ललितपर महानगरमा अपागंता र वातावरणमैत्री फुटपाथ निर्माण

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकासँग सहकार्य गरेर एसियन कंक्रिटो प्रा।लिले हरिहरभवनमा अन्तराष्ट्रियस्तरका अपागंता र वातावरणमन्त्री फुटपाथ निर्माण गरेको छ । उक्त प्रालिले नमूना फुटपाथको रुपमा निर्माण गरेको उक्त फुटपाथ शुक्रवार आयोजित एक कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे ।

९० मिटरको उक्त फुटपाथ उद्घाटन अघि एसियन कंक्रिटोले महानगरलाई हस्तान्तरण गरेको थियो । फुटपाथ निर्माण महानगरको वडा नं ३ मा भएको हो । महानगरप्रमुख महर्जनले अन्यत्रको भन्दा यो फुटपाथ आकर्षण भएको बताउँदै गुणस्तरीय सामग्री प्रयोग गरेर निर्माण भएको बताए । ललितपुर महानगरले अब बनाउने फुटपाथमा यस्तै सामग्री प्रयोग गर्ने स्पष्ट पारे ।

उनले अन्तराष्ट्रिय मापदण्डको यस्तो फुटपाथ बनाउने ललितपुर महानगरपालिका पहिलो भएको बताए । फुटपाथ स्मार्ट सिटीको महत्वपूर्ण तत्व भएको बताउँदै गुणस्तरीय सामग्री प्रयोग गरेर फुटपाथ निर्माण गरेकोमा कम्पनीलाई उनले धन्यवाद दिए । प्रालिका प्रबन्ध निर्देशक मनोज केडियाले कम्पनीको सामाजिक दायित्व अन्तर्गत यो फुटपाथ निशुल्क निर्माण गरेको जानकारी दिए ।

फुटपाथमा प्रयोग गरिने सामग्रीहरु युरोपिन मापदण्डको भएको बताए । ललितपुर महानगरपालिकासँग सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । यो फुटपाथ निर्माण गर्दा १९ लाख ५८ हजार ८ सय ७८ रुपैयाँ लागेको उनले बताए ।

कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको उपस्थिति थियो । त्यसैगरी महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र महानगरका प्रवक्ता राजु महर्जन लगायत वडा नं १२का वडा अध्यक्ष नारायणलाल अवाले, १६का अध्यक्ष निर्मलरत्न शाक्य लगायतको उपस्थिति थियो ।