गाउँगाउँ उज्यालो बनाउने लहर

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरका बिकट क्षेत्रहरुलाई पछिल्लो समय स्थानीय निकाय र निर्वाचित जनप्रतिनिधिहरुद्वारा बिजुलीको पहुँचमा पु-याउने लहर नै शुरु भएको छ । पश्चिम मकवानपुरको मनहरी गाउ“पालिका वडा नम्बर–६, रुपाचुलीमा मंगलबारदेखि झलमल्ल बिजुली बलेको हो । गाउँपालिकाको सबभन्दा विकट रुपाचुलीमा फलामे पोल गाडेर बिजुली बालिएको हो ।

मानिसका लागि आबश्यक सामान्य पूर्वाधार खानेपानी, सडक, बिजुलीको समस्या भोग्दै आएका नागरिकका लागि मकवानपुर क्षेत्र नम्बर–२ का सांसद विरोध खतिवडाको पहलमा चुहार भञ्ज्याङबाट बालभञ्ज्याङसम्म करिब ३६ लाख लागतमा तार तानिएपछि गाउँ उज्यालो बनेको हो ।

बिजुलीको स्वीच अन गरेर सांसद खतिवडाले मंगलबार बिजुली उद्घाटन गर्नुभयो । सामान्य आबश्यकतासमेत पूरा नभएको गाउ“मा चुनाबमा गरिएका प्रतिवद्धता पूरा गरिएको भन्दै उहाँले उक्त क्षेत्रमा विद्युत्, सडक र खानेपानीको पहल भइरहेको विश्वास दिलाउनुभयो ।
उक्त गाउँसँगै अर्को बिकट राक्सिराङ गाउँपालिकामा उज्यालो कार्यक्रमका लागि पनि विद्युत् विस्तार भइरहेको सांसद खतिवडाले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण मकवानपुरको बजेट ८ करोड छ । त्यसको कयौं गुणा बढी विद्युत् बजेट संघीय सांसद् खतिवडाले ग्रामीण भेगमा पार्नुभएको छ । कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरीको बिकट रुपाचुलीमा विकासको मूल फुटेको भन्दै उक्त क्षेत्रमा नेकपाले चुनाबका बेलामा गरेका प्रतिवद्धताअनुसार काम भइरहेको र अन्य प्रतिवद्धता पनि पूरा गरेरै छाडिने बताउनुभयो ।

पहिलोपटक बस

भीमफेदी गाउ“पालिका वडा–८, इपापञ्चकन्यामा पहिलोपटक यात्रुबाहक बस पुगेपछि खुशीयाली छाएको छ । महादेवटारदेखि कान्तिलोकपथ, ठिंगन हुँदै हेटौंडासम्म यात्रुबाहक बस सञ्चालनमा आएको हो । अन्य मोटरबाटो भए पनि यात्रुबाहक बस भने चल्ने गरेको थिएन । समाजसेवी श्रीराम कठायतको व्यक्तिगत पहल तथा स्थानीयको चासोलाई मध्यनजर गर्दै सुविधास्वरुप बस सञ्चालन गरिएको हो ।

वडा–२ का शंकरबहादुर लुङ्बाले पहिलोपटक गाउँमा गाडी पुगेपछि निकै हर्षित भएको महसुस गर्नुभयो । भारी बोकेर दुई घण्टा हिँड्दै आउनुभएका लुङ्वा अब यातायात सञ्चालनमा आएपछि गाडीमै सामान ल्याउन आतुर हुनुहुन्छ ।सानु स्यांतान पनि गाडी सञ्चालनमा आएपछि तरकारी बिक्रीमा सहज हुने आश राख्नुहुन्छ ।

स्थानीयले आफ्नो बारीमा उत्पादन भएका तरकारी र खाद्यान्नलगायत सामानहरु ओसारपसार सहज हुने महादेवटार–कान्तिलोकपथ–हेटांैंडा बस सञ्चालन समिति अध्यक्ष कठायतले जानकारी गराउनुभयो । बस सञ्चालनपछि ऐतिहासिक, धार्मिक तीर्थस्थल नटारम्मेश्वर महादेव मन्दिर दर्शन गर्न सहज हुने अध्यक्ष कठायतले विश्वास गर्नुभयो ।

उक्त ठाउँबाट हेटौंडा बजारसम्म आइपुग्न दैनिक विहान ६ बजे छुट्ने र हेटौंडाको कान्तिराजपथ ओम भवनबाट २ बजे गाउँका लागि छ्ट्ने अध्यक्ष कठायतले जानकारी गराउनुभयो । हाल इपापञ्कन्यासम्म पुग्ने दुई वटा बस सञ्चालनमा रहेको उहाँको भनाइ छ । स्थानीयको आबश्यकताअनुसार महादेवटारबाट काठमाडौंसम्म एक वटा बस राख्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।