सुरेश किरण
नेपालको इतिहासमा नेपाल संवत्को गरिमा र महत्व अत्यन्त उच्च छ । यसको महत्वलाई कुनै पनि इतिहासकार, अन्वेषकले नकार्न सक्दैनन् । नेपाल संवत्लाई नजरअन्दाज गरेर नेपालको इतिहास अध्ययन गर्न असम्भव छ । नेपालको इतिहासमा नेपाल संवत्बाहेक पनि अरू धेरै संवत्हरू प्रयोग भएको पाइन्छ । जस्तो, मानदेव संवत्, शक संवत्, कलियुग संवत्, लक्ष्मण संवत्, विक्रम संवत् आदि । हाल नेपालको सरकारी कामकाजमा विक्रम संवत् प्रयोग भइरहेको छ । यसभन्दा अघि नेपालको सरकारी कामकाजमा नेपाल संवत् नै प्रयोग हुने गर्दथ्यो ।
नेपालको इतिहासमा धेरै संवत्हरू प्रयोगमा आएको भए तापनि नेपालमा सबैभन्दा लामो समयसम्म प्रयोग भएको संवत् चाहिँ नेपाल संवत् नै हो । नेपाल संवत् आरम्भ भएको समयलाई नेपालको इतिहासमा मध्यकाल शुरु भएको समयका रूपमा लिने गरिन्छ । विसं ९३६ कात्तिक शुक्ल प्रतिपदा अर्थात् इस्वी संवत् ८७९ अक्टोबर २० का दिनदेखि नेपाल संवत् आरम्भ भएको मानिन्छ ।
नेपाल संवत् चान्द्रमासमा आधारित संवत् हो । शक संवत् पनि चान्द्रमासमै आधारित छ । हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदा अर्थात् तिहारको म्हपूजा (गोवद्र्धन पूजा) का दिन यो संवत्को साल फेरिन्छ । यसका १२ महिनाहरूको आफ्नै नाम रहेको छ जो यस प्रकार छ– कछला, थिंला, पोहेला, सिल्ला, चिल्ला, चौला, बछला, तछला, दिल्ला, गुंला, यंला र कौला । हरेक तीन वर्षमा एकपटक एक महिना थपिएर १३ महिनाको साल बन्छ । थपिएको उक्त महिनालाई अधिकमास भनिन्छ भने उक्त महिनाको नाम अनला राखिएको छ ।
नेपाल संवत्बारे विभिन्न विचार
नेपालको इतिहासमा आजभन्दा करिब १ हजार वर्षअघिको इतिहास अत्यन्त अस्पष्ट छ । उक्त समयको इतिहासमा नाम आउने विभिन्न राजाहरूको भूमिका पनि प्रस्ट छैन । तसर्थ इतिहासको त्यो खण्डलाई इतिहासकारहरूले ‘डार्क पिरियड’ भन्ने गरेका छन् । इतिहासको यही डार्क पिरियडताका नै नेपाल संवत् शुरु भएको पाइन्छ । नेपाल संवत्को आरम्भदेखि नै नेपाली इतिहासको प्राचीनकाल समाप्त भई मध्यकाल शुरु भएको मानिन्छ । इतिहासको यस्तो अस्पष्ट समयमा नेपाल संवत् शुरु भएका कारणले यो कसले, किन चलायो भन्ने बारेमा धेरै अस्पष्टताहरू रहेको पाइन्छ । नेपाल संवत्को प्रारम्भ कसरी भयो भन्ने विषयमा विभिन्न विद्वानहरूले विभिन्नै प्रकारका तर्कहरू अघि सारेका छन् । ती सबै तर्कहरूले बाँकी अर्को तर्कहरूलाई खण्डन पनि गर्दछ । त्यसैले पनि नेपाल संवत्को आरम्भबारे स्पष्ट विचार बनेको देखिँदैन । नेपाल संवत् कसरी शुरु भयो भन्ने विषयमा विभिन्न विद्वानहरूले दिएको विचार निम्न प्रकार रहेको छ ः
