सिताके च्याउले बजार नपाउँदा कृषक चिन्तित

0
Shares

अमृत अर्याल,स्याङ्जा ।

पुतलीबजार नगरपालिका – ११ र १२ का सिताके च्याउ कृषकहरु चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्र स्याङजाले पुतलीबजार नगरपालिका – ११ र १२ मा स्थापना गरेको पकेट क्षेत्रको च्याउ विक्री नहुदाँ सिताके च्याउ कृषकहरु चिन्तीत भएका हुन् । आफुले फलाएको च्याउले बजार नपाउदा स्याङजा बजार, पोखरा र बुटवल सम्म धाउनु परेको पुतलीबजार नगरपालिका – ११ का सिताके च्याउका कृषक शिवप्रसाद लामिछानेले गुनासो गर्नुभयो ।

कृषक लामिछानेले च्याउले बजार नपाउदा उत्पादन खेरा गएको जानकारी दिनुभयो । पुतलीबजार नगरपालिका – ११ र १२ का ६६ घरीधुरीले सामुदायीक तथा व्यक्तीगत रुपमा सिताके च्याउको खेती गर्दै आएका छन् । ज्ञानकेन्द्रको ५० प्रतिशत अनुदानमा उनीहरुले सितके च्याउको पकेट क्षेत्र संचालन गरेका हुन् ।

ज्ञान केन्द्र मार्फत आउनुपर्ने कार्यक्रम सरकारले पालिकाहरुलाई सिधै दिएकाले पकेट क्षेत्रका कार्यक्रमहरु व्यवस्थित हुन नसकेको कृषि ज्ञान केन्द्र स्याङजाका प्रमुख शालिकराम अधिकारीले जानकारी दिनुभयो । पकेट क्षेत्रबाट उत्पादन भएको बस्तु व्यस्थापन गर्ने सोच भएपनी बजेटको अभाव रहेको अधिकारीले बताउनुभयो । पकेट क्षेत्रबाट दैनिक जसो करिब १ सय ५० किलो च्याउ उत्पादन हुदै आएको पुतलीबजार – ११ का अर्का कृषक राजन लामिछानेले जानकारी दिनुभयो ।

च्याउले बजार नपाए पनी ड्राई गर्ने प्रविधि नहुदा च्याउ कुहिएर जाने वा निशुल्क वितरण गर्नुपरेको कृषक लामिछानेको गुनासो छ । पकेट क्षेत्रमा ५० प्रतिशत अनुदान दिएको ज्ञान केन्द्रको १६ लाख र स्थानीयहरुको १६ लाख गरी जम्मा ३२ लाख लगानी भएको छ । च्याउको पकेट क्षेत्र रहेकोमा ३ समुह र अन्य घरहरुमा करिब १२ हजार मुढामा च्याउ लगाईएको छ ।