नेकका पूर्वअध्यक्ष न्यौपानेलाई थप ७ दिन थुनामा राख्न अदालतको आदेश

0
Shares

पुष्क बुढाथोकी, भक्तपुर ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) का पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।

ठगी मुद्दामा पक्राउ परेका न्यौपानेलाई न्यायाधीश रमनाथ पौडेलको इजलासले हिरासतमा राख्न अनुमति दिएको हो । केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई पक्राउ गरेको थियो ।  उनीविरुद्ध अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकसँगै घुस रिसवत मुद्दा दायर भएको थियो ।

आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त पाठकलाई ७८ लाख रूपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनु परेको थियो ।  पक्राउ परेका न्यौपानेसहित पाँच जना विरुद्ध ठगी मुद्दामा व्यूरोले अनुसन्धान गरिरहेको छ ।

इञ्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितताबाट २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ बेरुजु देखिएको र न्यौपानेको नाममा मात्रै तीन करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बेरुजु रही ठगी गरेको अभियोग न्यौपानेलाई लाग्दै आएको छ ।