झापामा अक्सिजन बैंक स्थापनाको तयारी

0
Shares

झापा । कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि जिल्लामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ ।
विर्तामोडमा स्थापना गरिने बैंकबाट घरमै उपचार गरिरहेका कोभिड १९ का सङ्क्रमितलाई उपचारमा सहज सेवा दिने उद्देश्यले अभियानले अक्सिजन बैंकको स्थापना गर्ने भएको हो ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको कारण अस्पतालमा बिरामीले बेड नपाउँदा श्वासप्रश्वासमा समस्या हुने भएपछि विरामीलाई घरमै सेवा दिन अक्सिजन बैंकको स्थापनाको तयारी गरेको बताउनुभयो । उहाँले १५ दिनभित्रमा रु। १२ लाखको लगानीमा दुई सय अक्सिजनका सिलिन्डरको भण्डारण गरेर बैंक शुरु गर्ने बताउनुभयो ।

उहाँले कोरोना सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका आर्थिक रुपमा सामान्य, असहाय र विपन्न परिवारलाई निःशुल्क सिलिण्डर उपलब्ध गराउने भए पनि अन्यलाई भने सशुल्क सेवा दिइने बताउनुभयो । संयोजक गरीले कोभिड सूचना तथा सहायता केन्द्रको समेत स्थापना गरेर कोरोना सङ्क्रमितलाई निःशुल्क परामर्श दिइने जानकारी दिनुभयो ।

अभियानले यसअघि झापाको कनकाईमा पिसिआर प्रयोगशाला स्थापना गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । रु। एक करोड २ लाख ५६ हजारको लागतमा अत्याधुनिक प्रयोगशाला स्थापना गरेको अभियानले प्लाज्मा बैंक स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोडलाई रु।११ लाख रुपैयाँ प्रदान गरेको थियो ।

पालिया खोलामा पक्की पुल

मेचीनगर नगरपालिका–७ मा रहेको पालिया नदीमा पक्की पुल बन्न थालेपछि स्थानीय हर्षित बनेका छन् । प्रदेश नम्बर १ सरकारको रु। तीन करोड ८४ लाख १४ हजार ३८७ लागतमा पुल बन्न शुरु भएको हो । सो पुल निर्माणको ठेक्का हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवाले लिएको छ । सेवासँग वि।सं। २०७८ असार २० गते निर्माण सक्ने गरी गत बैशाख २४ गते सम्झौता भएको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

उहाँका अनुसार ८२ फिट लम्बाई र २८ फिट चौडाई रहने पुलको दुबै तर्फ ४/४ फिट लम्बाईको पैदल यात्री हिड्ने संरचना निर्माण गरिने छ । पक्की पुल निर्माण भएपछि मेचीनगर—७ स्थित सत्तिघट्टा–गोमनसरी–इटाभट्टालाई जोड्नेछ । पुल सञ्चालनमा आए लगत्तै मेचीनगर र चन्द्रगढी विमास्थलको दूरी १४ किलोमिटरमात्र हुने उहाँले बताउनुभयो ।