सिल्भाँ लेभी ः फ्रेन्च अन्वेषक सिल्भाँ लेभीले नेपाल देश तिब्बतको अधीनबाट मुक्त भएको खुसियालीमा नेपाल संवत् चलाएको भनी लेख्नुभएको छ । तर, उहाँले भन्नुभए जस्तो नेपाल कहिल्यै पनि तिब्बतको अधीनमा गएको पाइँदैन । सातौं शताब्दीतिर नेपाल र तिब्बतको सम्बन्ध अझ राम्रो थियो । राजा नरेन्द्रदेव, अंशुवर्माले तिब्बतसँग अझ प्रगाढ सम्बन्ध बनाएका कारण तिब्बतबाट नेपाल मुक्त भएको भन्ने प्रश्नै उठ्दैन ।
कर्णेल कर्कप्याट्रिक ः कर्कप्याट्रिकले सिम्रौनगढका राजा नान्यदेवले नेपाल जितेको खुसियालीमा नेपाल संवत् चलाएको भन्ने विचार अघि सार्नुभएको छ । तर, नान्यदेवले सिम्रौनगढमा शासन गरेको मिति र नेपाल संवत् शुरु भएको मिति गणना गरी हेर्दा मिल्न आउँदैन । किनभने नेपाल संवत् विसं ९३६ मै शुरु भइसकेको थियो भने सिम्रौनगढमा नान्यदेव राजा भएको विसं ११५४ मा मात्रै हो । नेपाल संवत् शुरु भएको २ सय १८ वर्षपछि मात्रै नान्यदेव सिम्रौनगढको राजा भएको पाइन्छ । त्यस्तै नान्यदेवले नेपाल जितेका पनि थिएनन् ।
रमेशचन्द्र मजुमदार ः मजुमदारले शक संवत् ८ सय १ पुगे पछि ८ सयलाई छाडेर १ मात्र लेखी नेपाल संवत् शुरु गरेको भनी तर्क राख्नुभएको छ । तर, शक संवत् ८ सय पुगेपछि त्यसलाई त्याग्नुका कारण के हो भन्ने स्पष्ट छैन । साथै शक संवत् समाप्त भएको १८ महिनापछि मात्रै नेपाल संवत् शुरु भएको छ । त्यसैले यो अनुमान पनि तर्कसंगत् देखिँदैन ।
बाबुराम आचार्य ः इतिहास शिरोमणि बाबुराम आचार्यले लिच्छविकाल अन्त्य भई मल्ल वंशको शासन शुरु भएको खुसियालीमा नेपाल संवत् चलाएको अनुमान गर्नुभएको छ । लिच्छवि वंशलाई हटाई राघवदेवले ठकुरी मल्ल वंशको शासन शुरु गरेको भन्ने उहाँको दाबी छ । तर, इतिहासमा नेपाल संवत् शुरु हुनुअघि नै राघवदेवको नाम भेटिएको छ । साथै त्यति बेला कुनै वंश परिवर्तनको घटना भयो भन्ने कुरा गोपाल राजवंशावलीमा पनि केही लेखिएको पाइँदैन ।
डा. डिल्लीरमण रेग्मी ः मुलुकमा देखापरेको ठूलो महामारी अन्त्य भएको खुसियालीमा नेपाल संवत् चलाएको अनुमान डा. डिल्लीरमण रेग्मीले गर्नुभएको छ । महामारी अन्त्य गर्न पशुपतिमा ठूलो पूजा गर्दा महामारी अन्त्य भएको र त्यसैको खुसियालीमा यो संवत् चलाएको उहाँको अनुमान छ ।
धनवज्र वज्राचार्य ः धनवज्र वज्राचार्यका अनुसार त्यति बेला पशुपतिनाथलाई विभिन्न वस्तुहरू अर्पण गरी पूजाआजा गर्ने चलन थियो । राजा राघवदेवले नयाँ संवत् नै पशुपतिलाई अर्पण गरी नेपाल संवत् चलाएको विचार अघि सार्नुभएको छ ।
