पाँचबर्ष मुनीका २७ लाख बालबालिकालाई भिटामीन ए र बालभिटा खुवाईँदै

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना संक्रमणका बाबजुद्ध पनि स्वास्थ्य सेवामा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुले अनवरत रुपमा राज्यको नियमित खोप कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । देशभरिका छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४ सय ५९ बालबालिकालाई बिहीबार र शुक्रबार दुईदिन भिटामिन ‘ए’ खुवाउईदैछ ।

बालबालिकालाई निःशुल्क रुपमा खुवाईदै आएको भिटामिन ‘ए’ खुवाउँन खटिएका कतिपय स्वास्थ्यकर्मीहरु भर्खरै कोरोना निको भएका या आफ्ना सहकर्मीहरु कोरोना संक्रमित हुँदा समेत खोप कार्यक्रमलाई निरन्तरता दिन स्थानिय सरकारसँग समन्वय गर्दै अघि बढेका छन् ।

भिटामिन ए खुवाउने नियमित तालिका गत कात्तिक २ र ३ गते क्यालिण्डरमा तोकिएको भएता पनि त्यतिबेला हिन्दुहरुकाे महान चाड दशै परेका कारण एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डे बताउँनुहुन्छ । यसअघि कोरोना भाइरसका कारण वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते संचालन गरिएको थियो ।

विगतका बर्षहरुमा जे जस्ता कठीनाई आउँदा पनि तोकिएको तालिकालाई यथावत राख्दै आएको भएपनि यसबर्ष भने कोरोना र दशैं तिहारका कारण तोकिएको ठ्याक्कै समयमा कार्यक्रम संचालन गर्न नसकिएपनि एक डेढ महिनाको फरकमा व्यवस्थापन मिलाउँदै आएको पाण्डे बताउनुहुन्छ । यतिबेला देशव्यापी रुपमा ७ सय ५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविकाहरु मार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको पाण्डेले जानकारी गराउनुभयो ।

सरकारले वि.सं. २०५० देखि कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो । भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा पनि खुवाइदै आएकोछ । यो खोप कार्यक्रमलाई सफल बनाउन देशव्यापी रुपमा झण्डै ५२ हजार स्वयंसेविका कार्यक्रममा खटिएका छन् । भिटामिन ए सँगै एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ ।

यस पटक जुकाको औषधि २४ लाख ८ हजार ३ सय ३० बालबालिकालाई खुवाउने लक्ष्य रहेको पाण्डे बताउँनुहुन्छ । सन् २००० देखि जुका र आर्थिक वर्ष २०६६/६७ देखि बालभिटा खुवाउन थालिएको हो ।नेपालका ४६ जिल्लामा बालभिटा लागू भएका छन् र ती जिल्लामा भिटामिन ए सँगै बालभिटा क्याप्सुल खुवाउने कार्यक्रम रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

रक्तअल्पता हुनबाट जोगाउनका लागि बालभिटा खुवाउने गरिएको र छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाउने पनि उहाँले जानकारी गराउँनुभयो । बालभिटा लागु भएका जिल्लाका बालबालिकाहरुलाई हरेक वर्ष सरकारले निःशुल्करूपमा भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत जुकाको औषधि र बालभिटा खुवाउँदै आएको छ ।