका छन् । यस द्वन्द्वका कारण सयौं व्यक्तिको ज्यान जानुका साथै हजरौं जना विस्थापित भइसकेका छन् ।

एविले क्षेत्रिय पार्टीको रुपमा रहेको टिपिएलएफ विरुद्ध अपरेसन शुरु गर्ने घोषणा गरेपछि यसै महिनाको शुरुमा द्वन्द्व प्रारम्भ भएको हो । एविले टिपिएलएफ माथि मेकेल्ले स्थित इथियोपियाली सेनाको उत्तरी कमान्डको प्रधान कार्यालय माथि आक्रमण गरेको आरोप लगाएका थिए ।

एविले सरकारी फौजले टिग्री क्षेत्रमा सफलता पूर्वक आफ्नो अपरेसन पूरा गरेकोमा खुशी व्यक्त गरेका छन् । एविले भनेका छन् , ‘ फौजले टिपिएलएफको नियन्त्रणमा रहेका सरकारी सेनालाई मुक्त गराएको छ । साथै विमानस्थल र क्षेत्रिय कार्यालयहरु सरकारी फौजको नियन्त्रणमा रहेका छन् । यो अपरेसन सम्पूर्ण सर्वसाधारण जनताको सुरक्षामा ध्यान दिएर सम्पन्न गरिएको छ । ’