लुसियानो पेटेक ः पशुपतिनाथलाई नै लक्षित गरी नेपाल संवत् आरम्भ गरिएको भन्ने तर्कलाई फ्रेन्च अन्वेषक लुसियानो पेटेकले पनि स्वीकार गर्नुभएको छ ।
डानियल राइट ः बेलायती अन्वेषक डानियल राइटले चाहिँ तत्कालीन नेपालमा ऋणमा डुबेका सम्पूर्ण जनतालाई ऋणमुक्त गरी शंखधर साख्वालले नेपाल संवत् चलाएको तर्क अघि सार्नुभएको छ । सम्पूर्ण ऋणी जनताको ऋण तिरी नयाँ युग शुरु भएको प्रतीकस्वरूप नेपाल संवत् चलाएको उहाँको दाबी छ (डा.पेशल दाहाल (विसं २०५७) ।
यसरी नेपाल संवत्को आरम्भ बारे विभिन्न विद्वान्हरूले विभिन्न तर्क अघि सार्नुभएको छ । तर, तीमध्ये कुनै पनि तर्कलाई प्रमाणित गर्ने कुनै ऐतिहासिक विश्वसनीय सामग्री भने अहिलेसम्म भेटिएको छैन । त्यसैले नेपाल संवत् किन र कसरी शुरु भयो भन्ने विषयमा अहिलेसम्म पनि विद्वान्हरू बीच एउटै मत हुन सकेको छैन ।
शंखधर साख्वाः र नेपाल संवत्
नेपाल संवत्को आरम्भबारे विद्वानहरूबीच मतभेद कायमै रहे पनि अधिकांश सर्वसाधारण जनता, अझ खास गरी काठमाडौं उपत्यकाका स्थानीय नेवार समुदायले भने शंखधर साख्वाःकै कारण नेपाल संवत् प्रचलनमा आएको हो भन्ने विचारलाई मान्यता दिएको पाइन्छ । यही मतलाई आधार मानी उपत्यकाका स्थानीय नेवाः समुदायले नेपाल संवत्लाई मान्नुका साथसाथै यसको प्रवर्तक शंखधर साख्वाःलाई पनि उतिकै सम्मान गरेको पाइन्छ ।
शंखधर साख्वाःले नेपाल संवत् प्रचलनमा ल्याएको भन्ने अवधारणा सबैभन्दा पहिले सार्वजनिक गर्ने अन्वेषक डानियल राइट हुन् । १९औं शताब्दीमा राइटले सम्पादन गरेको वंशावलीमा नेपाल संवत् र शंखधर साख्वाः बारे उल्लेख गरिएको छ । यो संवत्लाई कतै ‘संवत्’ मात्रै लेखिएको छ भने कतै ‘नेपाल संवत्’, कतै ‘साख्वाल संवत्’, कतै ‘शंखधर संवत्’, कतै ‘शंखधरकृत नेपाल संवत्’ लेखिएको पाइएको छ ।
‘शंखधर साख्वाः’ भन्ने शब्दमा ‘शंखधर’ व्यक्तिको नाम हो भने ‘साख्वाः’ उनको थर भनिएको छ । तर, यो थरभन्दा पनि उसले गर्ने पेसा हो कि भन्ने अनुमान गरिएको छ । ‘साख्वाः’ शब्द ‘साख्वाल’ बाट बनेको हो । नेपालभाषामा कुनै पनि शब्दको पछाडि यदि ‘ल’ आएको छ भने बोल्दा त्यसलाई उच्चारण नगरीकन त्यसको ठाउँमा विसर्ग (ः) राख्ने चलन छ । जस्तो ‘पसल’को पसः, ‘झ्याल’को ‘झ्याः’ आदि ।
