नेपाल संवत्को आन्दोलन र गरिमा


  • नरेशवीर शाक्य

संस्कृत संवत्सर शब्दको छोटकरी रुप ‘संवत्’ हो । समय कालको गणनालाई संवत् भनिन्छ । मानव सभ्यतासँगै शुरु भएको यो संवत् मानिसहरुको दैनिकी गणनाको निमित्त विभिन्न नाम र रुपमा विश्वभरमै प्रचलनमा छ । यी संवत्हरु विभिन्न ऐतिहासिक घटनाहरुको काल निर्धारण र गणनाको निमित्त बनाइएको हुन्छ । यी संवत्हरु कुनै धर्म वा वीर सिद्ध पुरुषको नाममा राखिएका हुन्छन् ।

अहिले विश्वभर प्रचलनमा रहेको इस्वी संवत् धर्मको नाममा रहेको छ । नेपाल र भारतमा विक्रमादित्य महाराजको नाममा रहेको विक्रम संवत् चलनमा छ । तर विश्वभर राष्ट्रको नाममा रहेको एउटै मात्र संवत् नेपाल संवत् हो । विभिन्न स्थान र देशमा संवत्को शुरुआत प्रायः राजा महाराजाहरुबाट हुने गर्दछ । तर नेपालको यो मौलिक संवत् नेपाल संवत् एक साधारण व्यक्तिले प्रतिस्थापना गरेको संवत् हो । यो संवत् राजा राघवदेवको आज्ञामा इस्वी संवत् २० अक्टोबर ८७९ देखि प्रचलनमा आएको हो ।

संवत्सर सूर्य वा चन्द्रमाको गतिमा आधारित रहन्छ । समय कालको गणना सौरमास र चन्द्रमास हो । सौरमासको आरम्भ सूर्यको संक्रान्तिदेखि हुन्छ । चन्द्रमाको गतिअनुसार एक महिनामा १५ दिन शुक्लपक्ष र १५ दिन कृष्णपक्ष हुन्छ । सौरमास ३ सय ६५ दिनको र चन्द्रमास ३ सय ५५ दिनको हुन्छ । प्रतिवर्ष १० दिनको हुन जाने अन्तर प्रत्येक तीन वर्षमा जोडेर अनला (मलमास) बन्छ । सौर्य मासमा एक वर्षभित्र १२ महिना रहन्छ । चन्द्रमासमा ३ वर्षमा एकपटक १३ महिनाको वर्ष हुन्छ ।

नेपाल संवत् चन्द्रमास हो । यसको प्रचलन नेपालमा ११४० वर्ष अघिदेखि निरन्तर रहँदै आएको छ । नेपाल संवत्को शुरुवाती समय यो राजकीय र जन संवत्को रुपमा स्थापित भएको थियो । नेपालका प्राचीन शिलापत्र, ताम्रपत्र, थ्याः सफू, देव देवालयलयातका सबै ऐतिहासिक दस्तावेजहरुमा यसको प्रयोग भएको छ । नेपालीहरुको जीवन पद्धतिसित जोडेका सबै धार्मिक, सामाजिक कर्मकाण्ड, जात्रा, पर्वहरु यसै संवत्को तिथिमा आधारित रहेको छ । नेपाल संवत् ८८८मा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका हमला गरी सत्ता शासन कब्जा नगरेसम्म यही संवत्को प्रचलन रहेको थियो । पृथ्वीनारायण शाहको राज्य शासन शुरुसंँगै नेपाल संवत्को स्थानमा शक संवत् प्रचलनमा ल्याइयो । तर आम जनतामा नेपाल संवत्को प्रचलन पनि निरन्तर नै थियो ।

