पहिलो संक्रमणको घटनादेखि एकै दिन बिदा नबसी सेवा गर्ने डा. बास्तोला


विश्वव्यापी रूपमा कोरोना फैलिएसँगै चीनबाट नेपाल आएका नेपाली विद्यार्थी अर्थात् कोरोनाको पहिलो बिरामीदेखि हालसम्म आफू र आफ्नो टिमलाई अग्रपंक्तिमा राखी हरेक बिरामी आफ्नै बाबु, आमा, दाइ, दिदी, बहिनी, छोरा, छोरीजस्तै हुन् भन्ने भावनाका साथ महान् चाड दशैं, तिहारमा समेत अस्पतालमै सक्रिय रूपमा बिरामीको उपचारमा खटिएका टेकु अस्पतालका परामर्शदाता डा. अनुप बास्तोलासँग कामना न्यूज पब्लिकेसन्सको वार्षिकोत्सवका अवसरमा भगवती तिमल्सिनाले गरेको कुराकानी :

नेपालमा कोरोनाको शुरुआत कहिले भयो, कसरी टिम बनाउनुभयो ?

माघको पहिलो साता शुरुआती दिनमा मेरै युनिटमा पहिलो कोरोना प्रमाणित बिरामी आए । नेपालमा कोरोना परीक्षण ल्याबको विस्तार भइनसकेको अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठनको पहलमा परीक्षणका लागि स्वास्थ्य मन्त्रालयमार्फत नमुना हङकङ पठायौं । उक्त नमुना परीक्षणपछि २०७६ साल माघ १० गते पोजेटिभ रिपोर्ट आयो । बिरामी १३ जनवरीमा भर्ना भएर १७ जनवरीमा डिस्चार्ज भएको हुन् । टिम व्यवस्थापनका साथै पीपीई लगाएर बिरामीसम्म पुग्ने गरी टिम बनाउँदै गयौं ।

त्यसपछि अन्य कन्सल्टटेन्ट, मेडिकल अफिसरहरू नर्स, प्यारामेडिक्सहरू सबैलाई विस्तार–विस्तार अघि बढायौं । शुरुआती दिनमा ५ बेडमा शंकास्पद बिरामी राख्थ्यौं । हामीलाई थाहा थियो संक्रमण नेपाल भित्रन्छ । नेपालले पनि संक्रमण रोकथामको उपाय सँगसँगै उपचारको उपाय अपनाएर व्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा हामी चनाखो थियौं । साथै, स्वास्थ्य मन्त्रालयको प्राविधिक समूहमा पनि म आबद्ध थिएँ । यी विषयमा मन्त्रालयमा छलफल हुँदा आईसीयू बेड र व्यवस्थापन भन्ने विषयले प्रवेश पायो । टेकुको एक सय बेडको अस्पतालमा २० बेडमा २ बेडको आईसीयू थियो । यसलाई विस्तार गरी २० बेडको आईसीयू व्यवस्थापन ग¥यौं । यससँगै कोभिड वार्ड, अस्पतालका अन्य संरचनाहरु, फोहोर व्यवस्थापनदेखि लिएर, संक्रमण व्यवस्थापनका लागि जनशक्ति व्यवस्थान, अस्पतालमा फोहोर व्यवस्थापन कसरी हुन्छन्, बिरामी कहाँबाट प्रवेश गर्ने, कहाँबाट बाहिरिने, शंकास्पद बिरामीलाई कहाँ राखेर उपचार गर्ने भन्ने शुरुआती दिनहरू अचम्मका थिए ।

कहिलेदेखि कोरोनाका बिरामीको चाप बढ्यो ?

चैतको अन्तदेखि विस्तारै बढ्दै गएको वैशाख, जेठ, असार, साउन, भदौ हुँदै दशैंदेखि अहिलेसम्म पनि आईसीयू पूरै भरिएका हुन्छन् । पहिलो र दोस्रो बिरामीको प्रवेशपछि स्वास्थ्य मन्त्रालयले व्यवस्थापनका कामहरू शुरु ग¥यो । स्वास्थ्य मन्त्रालयले आईसीयू व्यवस्थापनका साथै स्वास्थ्य संस्थाहरूलाई अनुदान दिनेदेखि लिएर आईसीयू बेड व्यवस्थापनका लागि थप कार्यहरू अघि बढाएको हो । टेकु अस्पतालले पनि २ बेडबाट २० बेडको आईसीयू सञ्चालन गर्न विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मेरो नेतृत्वमा टोली बन्यो । हामीसँग अरू–अरू चुनौती थिए, जस्तै बिरामी र अस्पताललाई संक्रमण हुनबाट जोगाउनु ।