‘साख्वाल’ शब्द पनि ‘साखवाल’ शब्दबाट बनेको मानिन्छ । पहिले पहिले तिब्बतसँग व्यापार गर्ने नेवार व्यवसायीहरूको घरमा पैसाको कारोवार गर्ने एउटा छुट्टै कोठा हुने गर्दथ्यो जसलाई ‘साख कोठा’ भनिन्छ । डा. कमलप्रकाश मल्लका अनुसार त्यस्तो कारोवार गर्ने मालिकलाई ‘साखवाल’ भनिन्छ । भक्तपुरमा ‘साखछेँ’ भन्ने ठाउँ अझै पनि छ जहाँ त्यस्तो ‘साख कोठा’ रहेको थियो (कमलप्रसाद मल्ल, इस्वी संवत् २०१५) । यसबाट शंखधर साख्वाः एक व्यापारी थिए भन्ने अर्थ निकाल्न सकिन्छ । उनले नेपाल संवत् चलाएको प्रशंगसँग जोडिएको कथाअनुसार उनलाई सुनको कारोवार गर्ने व्यापारी भन्न सकिन्छ । शंंखधर साख्वाःको मूर्ति पशुपति मन्दिरको प्राङ्गणमा रहेको छ । उनी नेपाल संवत् १० मा निधन भएको भन्नेबाहेक अर्को धेरै कुरा थाहा पाउन सकिएको छैन ।
नेपाल संवत् नेपालमा १ हजार २४ वर्षसम्म सरकारी संवत्कै रूपमा निरन्तर चलिरह्यो । नेपालमा यति लामो अवधिसम्म चलेको संवत् योभबाहेक अर्को पाइँदैन । सन् ८७९ मा शुरु भएको यो संवत्लाई सन् १९०३ मा तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबराले विस्थापित गरी त्यसको ठाउँमा विक्रम संवत्लाई सरकारी मान्यताप्राप्त संवत्का रूपमा चलाए ।
नेपाल संवत्लाई विस्थापित गर्न उनले त्यति बेला एउटै मात्र कारण देखाएका थिए– ‘यस संवत्अनुसार प्रत्येक तीन वर्षमा एकपटक १३ महिना आउँछ, कर्मचारीलाई हरेक तीन वर्षमा १ महिनाको तलब बढी खुवाउनुपर्ने हुन्छ, त्यसैले यो व्यावहारिक छैन ।’ तर, यथार्थमा खास कारण भने यो होइन । राणाहरू आफूलाई ‘सूर्यवंशी’ राजपूत खानदानका परिवार भनी देखाउन चाहन्थे । विक्रम संवत् चलाउने राजा विक्रमादित्य सूर्यवंशी थिए । त्यसैले विक्रम संवत् चलाउन उनले नेपाल संवत्लाई विस्थापित गरेका थिए (कमलप्रसाद मल्ल, २०१५)।
चन्द्र शमशेरले नेपाल संवत्लाई सरकारी प्रयोगबाट हटाए पनि नेपाली समाजको धार्मिक–सांस्कृतिक प्रयोगमा भने यो कायमै रहिरह्यो । अहिले पनि काठमाडौं उपत्यकाका अधिकांश जात्रापर्वहरू यही संवत्अनुसार मनाउने गरिन्छ । मानिसका जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कारहरू यही संवत्अनुसार सम्पन्न गरिन्छ । उपत्यकाका नेवार जातिको सामाजिक जीवनको एक अभिन्न अंग बनिसकेका कारण उनीहरूले यो संवत्लाई छोड्न सकेनन् । यसप्रतिको आफ्नो आस्था प्रकट गर्न उनीहरूले हरेक वर्ष नेपाल संवत्को नयाँ वर्षलाई धुमधामपूर्वक मनाउँदै आइरहेका छन् ।
आजभन्दा ४० वर्ष अघिसम्म नेपाल संवत्को नयाँ वर्ष मनाउने कार्य ‘च्वसापासा’ नामक संस्थाले कहिले कसैको घरको कोठामा त कहिले कुनै स्कुलको कक्षाकोठामा मनाउने गर्दै आइरहेको थियो । अहिले यो कार्य विस्तार हुँदै उपत्यकाभित्र मात्र होइन देशैभरि आयोजना हुँदै आइरहेको छ । गएको केही दशकदेखि अमेरिका, बेलायत, जापान, क्यानाडा, अस्ट्रेलियालगायत युरोपका पनि धेरै देशमा नेपाल संवत्को नयाँ वर्षको उपलक्ष्यमा विशेष समारोहहरू आयोजना गर्दै आइरहेको छ । यसलाई सजिलोका लागि ‘भिंतुना कार्यक्रम’ पनि भन्ने गरिएको पाइन्छ ।