शाह राजाहरुको उदयसँंगै नेपालका मौलिक भाषा नेपाल भाषा, मौलिक लिपि नेपाल लिपि र मौलिक संवत् नेपाल संवत्लाई राज्यस्तरबाट नै दुरुत्साहनको नीति अपनाइयो । राणा प्रधानमन्त्री चन्द्र शमशेर (नेसं ९२६–९९२)को शासनमा नेपाल संवत् उल्लिखित सम्पूर्ण कागजपत्रहरु अदालती मान्यता नहुने सनद जारी गरे । सरकारी कामकाजको निमित्त विक्रम संवत् प्रचलनमा ल्याए ।

राणा शासनको अन्त्यपछि मुलुकमा पञ्चायती व्यवस्था (नेसं १०८२–११०९) रह्यो । पञ्चायती व्यवस्थाले एक भाषा, एक संस्कृतिको नारा अंगीकार गरी नेपाल संवत्बारे बोल्नेलाई साम्प्रदायिक र विखण्डनवादीको आरोपमा जेलनेलसमेत ग¥यो । यसरी नेपालको मौलिक सम्पदा नेपाल संवत्को स्थिति अति नै कमजोर भयो । तर पनि जनमानसमा नेपाल संवत्को तिथिमितिमा आधारित रहेर हरेक पर्व, जात्रा, संस्कार संस्कृति र कर्मकाण्डहरुले निरन्तरता पाइनै रह्यो । यसरी नेपाल संवत्को ऐतिहासिकता राज्य सत्तासामु ओझेल पर्दै गएको हो ।
नेपाल संवत्को ऐतिहासिकता र नाम बचाइराख्नुमा पञ्चाङ्ग निर्माण कर्ताहरुको ठूलो भूमिका रहेको छ ।

पञ्चाङ्ग निर्माताहरुले हरेक वर्ष प्रकाशित हुने पात्रोमा स्वन्ति (तिहार) पर्वको लक्ष्मीपूजाको दोस्रो दिन कछलाथ्वः प्रतिपदा ‘शंखधरकृत नेपाल संवत् नव वर्ष प्रवेश’ भन्ने उल्लेख गरिरहे । नेपाल संवत्को तिथिअनुसार व्यापारी घरानाहरुले लक्ष्मीपूजाको दिन आफ्नो व्यापार व्यवसायको साल तमाम गरी आफ्नो सम्पत्तिको यकिन गर्ने र दोस्रो दिन म्हपूजासहित नेपाल संवत्को नववर्ष अनुरुप नयाँ आफ्ना खातापाताहरु राख्ने गरिनै आएका थिए । पछि सरकारी आर्थिक कारोबारको कार्यविधि चलनमा आएपछि यो चलनमा कमी हुँदै आयो । तर अहिले पनि कतिपय यहाँका रैथाने परिवारमा लक्ष्मी पूजाको दिन हर हिसाब गरी नयाँ वर्षको शुरुआत गर्ने चलन विद्यमान छ ।

पञ्चायत व्यवस्थामा राज्यबाट नेपालीहरुको बहुपहिचानको विरुद्ध धेरै नै षड्यन्त्र र दमन हुन थालेपछि यहाँका आदिवासी जनजातिहरु आफ्ना भाषा, संस्कृति र पहिचानको जर्गेनाका निमित्त सचेत भए, एकजुट भए । सम्पूर्ण नेपालीहरुमा आफ्ना स्वाभिमान र मौलिक पहिचान जगाउनको निमित्त विभिन्न माध्यमहरु जनस्तरमा अपनाए । यसै सन्दर्भमा नेपालको आफ्नै मौलिक सम्पदा तर राज्यबाट उपेक्षित नेपाल संवत्मा ध्यान केन्द्रित हुन पुग्यो ।