स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा संक्रमण हुनबाट जोगाउने, व्यवस्थापन सँगसँगै स्वास्थ्यकर्मीहरूलाई कसरी आत्मविश्वासका साथ जिम्मेवार बनाउने, डर र त्रासलाई कसरी चिर्ने भन्ने विषय अझ कठिन थियो । म त पहिलो बिरामीदेखि प्रत्यक्ष सामेल भएको थिएँ । त्यति बेला मास्क पनि थिएन । त्यसपछि शंकास्पद संक्रमित राख्न थालेपछि पीपीई, गाउन, मास्क, ग्लोब्स, जुत्ता नफुकाली कभरैमाथि लगाएर बिरामी जाँचियो । ती तस्वीरहरु जति–जति समय बित्दै गयो उति ऐतिहासिक बन्दै छन् । हामी त्यसरी नै बिरामीको जाँचपत्ताल, उपचारमा लागिरह्यौं ।

अति मेहनत गर्दा पनि उहाँहरुलाई बचाउन नसक्दाको पीडा सम्झँदा हामी स्वास्थ्यकर्मीलाई पनि धेरै दुःख लाग्छ परिवारले त कसरी बिर्सनु । धेरै पीडा देखेर अस्पतालबाट बाहिर निस्कने बेलामा अन्य मानिसको हेलचेक्र्याइँ देख्दा अचम्म लाग्छ । कोभिड संक्रमण त टेकु अस्पतालको आईसीयू र कोभिड वार्डमा मात्र छ कि जस्तो हुन्छ । बाहिर जो छन् उनीहलाई केही मतलब नै छैन । भोलि तिनै मध्येका कति जना सिकिस्त भएर आउने होलान्, चिन्ता लाग्छ ।

उपचार कसरी गरिन्थ्यो ?

चरणबद्ध रूपमा संक्रमण रोकथामका उपायहरु, संक्रमण व्यवस्थापन, २ बेडको आईसीयूदेखि लिएर २० बेडको आईसीयू सञ्चालन, अन्य आईसीयूमा पूर्वाधारको व्यवस्थापन ठूलो चुनौती थियो र हामीले यो निकै महत्वमूण खड्को पार गरेका छौं । यसका साथै कोरोना संक्रमणमा पुगेका बिरामीको डर र त्रासलाई मेटेर, तनाव भुलाएर बिरामीलाई उत्तम तरिकाले कसरी ध्यान दिन सकिन्छ हामी त्यतातिर केन्द्रित भयौं । शुरुका समयमा बिरामीलाई हेर्न डाक्टर, नर्स आएनन् भन्ने विषय पनि चर्चा हुन्थे ।

तर, हामी भने अन्यत्रका कथा पढ्दै आफ्ना बिरामीसँगै बसेर हातेमालो गरेर उनीहरूको कुरा सुनिरहेका हुन्थ्यौं । हामी भने बिरामीको उपचार सँगसँगै बिरामीलाई परामर्श दिइरहेका हुन्थ्यौं । यतिसम्म कि बिरामीको मन जितेर छिटो निको बनाउने उद्देश्यले बिरामीलाई नाता लगाएर बा, आमा, हजुरबा, हजुरआमा, भाइ, बहिनी, छोरा, छोरी भन्दै उहाँहरूलाई सहज बनाएर उपचार गर्दै आजको अवस्थामा पुगेको मेरो व्यक्तिगत अनुभव छ ।