नेपाल संवत्को नयाँ वर्षको उपलक्ष्यमा गरिने यस्तो भिंतुना कार्यक्रम अर्थात् शुभकामना कार्यक्रमलाई पञ्चायतकालमा पञ्चायती व्यवस्था विरोधीहरूको कार्यक्रम भन्ने गरिन्थ्यो र धेरैपटक त्यस्ता कार्यक्रमहरूमा प्रहरी हस्तक्षेप भई आयोजकहरूलाई समात्ने कामसमेत गरिएको थियो । नेपाल संवत्् ११०९ अर्थात् विसं २०४६ सालको सफल जनआन्दोलनपछि भने नेपालभाषा मंकाः खलःको आयोजनामा वसन्तपुरमा गरिने सांस्कृतिक ¥याली र भिन्तुना कार्यक्रममा पहिलोपटक तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नै प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यसपछि भने नयाँ वर्षको हरेक कार्यक्रममा प्रधानमन्त्री नै प्रमुख अतिथि बन्ने क्रम निरन्तर चल्न थाल्यो ।
नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् विसं २०५६ मंसिर २ गते नेपाल संवत्का प्रणेता शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । त्यसपश्चात् शंखधरको चित्र अंकित हुलाक टिकट प्रकाशित गर्ने, ठाउँ–ठाउँमा शंखधरको मूर्ति स्थापना गर्ने, केही स्थानीय ठाउँलाई शंखधरको नामबाट नामकरण गर्ने आदि जस्ता कार्यहरू पनि अघि बढ्न थालेको पाइन्छ । नेपाल संवत् ११२८ अर्थात् विसं २०६५ मा नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गर्ने घोषणा तत्कालीन सरकारले गरेको थियो ।
म्हपूजासँग नेपाल संवत्को सम्बन्ध ः
नेपाल संवत्को नयाँ वर्ष नेवार समुदायले अत्यन्त श्रद्धापूर्वक मनाउँदै आइरहेको एउटा मौलिक पर्व म्हपूजाका दिन पर्दछ । नेपालमा म्हपूजा नेवारबाहेक अन्य समुदायले मनाएको पाइँदैन । आफैंले आफ्नो शरीरलाई पूजा गर्ने यो चलन नेवार समुदायको अत्यन्त विशिष्ट संस्कृति हो । म्हपूजाकै दिन नेपाल संवत्को नयाँ वर्ष पनि मनाइन्छ । नेवाः समुदायमा म्हपूजाको आफ्नै महत्व छ । नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा म्हपूजा मनाइने होइन, बरु म्हपूजाका दिन नेपाल संवत्को नयाँ वर्ष पार्न ल्याइएको हो । नेपाल संवत् शुरु हुनुभन्दा अघिदेखि नै उपत्यकाका आम जनसमुदायको सामाजिक जीवनमा म्हपूजाले एक नयाँ वर्षकै रूप ग्रहण गरेको पाइन्छ । उपत्यकावासीको जीवन प्रक्रिया, यहाँको पर्यावरण र उनीहरूले मान्ने संस्कृतिका दृष्टिकोणले पनि म्हपूजा एक प्रकारको नयाँ वर्ष नै हो । नेपाल संवत्ले त्यसलाई गणना गर्न सजिलो पारिदिएको मात्रै हो ।