नेपाल संवत्को नववर्ष पाँच दिन मनाइने यम पञ्चकअन्तर्गत स्वन्ति वा तिहार पर्वको चौथो दिन मनाइन्छ । यम पञ्चकमा कागपूजा, कुकुर पूजा, लक्ष्मी पूजा वा गाई पूजा, म्हपूजा र किजापूजा क्रमशः पाँच दिनसम्म लगातार मनाइन्छ । यो पर्व प्रत्येक दिन सूर्य उदयको दिनसँगै मनाइन्छ । तिथि घटबढ, टुट वा दोहरिए तापनि पर्व शुरुको सूर्य उदयको दिनसँगै पाँच दिन निरन्तररुपमा मनाइन्छ । यसैलाई पूर्वजहरुले व्यावहारिकरुप दिँदै आएको छ । यहाँका रैथानेहरु व्यावहारिकरुपमै लक्ष्मीपूजा कौलागा अमावश्यको दिनमा लक्ष्मीपूजासहित साल तमाम, कछलाथ्व प्रतिपदाका दिन नववर्ष र म्हपूजा र किजापूजा द्वितीयाका दिन मनाउने गर्दछन् ।

नेपाल संवत् नववर्ष म्हपूजा व्यावहारिक, सांस्कृतिक पर्वका रुपमा निरन्तरता रहे तापनि यसलाई समारोह र अन्य कार्यक्रमहरुसहित मनाउने चलन पछिल्लो समयमा मात्रै शुरु भएको हो ।

मुलुक राणा शासनको अन्त्य र प्रतातन्त्रको आंशिक खुला वातावरणमा नेसं १०७१ मा प्रथमपटक इखापोखरीस्थित कन्या मन्दिर स्कुल कौशीमा च्वसापासा संस्थाको अध्यक्ष प्रेमबहादुर कंसाकार, केदारनाथ नौपान्येको अगुवाइमा नेपाल संवत् नववर्ष सभाको रुपमा शुरु भएको हो । यही समयदेखि नेपाल संवत् नववर्षको उपलक्ष्यमा ‘भिन्तुना’ शब्दको निर्माण र यसको आदान प्रदानको चलन शुरु भएको हो ।

नेपाल संवत्को नववर्षलाई तत्कालीन जननिर्वाचित सरकारले संयुक्त राष्ट्र संघमा ‘नेपाली दिन’ भनी मनाउने नेसं १०८१ देखि प्रचलनमा ल्याएको थियो । तर नेसं ११०२ देखि मात्र यो बन्द गरेको हो ।
जनस्तरबाट नेपाल संवत् नववर्षको मान्यता स्थापना गर्ने कार्य शुरु भएदेखि नै हालसम्म यसको निरन्तरता रहेको छ । नेसं १०९४ मा नववर्षको उपलक्ष्यमा सार्वजनिक सांगीतिक कार्यक्रम, नेसं १०९५ देखि १०९९ सम्म ‘झी’ पत्रिकाको आयोजनामा ‘मंकाः ग्वसाः’को नाममा कछलाथ्व प्रतिपदाका दिन सार्वजनिक म्हुपूजा र नेपाल संवत् नववर्षको विशेष कार्यक्रम, नेसं १०९६ देखि १०९८ सम्म पासापुचः कमलाछीको आयोजनामा ‘भिंतुना साइकल ¥याली’, नेसं १०९९ देखि ११०१ सम्म लय्ता दबू, जनबहालको आयोजनामा ‘भिंतुना मोटरसाइकल ¥याली’को आयोजना गरियो । यसबाट नेपाल संवत् नववर्षको उपलक्ष्यमा ‘भितुना’ आदानप्रदानको व्यापकरुपमा प्रयोग भयो ।

नेसं १०९९ मा नेपालभाषा साहित्य, कला, संस्कृति, लिपि विकासको निमित्त कार्यरत विभिन्न संघ संस्थाहरुको प्रतिनिधिमूलक संस्था पद्मरत्न तुलाधरको नेतृत्वमा ‘नेपालभाषा मंकाः खलः’को गठन भयो । नेपालभाषा मंकाः खलःको नेतृत्वमा नेपाल संवत् नववर्षको भितुना अभियानले झनै व्यापकता पाए । ‘नेपाल संवत् राष्ट्रिय संवत्, सरकारी मान्यता हुनु नै पर्दछ’ भन्ने नारासहित शुरु गरिएको यस आन्दोलनले धेरै सफलता प्राप्त गरिसकेको छ ।