यस अवधिमा जुन डर र त्रास थियो जितिसकियो । शुरुका दिनमा जति पनि स्वास्थ्यकर्मी सहभागी हुन डराउनुभएको थियो अहिले आउँदा उहाँहरुको पनि डर र त्रास चिर्न सफल भएको अनुभव गर्छु । यसका साथै स्वास्थ्य मन्त्रालयलगायत व्यवस्थापन पक्ष पनि सजग देखिएको छ । त्यसको फलस्वरूप हामीले सकारात्मक र प्रतिफलमूलक सेवा दिन सकेका छौ । बिरामीको मन जित्दै उपचारमा सफलता प्राप्त गर्न सक्षम भएका छौं । यसकै परिणाम स्वरूप टेकु अस्पताललाई सरकारको नमुना अस्पतालका रूपमा पहिचान गराउन सफल भएका छौं । धेरै कमी–कमजोरीहरु सुधार गरिए पनि आगामी दिनमा अझ सुधार गर्दै जानुपर्ने देखिन्छ । यो घडी अझै चुनौतीपूर्ण हुने सम्भावना छ । त्यति बेलासम्म पनि संक्रमितहरूको उपचारमा डटेर लागिराख्नुपर्नेछ र लागिराख्ने प्रतिबद्धताका साथ हाम्रो टिम सक्रिय छ ।

अझ चुनौती थपिनसक्ने कुरा गर्नुभयो, कस्तो खालको चुनौती थपिदै छ ?

जाडोयाम शुरू भएसँगै भर्खरै पोखराका अस्पतालमा बेड नपाएर बिरामीको मृत्यु भएको घटना ताजै छ । यति बेला धेरै बिरामी घरमै बसेको अवस्था छ । घरमा अक्सिजन नराखेको अवस्था, अस्पतालमा बेड छैन भनेको अवस्था छ । अबका दिनमा धेरै गम्भीर भइसकेको मान्छे मात्र अस्पतालमा आउने अवस्था छ । शुरुआती दिनमा आए उपचार लाग्ने ढिला आए उपचार पनि नलाग्ने हुन्छ । जाँडोमा धेरै व्यक्तिहरूलाई दमको समस्या हुने, वृद्ध बा, आमाहरूलाई अझ बढी हुने हुन्छ । त्यस्ता व्यक्तिहरु पनि कोरोना संक्रमण देखिएपछि अस्पतालमा आउने र जाँडोसँगै बिरामीको संख्या थपिँदा सिकिस्त बिरामी बढ्ने सम्भावना हामीले देखेका छौं । विश्वको टे«न हेर्दा पनि युरोपतिर पनि जाँडो बढेसँगै बिरामीको चाप थपिएको हामीले नियालिरहेका छौं ।

जाँडो समयमा कोरोना भाइरस सक्रिय रूपमा फैलन वातावरण मिल्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी जनचेतनाको अभावभन्दा पनि हेलचेक्र्याइँ र अन्य कारणले गर्दा कोरोना भाइरसलाई राम्रोसँग निकालेर फाल्न नसक्ने हुनाले बिरामीलाई सिकिस्त बनाउन सक्ने जाडोमा अधिकतम देखिन्छ । नेपालमा पनि जाडोयाम सँगसँगै चाँडबाड सकेर दैनिकीमा फर्कंदै गरेको अवस्थामा संक्रमण साटासाट धेरै भइसकेको छ । त्यसैले सिकिस्त बिरामी केही हप्तामा बढ्ने सम्भावनाको आँकलन गर्न सकिन्छ ।

यस विषयलाई अहिले नै ध्यान दिई रणनीति बनाएर अघि बढेको खण्डमा नियन्त्रणमा लिन सकिन्छ । हामीले के गर्ने भन्ने योजनाले पनि संक्रमण दरलाई व्यवस्थापन गर्ने पक्षलाई निर्धारण गर्छ । जाडोमा जटिल बिरामी आउन सक्ने सम्भावनालाई मध्येनजर गर्दै आउँदा दिनहरु हाम्रा लागि चुनौतीपूर्ण छन् । कोभिडको भ्याक्सिन आउँन अझै समय लाग्ने र समुदायका धेरै व्यक्ति अझै संक्रमित हुन बाँकी असुरक्षित भएको अवस्था छ । यी सबै अवस्थालाई नियाल्दा जाडोयाममा कोरोना संक्रमितको संख्या बढ्ने प्रबल सम्भावना छ ।

सुरक्षा नअपनाउने र परीक्षणको दायरामा नआउनेको अवस्था कस्तो देख्नुहुन्छ ?

