पृथ्वीनारायण शाहले राष्ट्र एकिकरणका लागि प्रयोग गरेका मार्गहरुको संरक्षण गरिदै

846
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले एकिकरण अभियानमा प्रयोग गरेका काभ्रे जिल्लाका ६ वटा पदमार्गहरु पहिचान गरिएको छ । जिल्लामा रहेका एकिकरण मार्ग र कोटहरुको पहिचान गर्न इतिहास शिरोमणी बाबुराम आचार्यको ‘अब यस्तो कहिलै नहोस’, इतिहास विद डा.डिल्लीरमण रेग्मीको मोर्डन नेपाल भोलुम आई र आईआई र कृष्णप्रसाद पराजुलीको पूर्व एक नम्बर पुस्तकलाई आधार मानिएको छ ।

उक्त पुस्तकहरुमा भएका ऐतिहासिक तथ्याङ्कहरुका आधारमा जिल्लामा भएको मार्गहरुको पहिचान गरिएको हो । नेपाली सेना विष्णुदल गण धुलिखेलले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उक्त मार्गहरुका बारेमा जानकारी गराईएको गणपति कर्णेल नरेश केसीले जानकारी दिनुभयो । पहिलो मार्गका रुपमा वि.सं. १८०३ मा नगरकोट कब्जा गरेपश्चात वि.सं. १८१६ मा पलाञ्चोक कब्जा गर्न नरगकोट–अनेकोट–लामीडाँडा हुंदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएको बाटोलाई लिइएको छ । दोश्रो मार्गका रुपमा वि.सं. १८१६ मा पलाञ्चोक माथि बिजय प्राप्त गरे पश्चात् भमरकोट–काभ्रेकोट बिजय गरी वि.सं. १८१८ असार ३० गते चौकोट माथि बिजय प्राप्त गर्दा प्रयोग भएको बाटोलाई लिईएको छ ।

तेश्रो वि.सं. १८१८ असार ३० मा चौकोट बिजय गरी फष्कोट(फुलबारीकोट–बुच्चाकोट–मेथिनकोट कब्जा गर्दै वि.सं.१८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटोलाई लिइएको छ । चौथो वि.सं. १८१९ असोज २ गते तेमालकोट बिजय पश्चात धुवाँकोट–दाप्चा–नाम्बुडा–नमोबुद्ध–फष्कोट हुंदै वि.सं. १८२० कार्तिक १० गते पुनःचौकोट बिजय र सोही दिन कोटखेल हुंदै धुलिखेल बिजय गर्दा प्रयोग भएको बाटोलाई छ भने पाचौ वि.सं. १८२० कार्तिक १० गते धुलिखेल बिजय पश्चात चौकोट–शारदाकोट–गोरखनाथ हुंदै वि.सं. १८२० कार्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गलाई मानिएको छ ।

त्यस्तै छटौ मार्गका रुपमा वि.सं. १८२० कार्तिक १४ गते बनेपा‚ साँगा र नाला कब्जा गर्न धुलिखेलबाट गोसाईस्थान–नालाकोट–साँगा हुंदै बनेपा र पनौतीबाट नागीडाँडा–साँगा हुंदै बनेपा आउन प्रयोग गरिएको मार्गलाई लिइएको छ ।

गत वर्ष २०७६ फागुन २४ गते नेपाली सेना विष्णु दल गण धुलिखेलले पाचौ मार्गमा पदयात्राको तय गरेको थियो । काभ्रेपलाञ्चोक जिल्लामा रहेका नेपाल एकीकरणको समय देखिका ऐतिहासिक स्थलहरुमा पदमार्ग गराई चिनाउने, संरक्षण गर्ने र प्रचार प्रसार गर्ने उदेश्यले आयोजना गरेको पदमार्ग रोकिएको ९ महिना पछि पुनः विष्णु दल गण धुलिखेलले नेपालको एकीकरण समयदेखीका ऐतिहासिक पक्षको अध्ययन, एकीकरणको समयमा प्रयोग भएका पदमार्गहरुको पहिचान, एकीकरणको दौरान प्रयोग भएका कोट, गढी, किल्लाको संरक्षण लगायत विविध पक्षमा छलफल गरेको छ । ऐतिहासिक गढी, किल्ला, युद्धस्थल तथा पदमार्गहरुको पहिचान र प्रवर्धन गरि ईतिहासको जगेर्ना गर्ने उदेश्यले उक्त छलफल गरिएको गणका गणपति कर्णेल नरेश केसीले जानकारी दिनु भयो । उक्त कार्यका लागि धुलिखेल, बनेपा र पनौती नगरपालिका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष र प्रतिनिधीहरु, पुरातत्व विभागका प्रतिनिधि, होटल व्यवसायी संघ, काभ्रे साईक्लिङ्ग संघका अध्यक्ष, संञ्चारकर्मी लगायतको छलफलमा सहभागिता रहेको थियो । प्रधान सेनापति कमाण्ड माग निर्देशन २०७५ को लक्ष्य नम्वर ६ को कार्य नं. ६.६.२.१. अन्तर्गत नेपाल र नेपाली सेनाको ईतिहास प्रर्वद्धन गर्न निर्देशन जारी भएको थियो ।

सोहि निर्देशन बमोजिम जिल्लामा एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । छलफलमा ऐतिहासिक गढी, किल्ला, पदमार्ग तथा युद्धस्थलको संरक्षण र सम्र्वद्धन सम्बन्धि धारणा, ऐतिहासिक सम्पदा संरक्षणमा पुरातात्विक महत्वका संरचनाहरुलाई कायम गर्नुपर्ने आवश्यकता, ऐतिहासिक सम्पदा संरक्षणमा एकीकृत समन्वयको आवश्यकता, थप नव निर्माणको सम्भाव्यता र श्रोत साधनको उपलव्धताका बारेमा छलफल भएको भएको थियो । सोहि अन्तरक्रिया कार्यक्रममा नम्वर २६ बाहिनी अड्डाका अधिकृत प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

अन्र्तक्रिया कार्यक्रममा गणपति कर्णेल नरेश केसीले नेपालको एकीकरण समयदेखीका ऐतिहासिक पक्षको अध्ययन, एकीकरणको समयमा प्रयोग भएका पदमार्गहरुको पहिचान, एकीकरणको दौरान प्रयोग भएका कोट, गढी, किल्लाको संरक्षण गर्नु सबैको कर्तब्य रहेको बताउनु भयो । अन्र्तक्रिया कार्यक्रममा बलभद्र कुंँवर पार्क उद्घघाटन र शालिकको अनावरण गरेकोमा धुलिखेल नगरपालिकालाई धन्यवाद दिने निर्णय गरेको छ ।