उपत्यकावासीको सामाजिक जीवन कृषि कर्ममा आधारित छ । जेठ–असार महिनामा यहाँ धानबाली लाग्ने गर्दछ । बाली लगाउने बेला यहाँ कुनै पनि प्रकारको चाडपर्व मनाउने गरिँदैन । कृषि कार्य सकिए लगत्तै पहिलो पर्वका रूपमा गथांमुगः मनाउने गरिन्छ । त्यसपछि नेवार समुदायले पानीसँग सम्बन्धित पर्वहरू मनाउन शुरु गर्छ । जस्तो नागपञ्चमि, ब्यांजा नके (भ्यागुतोलाई भात खुवाउने), गुंला पर्व, इन्द्रजात्रा आदि । त्यसपछि धान काट्ने काम हुन्छ । धान काटेर नयाँ फसल भित्र्याएको उपलक्ष्यमा ठूलो चाड दशैं मनाइन्छ । दशैं सकिएपछि आफूले भित्र्याएको धान कसैलाई तिर्नु छ भने तिर्ने, कसैसँग लिनु छ भने लिने, अर्थात् लेन–देनको कार्य टुंग्याइन्छ । सबै हिसाबकिताब गरिसकेपछि अन्तिममा जो बाँकी रहन्छ त्यसलाई उक्त वर्षको कुल नाफाका रूपमा लिइन्छ । यो वर्ष आफूले गरेको उक्त आम्दानी जम्मै लक्ष्मीपूजाका दिन देवी लक्ष्मीलाई चढाएर पूजा गरिन्छ । अतः लक्ष्मीपूजा भनेको आफ्नो यो वर्षको आय–व्यय क्लोजिङ गर्ने दिन पनि हो । आफूले कमाएको आम्दानी क्षय नहोस्, यो अझ बढोस् भन्ने कामना गरी धनकी देवी लक्ष्मीलाई त्यसरी आफ्नो कुल नाफा चढाउने गरिन्छ ।
नेवाः समाजका केही व्यापारीहरू आज पनि लक्ष्मीपूजाकै दिन आफ्नो आर्थिक वर्ष ‘क्लोजिङ’ गर्ने काम गर्दछन् । राज्यको आर्थिक वर्ष क्लोजिङ हुने दिनचाहिँ असार मसान्त हो ।
चालू वर्षको सम्पूर्ण आय–व्यय समापन गरिसकेपछि अब अर्को वर्षमा पनि पुनः त्यसरी नै कमाइ हुने गरी काम गर्न सकियोस् र वर्षभरि नै आफ्नो शरीरलाई कुनै पनि प्रकारको रोगव्याधी जस्ता दुःखकष्टले आक्रमण गर्न नसकोस् भनेर आफ्नो शरीरलाई रिचार्ज गर्ने उद्देश्यले गरिने पूजा नै म्हपूजा हो । अतः म्हपूजा सांस्कृतिकरूपले मनाइने नयाँ वर्ष नै हो ।
शंखधर र सुनको कथा ः
शंखधर साख्वाःले नेपाल संवत् चलाउन लगाएको भन्ने मान्यताको पछाडि एउटा कथा पनि जोडिएको छ । एक रात उनले प्राप्त गरेको बालुवा भोलिपल्ट सुनमा परिणत भएको तर त्यही सुन बेचेर उनले ऋणमा डुबेका स्थानीय जनताको ऋण तिरी नयाँ वर्ष शुरु गरेको भन्ने उक्त कथाको सार हो । शंखधरले प्राप्त गरेको बालुवा सुनमा परिणत भएको कथा पूर्ण सत्य नभए पनि आंशिक सत्य भने हुनुपर्दछ । किनभने इतिहासमा प्रामाणिक अभिलेखहरूको अभावमा किम्वदन्तीहरूलाई नै आंशिक सत्यका रूपमा लिने गरिन्छ । शंखधर साख्वाःले प्राप्त गरेको बालुवा एकाएक सुनमा परिणत भएको नभई