यसका धेरै पक्ष छन् । कतिपयले परीक्षण गरेर पोजेटिभ आयो भने १४ दिन बिनाकाम आइसोलेसनमा बस्नुपर्छ । म संक्रमित भएको थाहा पाएँ भने छिमेकीले के भन्लान् । सरकारले शुल्क तोक्ने बित्तिकै धेरै मान्छेले त्यत्रो पैसा तिरेर कसरी परीक्षण गराउने भनेर परीक्षणको दायरामा नआएका व्यक्तिहरू पनि उत्तिकै छन् । सरकारले अहिले सहज अवस्थामा लगेको भए पनि लक्षण देखिएका व्यक्तिहरुले समेत हेलचेक्र्याइँ गरेर परीक्षणमा नआउँदा दुईखालका दुर्घटना हुन्छ । पहिलो आफ्नो परिवार र समुदायमा सार्न सक्छ । दोस्रो भनेको आफैं सिकिस्त भएर पनि पीसीआर परीक्षण नभएपछि कुन अस्पतालमा जाने ? उता सेवा दिने अस्पतालले पनि बिरामी राख्ने÷नराख्ने जस्ता चुनौती रहेको छ ।

दश महिनादेखि हामीले अवसर पाएका ठाउँमा बोलेकोबोल्यै छौं । व्यस्तताका बाबजुद पनि जनचेतनाका विषयमा हामी चिकित्सकले आम सञ्चारका माध्यमबाट सक्दो सन्देश दिएकै छांै । यसलाई आधार मानी स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले प्राथमितामा राखी आम नागरिकलाई जिम्मेवार र जवाफदेही बनाउन कोशिस गरेको खण्डमा अझै पनि सम्भावना छ । संक्रमण रोकथामका लागि व्यवहार परिवर्तन गर्न लगाउने काम गर्नुपर्छ । व्यवहार परिवर्तन गर्न सम्झाई–बुझाई गरी नगर्नेलाई कानुनी दायरामा ल्याउने काम सरकारको हो । मादक पदार्थ सेवनलाई रोकथाम गर्न मापसे कार्यक्रम ल्याएसँगै धेरै मानिसको ज्यान जोगिएको छ ।

जहाँ–जहाँ संक्रमणको जोखिम छ ती–ती निकायमा सरकारको उपस्थिति हुनु जरुरी छ । साना व्यापारी, चिया पसल, किराना पसल, ठूला होटल, रेस्टुरेस्ट, उद्योग, कल–कारखाना, स्कुल, कलेज, अफिसहरु, बैंक, वित्तीय संस्थाहरूले मापदण्ड पु¥याएका छन्÷छैनन् अनुगमन गरी कडाइका साथ नियमको पालना गर्न÷गराउनतर्फ सरकारको उपस्थिति हुनुपर्छ । कति गाडीहरुमा, संघ–संस्थामा सम्बन्धितले जनस्वास्थ्यमा ध्यान दिएको छ÷छैन अनुगमन गरेर पालना गर्ने÷गराउने विषयमा ध्यान दिनुपर्छ अनि मात्र कोरोना नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ ।

कोरोना संक्रमण बढेसँगै अस्पतालमा बेड छैन भन्ने उत्तर अधिकांश अस्पतालमा पाइन्छ, टेकुको हकमा कस्तो छ ?

सबैभन्दा महत्वपूर्ण कुरा के थियो भने कोभिडको संक्रमणको महामारी नेपालमा भित्रिँदा टेकु, पाटन, एपीएफ भरिएको अवस्था थियो । मैले पनि धेरै बिरामीलाई बेड छैन भनेर पर्सिसम्म पर्खनूस् या अन्य अस्पताल जानूस् भन्दा कहीं बेड पाइएन घरमै बित्नुभयो भन्ने घटनाहरू सुन्दा दिक्क लाग्थ्यो । यथार्थमा अन्य अस्पतालहरू सरकारले भनेको ३० प्रतिशत, २० प्रतिशत अनि फेरि सबै अस्पताल कोभिड अस्पताल भन्ने कुरा आए । तर, अस्पतालको बेड भरिएको हिसाबले हेर्ने हो भने भरिएको देखिँदैन । सिकिस्त बिरामीलाई अक्सिजन दिएर राख्न सकिने अवस्थामा पनि आईसीयू चाहिन्छ भनिदिँदा धेरै मान्छेको ज्यान गएको छ ।

