भद्रपुर नगरपालिकाले लगाएका योजना अलपत्र

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

भद्रपुर नगरपालिका कार्यालयले लगाएका ठेक्काका योजनालाई बिचैमा अलपत्र बनाएर छाड्ने गरेको पाइएको छ । नयाँ योजना ल्याउने, ठेक्का लगाउने, अनि सम्पन्न नगर्ने परिपाटीले नगरवासीले हैरानी व्यहोर्नु परेको छ ।

दशकौँदेखि साँघुरो रहेको भद्रपुर बजारलाई फराकिलो सडक विस्तार गर्ने योजना अनुसार प्रदेश नम्बर १ सरकारले आर्थिक वर्ष २०७५।०७६ मा समपूरक कोष मार्फत नगरपालिकालाई सशर्त अनुदानबाट एक करोड बजेट विनियोजन गरेको थियो । बजेटबाट नगरपालिकाले पहिलो चरणमा भद्रपुर वडा नम्बर ५, ६ र ८ जोडिएको सङ्गम चोकदेखि जनता चोकसम्म दुवै तर्फ पक्की नाला निर्माणका लागि ठेक्का लगाएको थियो । २०७६ असार १८ गते एबी निर्माण सेवा भद्रपुरका सुरेश श्रेष्ठले सो ठेक्का भ्याटसहित ७७ लाख ६७ हजारमा लिएका थिए ।

सो निर्माण कार्य २०७६ पुस १९ गतेसम्म सम्पन्न भइसक्नु पर्ने ठेक्का सम्झौतामै उल्लेख गरिएको छ । तर, अहिलेसम्म सो सडकको निर्माण कार्य सम्पन्न भएको छैन । ५४० मिटर सडक खण्डमा दक्षिणी तर्फको मात्र नाला निर्माण गरी छाडिएको छ भने उत्तरतर्फको नालाको काम अधुरै छ । त्यसतर्फ न त नगरपालिकाले चासो देखाएको छ न त निर्माण कम्पनीले नै । अहिले नगरपालिका र निर्माण कम्पनी ठाउँ खाली नभएको आ–आफ्नो तर्क राख्दा नाला निर्माण कार्यले गति लिन सकेको छैन ।

निर्माण कम्पनीका सञ्चालक श्रेष्ठका अनुसार सडक नाला निर्माणको ठेक्का लिँदा नै ठाउँ खाली गर्ने सम्झौता नभएको बताउँनुहुन्छ । सडक खाली गर्ने जिम्मा नगरपालिकाको भएको उहाँको भनाइ छ । ठाउँ खाली भएको स्थानमा नाला र कल्भर्ट निर्माण गरिसकेका उहाँले बताउँनुभयो । नगरपालिकालाई पटक पटक ठाउँ खालीका लागि लिखित पत्राचार गरिसके पनि अहिलेसम्म सुनवाइ नभएको उहाँको आरोप छ । ठाउँ खाली भए महिनादिनभित्र काम सम्पन्न हुने उहाँको दाबी छ ।

नगरपालिकाका इन्जिनियर योगेन्द्र रञ्जीतकारले ठाउँ खाली गराउन उद्योगी सुरेश अग्रवाललाई पत्राचार गरिसकेको बताउँनुहुन्छ । त्यही भएर काममा ढिलासुस्ती भएको उहाँको भनाइ छ ।

नगरपालिकाले बजार फराकिलोसँगै सडक विस्तारका लागि अहिले पहिलो चरणमा सडक नाला बनाउने योजनामा अघि सरेको छ । संगमचोकदेखि भद्रपुर बजार हुँदै भन्सारसम्मको नालासँगै सडक विस्तार गर्ने नगरपालिकाको मुख्य योजना हो । प्रदेश १ सरकारले गत आर्थिक वर्ष २०७६।७७ मा पनि सशर्त अनुदानबाट नगरपालिकालाई एक करोड रुपैयाँ दिएको छ । सो रकमबाट पनि नगरपालिकाले जनता चोकदेखि राम अवतारको पसलसम्म नाला बनाउन ठेक्का लगाइसकेको छ । गत आर्थिक वर्षको जेठमै लागेको ठेक्का कोरोना महामारीले काम सुरु भएको छैन । नगरपालिकाले काम सुचारु गराउन सो क्षेत्रमा पनि ठाउँ खाली गर्नु पर्ने देखिएको छ ।