उनी खोलाको बालुवामा सुनको खोजी गर्ने व्यापारी हुनुपर्दछ । शंखधर साख्वाःको घरनजिकै नै विष्णुमती खोलामा लखुतीर्थ पर्दछ । यो लखुतीर्थको खास नाम ‘लुँखु तीर्थ’ हुनुपर्दछ भन्ने पनि अनुमान गरिएको छ । नेपालभाषामा ‘लुँ’ को अर्थ सुन र ‘खु’ को अर्थ खोला हुन्छ । यो खोलाको बालुवामा सुन पाइने भएकाले यसलाई ‘लुँखु’ भनिएको हुनुपर्दछ ।
त्यसरी खोलाको वालुवामा सुन खोज्ने काम गरी कमाएको पैसाबाट नै शंखधर साख्वाःले त्यति बेला ऋणमा परेका गरिब जनताको ऋण तिरिदिएको हुनुपर्दछ (डा. दिनेशचन्द्र रेग्मी (ने.सं. ११२७) । नेपालमा कुन संवत् प्रचलनमा ल्याउनु उचित हुन्छ ? नेपाल संवत् व शंखधर साख्वाः. काठमाडौं ः नेपालभाषा मंकाः खलः न्हूदँ समारोह समिति, पृ. १२५) ।
खोलाको बालुवामा सुन भेटिनु अहिले पनि सामान्य कुरो हो । संसारका कतिपय देशको ग्रामीण क्षेत्रमा अहिले पनि खोलाको बालुवामा सुन खोज्ने काम भइरहेको हामी पाउँछौं । यस्तो कार्यलाई अहिले ‘गोल्ड हन्टिङ’ भन्ने गरिएको छ ।
सुन बालुवामा परिणत भएको कथामा वर्णित लखुतीर्थ त्यस ठाउँलाई भनिन्छ जहाँ विष्णुमती नदीमा स्वर्णावती नामको अर्को खोला मिसिन आउँछ । स्वर्णावती भन्ने यो नदी स्वयम्भूतिरबाट बगेर आउँथ्यो । स्वयम्भू महाचैत्यलाई प्राकृतिक पोखरीका रूपमा लिने गरिन्छ । उक्त पोखरीबाट बगेर आउने पानीमा सुनका कण भेटिएको कुरा त्यहाँ गरिएको वैज्ञानिक अनुसन्धानले पनि पुष्टि गरिसकेको छ । खानी विभागले विसं २०३० सालमा त्यहाँ गरिएको अनुसन्धानबाट यो निष्कर्ष निकालेको थियो (राजनलाल जोशी (विसं २०७५) । लखुतीर्थ व उगु तीर्थ दुने सुलाच्वंगु पक्ष. नेवाः प्रज्ञा. वर्ष १, अंक १. कीर्तिपुर ः नेपालभाषा एकेदमि । पृ. ९९) ।
नेपाल संवत्प्रतिको आस्था ः
नेपाल संवत्को आरम्भबारे विभिन्न विद्वान्हरूले विचारहरू प्रकट गरिरहेको भए तापनि यो संवत्सँग शंखधर साख्वाःलाई जोडेर मान्नेहरूको बाहुल्यता अहिले बढिरहेको छ । अहिले नेपाल संवत्को नयाँ वर्ष मनाउने क्रममा विभिन्न स्थानमा शंखधर साख्वाःको मूर्ति वा तस्वीरलाई अगाडि राखेर सम्मान प्रकट गर्ने चलन आएको छ । नेपाल संवत् सम्पूर्ण नेपालकै संवत् भए पनि यसप्रति खास गरी नेपाल उपत्यकाका स्थानीय जनताको आस्था अत्यधिक रहेको पाइन्छ । खास गरी नेपाल उपत्यकाका स्थानीय नेवाः समुदाय यो संवत्प्रति बढी आकर्षित भएका कारणले कसै–कसैले यो संवत्लाई ‘नेवारी संवत्’ समेत भनेको पनि पाइन्छ । यसरी यो संवत्प्रति स्थानीय नेवाः समुदायको यति धेरै आस्था हुनुका कारण भने विविध छन् । ती मध्ये केही यस्ता छन् ः