साधारण बेडमा अक्सिजन दिएर राखेको भए मानिस बाँच्न सक्थे, बाँच्छन् तर अहिले पनि त्यही भइरहेको छ । अस्पतालमा रहेका कोभिडबाहेकका शैय्याहरुलाई पनि हामीले कोभिड संक्रमितको उपचारका लागि व्यवस्थापन गर्न लगाउन सकेको भए धेरैको ज्यान बच्थ्यो । कुनै पनि अस्पतालमा बेड र चिकित्सक नहुने अवस्था आइसकेको छैन । कोभिड लागेको व्यक्तिलाई २० बेडभन्दा अरू बेडमा राख्न नहुने सोचको उपज मानिसको मृत्यु भइरहेको छ ।

अहिले अस्पतालहरुले दिएका बेडका बिरामीको दर हेर्ने हो भने धेरै अस्पतालहरुमा बेड खालि छन् । साँच्चि नै बेड खालि थियो कि थिएन भन्ने विषयमा निगरानी जरुरी छ । यो महामारीमा हामीले पछि गर्दा पनि हुने उपचार तत्काल नगर्ने निर्देशन सरकारले दिएको छ र त्यस्ता खालका सर्जरी नै गरेको छैन भने ती अस्पतालमा धेरै बेड अझै पनि खाली छन् ।

यति ठूलो संख्यामा मान्छे अस्पताल गएकै छैनन्, घरमै बसेर घरबाटै फोन गर्ने, नियमित खाँदै गरेका औषधिहरुलाई निरन्तरता दिँदै बसेका छन् । क्लिनिक जाने साथीभाइहरुको भनाइ सुन्दा क्लिनिकमा पनि बिरामी छैनन् । अस्पतालमा बेड नभएको होइन बेड व्यवस्थापनमा हामी चुकेका छौं । यस्तो महामारीको बेलामा सरकारले शैय्या (बेड) व्यवस्थापन गर्न सक्नुपर्छ । महामारी फैलिएका, घना बस्ती भएका शहरका अस्पतालहरुमा सरकारले प्रत्यक्ष निगरानी गरेर खाली बेडलाई व्यवस्थापन गरी बिरामीको सेवा दिनुपर्छ ।

पोखरामा एक जना महिलाको अस्पतालहरुले बेड छैन भनेका कारण अस्पताल खोज्दाखोज्दै मृत्यु भयो । पोखराको शिक्षण अस्पताललगायत अन्य अस्पतालमा बेड र चिकित्सक नभएको हुँदै होइन । यो सोचको उजागर हामीले गर्न सकेका छैनौं । व्यवस्थापनतिर नलागेर हामी संकुचित भयौं । यो महामारीमा डर र त्रास भोगेर बस्यौं । सकेसम्म स्वास्थ्यकर्मीहरूलाई उच्च मनोबल दिएर सुरक्षाकवजको व्यवस्थापन गर्ने हो भने बिरामीका लागि बेड निकाल्न गाह्रो छैन ।

सरकारले शुरूका दिनदेखि नै सूचनालाई व्यवस्थित गर्न पारदर्शिताका काम प्रयास भए पनि केही कमी–कमजोरी भएकै छन् । सिकिस्त बिरामीलाई अस्पताल पु¥याएपछि अस्पतालले बेड छैन भने आकस्मिक कक्षमा सामान्य बेड राखी अक्सिजन दिएर भए पनि बिरामीको उपचार गर्छ । अस्पताल पुगेपछि सिलिन्डरबाटै अक्सिजन दिने र भेन खोल्नेसम्मका काम हुँदा बिरामीले उपचार पाउन सक्छन् । यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरूले पनि आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ । अहिलेको यो विसम परिस्थितिमा धेरै मानिसको स्वास्थ्यकर्मीप्रति ठूलो आशा र भरोसा छ । स्वास्थ्यकर्मीहरुले आम नागरिकको आशा र भरोसालाई स–सम्मान निर्वाह गर्नु जरुरी छ ।

हामी स्वास्थ्यकर्मी बिरामीका लागि आशाका केन्द्र हौं । यो बेलामा नै हामीले आफ्नो दायित्वलाई नभुलेर बिरामीको सेवा गर्ने भनेर जुन शपथ खाएका छौं त्यो सम्झेर स्वास्थ्यकर्मीले दिन सक्ने सेवा आफू सुरक्षित भएर दिन सक्ने सेवामा कमी–कमजोरी गर्नुहुँदैन । आम समुदायको आशा भरोसाका केन्द्र भनेका हामी स्वास्थ्यकर्मी हौं । हामीले त्यसलाई बहन गरेनौं भने भोलि जनताले धिक्कार्ने छन् ।

पीडापूर्ण केही अनुभव पनि सुनाउनुहुन्छ कि ?

