प्रशासनमा कोरोनाले पारेको प्रभावबारे अध्ययन


काठमाडौं, (नेस)

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले कोरोना संक्रमणपछि सार्वजनिक प्रशासनमा परेको प्रभावबारे अध्ययन थालेको छ ।

बेलाबखत प्रशासन सुधारका विषयमा अध्ययन गर्दै आएको समितिले यसपटक कोरोनाले पारेको प्रभावमा अध्ययन केन्द्रित गरिएको छ ।

समितिले कोरोना संक्रमणबाट प्रदेश र स्थानीय तहमा पारेको प्रभावका विषयमा पनि अध्ययन गर्न सोअनुसार विवरण पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह र प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा पत्राचार गरेको छ ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादनको वर्तमान स्थिति, कर्मचारी समायोजनपछिको जनशक्तिको विद्यमान अवस्था र आवश्यकता, तहगत अन्तरसम्बन्ध र समन्वयको स्थिति, गर्नुपर्ने सुधार विषयमा विवरण पठाउन पत्राचारमा उल्लेख गरिएको छ ।

त्यसै गरी, कर्मचारी प्रशासन र वित्तीय अनुशासनको सम्बन्धमा विद्यमान ऐनमा सुधार गर्नुपर्ने पक्ष, सेवाप्रवाहको विद्यमान अवस्था र चुनौतीहरु, कोभिड–१९ को प्रभाव र सेवाप्रवाहको स्थितिबारे पनि विवरण पठाउन भनिएको छ । तोकिएको विषयमा प्रदेश र स्थानीय तहले एक महिनाभित्र विवरण मन्त्रालयमा पठाउनुपर्नेछ ।