शंखधरको कथाले दिने परोपकारी भावना ः शंखधर साख्वाःले आफूले कमाएको पैसाले ऋणमा डुबेका तत्कालीन नेपाली नागरिकको ऋण तिरी उनीहरूलाई ऋणमुक्त तुल्याएका थिए । कथामा पाइने यो परोपकारी भावनाले मानिसलाई आफू मात्र होइन अरूको पनि सहयोग गर्नुपर्छ भनेर प्रेरित गरिरहने भएकाले यसलाई सबैले आत्मसात गरेको पाइन्छ ।
सामाजिक जीवनका संस्कार र संस्कृतिहरूको सम्बन्ध ः नेपाल उपत्यकाका नेवाः समुदाय संस्कृति र संस्कारका धनी हुन् । उनीहरूले मान्ने सबैजसो संस्कृतिहरू नेपाल संवत्कै तिथिमा आधारित छन् । मानिसको जन्मदेखि मृत्युसम्म गर्नुपर्ने सबै संस्कारहरू पनि नेपाल संवत्मै आधारित छन् । त्यसैले यो संवत्प्रति उनीहरूको आस्था जागेको मान्न सकिन्छ ।
संवत्को नाम ‘नेपाल’ रहनु ः संसारमा यही मात्र एउटा यस्तो संवत् हुनुपर्छ जसको नाम देशको नामबाट राखिएको छ । यसले नागरिकलाई राष्ट्रवादी भावना जागृत गर्न मद्दत गर्दछ ।
पञ्चायतविरोधी मोर्चा ः विसं २०४६ सालसम्म कायम रहेको निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध त्यति बेला आन्दोलन गर्न गाह्रो थियो । त्यस्तो अवस्थामा नेपाल संवत्को नयाँ वर्षको उपलक्ष्यमा निकालिने ‘भिंतुना जुलुस’ पञ्चायत व्यवस्थाविरोधी शक्ति प्रदर्शन गर्ने माध्यम बनेको थियो । पञ्चायती व्यवस्थाले भाषिक जातीय अधिकार नदिएका कारण नेवाःलगायत देशका सबै जनजातिहरू उक्त राजनीतिक व्यवस्थाका विरोधी थिए ।
नेवाः आन्दोलनको प्रतीक ः नेवाः जातिले राज्यद्वारा गरिएको जातीय दमनका विरुद्ध आवाज उठाउने एउटा प्रतिकात्मक दिवसका रूपमा भिंतुना आन्दोलनलाई लिएको थियो । त्यसैले नेपाल संवत्को नयाँ वर्ष कार्यक्रममा नेवाः अग्रजहरूले आफूमाथि राज्यले गरेका थिचोमिचोको चर्चा गर्दथे । यही नेपाल संवत्को भिंतुना कार्यक्रमबाटै नेवाः आन्दोलन उपत्यका बाहिर पनि प्रसारित भएको थियो ।
म्हपूजामा नयाँ वर्ष ः नेवाः जातिले मनाउने अत्यन्त मौलिक पर्व हो म्हपूजा । यो पर्व उसै पनि नेवाः जातिको सांस्कृतिक नयाँ वर्ष नै हो । त्यही दिनलाई नेपाल संवत्को पनि नयाँ वर्ष मानेको हुनाले त्यसप्रति नेवाः जातिको भावनात्मक सम्बन्ध पनि गाँसिन गएको देखिन्छ ।
यी आदि कारणले गर्दा नेपाल संवत् विभिन्न आरोह–अवरोहहरू पार गर्दै गएको ११४० वर्षदेखि अहिलेसम्म पनि नेपाली समाज र नेपाली जनजीवनको एउटा अभिन्न अंगका रूपमा स्थापित हुँदै आइरहेको छ । नेपाल संवत्लाई राज्यको प्रयोगबाट हटाए पनि नेपाली जनताको मुटुबाट भने हटाउन सकेको छैन ।
प्रतिक्रिया