नेपालभाषा मंकाः खलः गठनको उद्देश्य भाषा, जाति, संस्कृतिको विकासको निमित्त गरिएको हो । यसको मूल माग ‘देशका विभिन्न भाषाभाषीहरुको समान हक अधिकार कायम गर्नु’ थियो ।

नेपालभाषा मंकाः खलःको आयोजनामा सर्वप्रथम नेसं ११००मा वसन्तपुरमा नेपाल संवत् न्हूदँ सांस्कृतिक जुलुसको आयोजना गरियो । विभिन्न खलः पुचःको आयोजनामा संयोजनको भूमिकासहित जिल्लाव्यापी मोटरसाइकल ¥याली, सांगीतिक कार्यक्रम, समूह दौड, चियापान, गोष्ठी सभा सम्मेलनको निरन्तरता यसले दिए । तर हरेक वर्ष मनाइने नेपाल संवत्को नववर्षको कार्यक्रममा सरकारी प्रशासन सधैं निर्ममरुपमा प्रस्तुत भए । पुलिस दमन, लाठीचार्ज, धरपकड हरेक वर्षको नियमित नियती नै हुनपुगे । सरकारी सञ्चारमाध्यमले नेपाल संवत् मनाउनेहरु साम्प्रदायिक, विखण्डनवादीको समेत आरोप लगाउने गर्दथे ।

नेपाल संवत्को नववर्षका दिन ‘भिंतुना आन्दोलन’को नाममा अगाडि बढाइएको यो सांस्कृतिक पहिचानको आन्दोलन देशविदेशमा समेत पु¥याउने कार्यमा नेपालभाषा मंकाः खलःको महŒवपूर्ण भूमिका रहेको छ । नेपाल भाषा मंकाः खलःकै संयोजनामा जिल्ला जिल्लाहरुमा भिंतुना मोटरसाइकल ¥याली, नेपाल संवत् विषयक विचार गोष्ठीसहित यस आन्दोलनले महŒवपूर्ण स्थान प्राप्त गरे । यसै कारण पनि नेपाल संवत्को आन्दोलनले निश्चित गन्तव्य हासिल गर्न सफल पनि भए ।

नेसं ११०९ को मुलुकको व्यापक राजनीतिक परिवर्तनपश्चात् सरकार प्रमुखको प्रमुख आतिथ्यमा वसन्तपुरमा नेपाल संवत्को विशेष कार्यक्रम आयोजना गर्ने परम्पराको शुरु गरे । नेपाल संवत्को विविध कार्यक्रमहरुमा व्यापकता प्रदान गर्न नेसं १११४ देखि ‘नेपालभाषा मंकाः खलः न्हूदँ समारोह समिति’ विशिष्ट व्यक्तित्वहरुको नेतृत्वमा गठन गरे । नेसं ११२२ मा मा. लक्ष्मीदास मानन्धरको अध्यक्षतामा गठित न्हूदँ समारोह समितिलाई नेपाल सरकारको मन्त्रिपरिषद्ले नववर्ष मनाउन १ लाख रुपियाँ अनुदान प्रदान गरेको थियो । नेसं ११२३ मा सुरेन्द्रवीर मालाकारको अध्यक्षतामा गठित न्हूदँ समारोह समितिले ७ दिनसम्म टुँडिखेलमा व्यापार मेला आयोजना गरेको थियो । नेसं ११२४ मा आरके मानन्धरको अध्यक्षतामा गठित न्हूदँ समारोह समितिको आह्वानमा तत्कालीन सूचना मन्त्री कमल थापाले सम्पूर्ण सरकारी सञ्चार माध्यममा नेपाल संवत्को तिथिमिति उल्लेख गर्न निर्देशन जारी गर्नुभएको थियो ।

