नीजि क्षेत्रको उत्थानबिना मुलुकको अर्थतन्त्र सवल हुन सक्दैन : अर्थमन्त्री पौडेल

0
Shares

यमलाल भुसाल, बुटवल ।

अर्थमन्त्री बिष्णु पौडेलले नीजि क्षेत्रको उत्थान बिना मुलुकको अर्थतन्त्रलाई सवल गर्न नसकिने बताउनु भयो ।

रुपन्देही उद्योग संघकोे ४३ औं स्थापना दिवस तथा ४२ औं वार्षिक साधारण सभाको कार्यक्रममा भिडियो मार्फत जोडिनु भएका मन्त्री पौडेलले सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार रहेको समेत बताउनु भयो ।

उहाँले नीजि क्षेत्रकासमस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले नीजि क्षेत्रको समस्या समाधानको लागि सरकार तयार नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो–‘कि समस्या समाधान नै हुन सकेका छैनन्, समाधान भएका समस्याको समेत निर्णय उल्ट्याउने काम भएको छ ।’ निर्णय भएका विषयमा समेत कार्यान्वयन पक्ष कमजोर हुँदा नीजि क्षेत्रले धेरै समस्या व्यहोर्नु परेकोधारणा राख्नु भयो ।

संघका पूर्व अध्यक्ष समेत रहेका नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले सरकारमा प्रतिनीधित्व गर्ने व्यक्तिहरुले समस्यालाई गम्भिरताका साथ नलिएकै कारण समस्या समाधान हुन नसकेको आरोप लगाउनु भयो ।

रुपन्देही उद्योग संघले प्रदान गर्ने यस वर्षको औद्योगिक पत्रकारिता पुरस्कार बुटवल टुडे दैनिकमा कार्यरत पत्रकार कृष्ण खनाललाई प्रदान गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष बाबुराम बोहोराले प्रशंसा पत्र सहित दोसल्ला ओढाएर उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

उक्त पुरस्कारको राशी ३५ हजार ५ सय ५५ रुपैंया रहेको छ । संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघका पूर्व अध्यक्षहरु प्रधुम्नलाल श्रेष्ठ, डम्बरदेव अर्याल, महेन्द्रनारायण श्रेष्ठ, सतिसचन्द्र कसौधन, एजाज आलम, तेजकुमार पाठक, बोनिन पिया, दिनेशराज रेग्मी र गणेशप्रसाद अधिकारीलाई प्रसंशा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यस्तै पूर्वअध्यक्षहरु स्वर्गीय चन्द्रमान श्रेष्ठ र स्वर्गीय परमानन्द खरेललाई समेत परणोपरान्त सम्मान गरिएको छ ।

त्यस अवसरमा संघका महासविचव जिवकान्त काफ्लेले संघको वर्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन साधारण सभाले अनुमोदन गरेको छ । संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा कार्यक्रम भएको थियो ।