क्यानडाद्वारा महत्वपूर्ण औषधि निर्यातमा प्रतिबन्ध


टोरोन्टो,(एजेन्सी) ।

क्यानाडाले मुलुकमा औषधिको अभाब हुन नदिन चिकित्सकको सिफारिशमा मात्र किन्न सकिने केहि औषधिको निर्यात माथि प्रतिबन्ध लगाएको छ । अमेरिकामा औषधिको मूल्य सस्तो बनाउने उद्देश्यले क्यानाडाबाट औषधिहरु झिकाउन दिने अमेरिकाको योजना थाहा पाएपछि क्यानाडाले यो कदम चालेको हो ।

विश्वका केहि मुलुकका तुलनामा क्यानाडामा प्रेस्क्रिप्सनबाट किनिने औषधिहरु महंगो नै भएपनि ति औषधि अमेरिकाको दाँजोमा क्यानाडामा सस्तो छन् । क्यानाडाका थुप्रै औषधि आपुर्तिकर्ताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यान्वयन गराएको यस योजनाको कारण आफ्नै देशमा औषधि अभाव हुनसक्ने चेतावनी दिएको एएफपि समाचार निकायले जनाएको छ ।

कोभिड १९ महामारीको कारण विश्वभरि अहिले महत्वपूर्ण औषधिहरुको माग निकै बढिरहेको छ । क्यानाडाको स्वास्थ मन्त्रालयले जारी गरेको एउटा विज्ञप्तिमा भनिएको छ , ‘ मुलुकमा ६८ प्रतिशत औषधि समुद«पारीबाटै भित्रिने गरेको छ । त्यसकारण औषधि आपुर्तिमा कुनै पनि अवरोध नल्याउनु निकै महत्वपूर्ण छ । अब औषधि कम्पनीहरुले पनि भनेकै समयमा औषधिको स्टकबारे तत्कालै सही जानकारी उपलब्ध गराउनु पर्दछ । ’

ट्रम्पले गत जुन महिनामा क्यानाडाबाट आवश्यक औषधि ठूलो परिमाणमा आयात गर्न कार्यकारिणी आदेश पत्रमा हस्ताक्षर गरेका थिए ।
त्यसको एक महिना पछि क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडिउले आफु अन्य मुलुकलाई औषधि आपुर्ति गर्न खुशीका साथ तयार रहेको तर आफ्नो पहिलो प्राथमिकता भनेको क्यानाडाली जनताको प्राण रक्षा गर्नु रहेको बताएका थिए ।