नेपाल संवत् विषय महŒवपूर्ण योगदान गर्नुहुनेलाई विशेष सम्मान गरिनु आवश्यक रहेकाले मंकाः खलःकै आह्वानमा आरके मानन्धरज्यूले ‘नेपाल संवत् इमेज पुरस्कार’ स्थापना गर्नुभएको थियो ।
छापा अखबारमा नेपाल संवत्को तिथिमिति प्रयोग गर्नेमा नेपाल समाचार पत्र अग्रणी रहेको छ । अखबारको शुरु समयदेखि हालसम्म पनि यसको निरन्तरता रहेको छ ।

अध्यक्ष पद्मरत्न तुलाधारको नेतृत्वमा नेपाल भाषा मंकाः खलःले ‘नेपाल संवत् राष्ट्रिय संवत्, सरकारी मान्यता हुनु नै पर्दछ’ नारासहित शुरु गरिएको यस आन्दोलनले धेरै सफलता प्राप्त गरिसकेको छ । नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई नेसं ११२५ मा राष्ट्रिय विभूति घोषणा गरियो । नेसं ११२४ मा शंखधर साख्खाःको सम्मानमा हुलाक टिकट प्रकाशनमा आए । नेसं ११२८ कछला थ्व प्रतिपदा न्हूदँका दिन नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा मान्यता प्रदान गरियो ।

नेपाल संवत्को आन्दोलन निरन्तर जारी नै रहे तापनि यसले अझै पूर्णता प्राप्त गर्न सकेको छैन । राष्ट्रिय संवत् घोषणा हुँदा पनि यसको सरकारी प्रचलनमा अन्योल रहेकै छ । नेपाल संवत्को आधिकारिक मान्यताविरुद्ध राणा प्रधानमन्त्री चन्द्र शमशेरले अदालतमा प्रमाण नलाग्ने जारी गरेको सनद हालसम्म कायमै छ, नेपाल संवत् उल्लिखित तिथिमितिको मान्यता नेपालको कार्यपालिका, न्यायपालिकामा पाउन सकेको छैन । नेपालमा संविधानसभाको निर्वाचनपश्चात् नयाँ संविधान लेख्ने क्रममा नेपाल संवत्लाई पनि संविधानमा उल्लेख गर्नुपर्ने माग भयो । नेपाः राष्ट्रिय पार्टीका सभासद् बुद्ध साय्मीले यो प्रस्ताव संसद्मा दर्ता गरे तर प्रस्ताव ‘विवादित’ भनी यसलाई मतदानबाट टुंग्याउने निर्णय गरियो । मतदानको समयमा पहिला नेपाल संवत् नववर्षको उपलक्ष्यमा प्रमुख अतिथि भई उपस्थित हुने कोही पनि सांसद, पूर्वमन्त्री र पूर्वप्रधानमन्त्रीले यसको पक्षमा मतदान गरेनन् ।

नेपाल संवत्को विपक्षमा सांसदहरुले मतदान गरे । मौखिकरुपमा नेपाल संवत्को ऐतिहासिकता, महŒव र उपायदेयताबारे जतिसुकै बखान गर्ने भए तापनि यिनीहरु ‘झूठा’ रहेको प्रमाणित भएको छ ।
राष्ट्रको सम्पदा संरक्षण सबै नेपालीहरुको दायित्व हो । नेपाल संवत्को आधिकारिक मान्यता प्राप्तिको आन्दोलन सडकबाट शुरु भई सदनसम्म पुग्यो, तर पूर्णता प्राप्त हुन सकेको छैन । नेपाल संवत्को ऐतिहासिकता र महŒवलाई गम्भीररुपमा लिइरहेको पाइँदैन । राष्ट्रकै गौरवका रुपमा रहेको नेपाल संवत्को प्रचलन सम्पूर्ण नेपालीहरुको गौरव हो ।
(लेखक शाक्य नेपालभाषा मंकाः खलःका सचिव हुनुहुन्छ)