उपचार गर्दागर्दै कति बा–आमसँग नजिक भइयो । उहाँहरुलाई अथक प्रयास गर्दा पनि बचाउन सकिएन । त्यो ठूलो पीडाको विषय बन्यो । परिवारको पीडा देखिन्छ, वार्डको बाहिर बसेर सोध्नेको लाइन हुन्छ । राउन्डबाट बाहिर निस्कँदा उनीहरुको अनुहार हेर्नु कति पीडादायी हुन्छ । मैले त कतिलाई भाइबरमा भिडियो खिचेर पनि देखाएको छु । उनीहरुले आफन्तलाई भेट्नसम्म नपाउँदाको पीडा कल्पनै गर्न सकिन्न । जुन स्वास्थ्यकर्मीले यस्ता पीडालाई नजिकबाट हेरेको छ, पहिलो केसदेखि अहिलेसम्म एउटा पनि बिरामी मैले नहेरेको छैन ।

सबै बिरामीको अनुहार मलाई कण्ठै छ । अति मेहनत गर्दा पनि उहाँहरुलाई बचाउन नसक्दाको पीडा सम्झँदा हामी स्वास्थ्यकर्मीलाई पनि धेरै दुःख लाग्छ परिवारले त कसरी बिर्सनु । धेरै पीडा देखेर अस्पतालबाट बाहिर निस्कने बेलामा अन्य मानिसको हेलचेक्र्याइँ देख्दा अचम्म लाग्छ । कोभिड संक्रमण त टेकु अस्पतालको आईसीयू र कोभिड वार्डमा मात्र छ कि जस्तो हुन्छ । बाहिर जो छन् उनीहलाई केही मतलब नै छैन । भोलि तिनै मध्येका कति जना सिकिस्त भएर आउने होलान्, चिन्ता लाग्छ ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?

अस्पतालको आईसीयूको बेड युद्धभूमि जस्तो छ । बा, आमा, हजुरबा, हजुरआमाहरू कोरोनासँग लडाइँ लडिरहेका छन् । भेन्टिलेटरमा राखेर मुस्लोजस्तो अक्सिजन दिँदा उहाँहरुलाई कति पीडा छ । संक्रमितलाई सञ्चो हुनका लागि लडाइँ गर्दागर्दै उनीहरुलाई ठीक बनाउन हामी र परिवारका सदस्यहरु त्यो लडाइँको अवस्थालाई सोध्नेको लाइन हुन्छ । त्यो पीडा आम सर्वसाधारणले कहिले बुझ्लान् जस्तो लाग्छ । यो सम्झँदा साह्रै पीडा लाग्छ । सबै परिवारका वृद्धवृद्धा सिकिस्त बिरामी भएका छैनन्, जसको परिवारमा भएको छ त्यो शतप्रतिशत हो । उसका लागि सर्वस्व हो ।

हामीले यति प्रतिशत भन्ने हैन जसको घरमा घटना घटेको छ उनीहरुका लागि शतप्रतिशत हो । जसलाई पीडा छ उनीहरुलाई थाहा हुन्छ, कोरोना के हो र कस्तो हुन्छ । यति बेला अस्पतालका नर्सिङ स्टाफहरुको महत्वपूर्ण भूमिका हुन्छ । यस्तो टिम व्यवस्थापन गर्नका लागि हामी सक्षम भएका छौं । भोलिका दिनमा हाम्रो टिमको तस्वीर घर–घरमा सजिनेछ । टीमवर्कको लगानी जति सन्तोषजनक छ त्यति नै मेहनत गर्दागर्दै बिरामीलाई बचाउन नसक्दाको पीडा छ । आम नागरिकको सहयोग र सद्भावबिना हामी चिकित्सकहरू सफल हुन सक्तैनौं !