शेयर बजार २०७३ सालकै स्थितिमा: १७ सयको बिन्दु नाघेको बजारको मूल्य २३ खर्ब


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन वर्ष अघिको स्थितिमा पुगेको छ । मंगलबार नेप्से करिब २९ अंकको वृद्धिसँगै २०७३ चैत २९ गतेको स्थितिमा पुगेको हो । त्यतिखेर नेप्से १७०९ दशमलव ८२ बिन्दुमा नेप्से रहेको थियो । बुधबार २८ दशमलव ८९ अंकले नेप्से वृद्धि हुँदा १७०७ दशमलव ६८ बिन्दुमा नेप्से पुगेको छ ।
बुधबार कुल १९५ वटा कम्पनीको १ करोड २५ लाख २३ हजारभन्दा बढी कित्ता शेयर ४ अर्ब ९ करोड ९६ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । परिसूचकसँगै कारोबार रकम पनि विगतको भन्दा बढी नै हो । नेप्सेमा भएको उच्च वृद्धिपछि शेयर बजारको समग्र पुँजीकरण पनि पौने २३ खर्ब बराबर अर्थात २२ खर्ब ८८ अर्ब रुपियाँ भएको छ ।
बैंकको ब्याजदर सस्तो हुनुका साथै बजारमा देखिएका केही सकारात्मक संकेतका कारण पुँजी बजारमा त्यसको सकारात्मक प्रभाव परेको विश्लेषकहरूको भनाइ छ । साथै अर्थमन्त्री परिवर्तन भएकाले लगानीकर्ताको मनोबलसमेत बढेको स्थितिमा अर्थतन्त्रमा देखिएको सुधारका पहलजस्ता कारणले शेयर बजार बढ्दै गएको छ । लामो समयसम्म १६ सयको बिन्दुमा अड्किएको नेप्सेले बुधबार १७ सयको बिन्दु पार गरेको हुँदा नेप्सले उकालो गति लिने र १८ सयको बिन्दुमा पुग्ने आंकलन गरिएको छ । साथै सूचीकृत शेयर संख्या बढेको हुँदा पनि समग्र बजारको पुँजीकरण उच्च भएको छ ।
यस दिन कारोबार भएका १२ समूहमध्ये वित्त समूहको मात्रै परिसूचक लागेको छ भने बाँकी समूहको परिसूचक उकालो लागेको छ । वित्त समूह २ दशमलव ८६ अंकले घट्दा बैंकिङ समूह १४ दशमलव ८८, व्यापार समूह १४९ दशमलव ८३, होटल समूह ४७ दशमलव ३५, विकास बैंक समूह २ दशमलव ९२, जलविद्युत् समूह ४ दशमलव ३९, निर्जीवन बीमा समूह ३३९ दशमलव ३२, उत्पादन समूह २००ं दशमलव २१, अन्य समूह ४९ दशमलव ६८, लघुवित्त समूह ७ दशमलव१४, जीवन बीमा समूह ७ दशमलव शून्य ३ र सामूहिक लगानी कोष समूह शून्य दशमलव ५५ अंकले उकालो लागेको छ ।
कारोबारका रकम आधारमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । सो कम्पनीको मात्रै २५ करोड ९० लाख रुपियाँभन्दा बढीको शेयर किनेच भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १८ करोड ८६ लाख, एनआईसी एसिया बैंकको १५ करोड ६५ लाख, नागरिक लगानी कोषको १५ करोड ४५ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड १५ लाख, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड १० लाख, शिवम् सिमेन्टको १४ करोड ८० लाख, अपि पावर कम्पनीको १२ करोड १५ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

 बैंकको ब्याजदर सस्तो हुनुका साथै बजारमा देखिएका केही सकारात्मक संकेतका कारण पुँजी बजारमा त्यसको सकारात्मक प्रभाव परेको विश्लेषकहरूको भनाइ छ । साथै अर्थमन्त्री परिवर्तन भएकाले लगानीकर्ताको मनोबलसमेत बढेको स्थितिमा अर्थतन्त्रमा देखिएको सुधारका पहलजस्ता कारणले शेयर बजार बढ्दै गएको छ ।

त्यस्तै साल्ट टे«डिङ कर्पोरेसनको १०, लक्ष्मी इक्विटी फन्ड ९ दशमलव ९९, नागरिक लगानी कोषको ९दशमलव ९८, विशाल बजार कम्पनीको ९ दशमलव ९८, एनआईसी एसिया ग्रोथ फन्डको ९ दशमलव ९० प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । तर, आईसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, निर्धन उत्थान लघुवित्त, निर्धन उत्थान लघुवित्त, हिमालयन पावर पार्टनरलगायतका कम्पनीका लगानीकर्ताले भने अरु कम्पनीका लगानीकर्ताले भन्दा बढी गुमाएका छन् । समग्रमा १०१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । नेप्से लगातार उकालो लागेसँगै सेन्सेटिभ परिसूचक ५ दशमलव २३ अंकले बढेर ३३५ दशमलव ६२ बिन्दुमा पुगेको छ ।