२५३ औं सिन्धुलीगढी विजयोत्सव मनाईयो

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

२५३ औं सिन्धुलीगढी विजयोत्सव मनाईएको छ । सोमवार कमलामाई नगरपालिकाको आयोजनामा ऐतिहासिकस्थल सिन्धुलीगढीमा सलामी र झण्डोत्तोलन गरेर सिन्धुलीगढी विजयोत्सव मनाईएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले झण्डोत्तोलन र नेपाली सेनाले सलामी दिएर विजयोत्सव मनाईएको हो । झण्डोत्तोलन गर्दै नगरप्रमुख खत्रीले स्थानिय सरकार आएपछि सिन्धुलीगढीको संक्षरण र पुन निर्माणको कामले तिव्रता लिएको बताउनुभयो ।

देशकै नमुनाको रुपमा सिन्धुलीगढीमा हाल युद्ध संग्रालय निर्माणको काम भईरहेको नगरप्रमुख खत्रीले बताउनुभयो ।‘ निर्माणाधिन युद्ध संग्रालयको काम पुष मसान्त सम्मका सम्पन्न गर्ने योजनामा छौं । रानीदरबार भन्दा पर्तिर बागमती प्रदेश सरकारले हिलस्टेशन बनाउदै छ । यसको टेण्डर भएर सम्झौता भईसकेको छ । रानी दरबारको पनि दशैं अगाडी नै टेण्डर निस्कि सकेको छ ।’उहाँले भन्नुभयो ।

तत्कालीन गोर्खाली सेनाका नेतृत्व गर्ने बंशु गुरुङ, बंशराज पाण्डे,श्रीएसओ शर्मा, विरभद्र उपाध्याय र तत्कालिन अँग्रेज फौजका दुई जना गरी ६ जनाको स्तम्भ निर्माण गरिने नगरप्रमुख खत्रीले जनाउनुभयो । स्तम्भ निर्माणका लागि कमलामाई नगरपालिकाले टेण्डर निकालि सकेको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो । समादि पार्क निर्माणका लागि डिपिआर तयार भईरहेको नगरप्रमुख खत्रीको भनाई छ ।

सिन्धुलीगढीको पुनः निर्माण र संरक्षण गरेर गढीको ईतिहासलाई बजाउन नगरपालिका लागि परेको नगरप्रमुख खत्रीले बताउनुभयो । कोरोना भाईरस(कोभिड १९) का कारण यस बर्ष नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु नबोलाई तथा ठुलो भिडभाड नगरी विजयोत्सव मनाईएको छ ।

विगतमा भव्यरूपमा मनाइने विजयोत्सवमा यस वर्ष भने कसैलाई पनि औपचारिक निमन्त्रणा नगरी विजयोत्सव मनाईएको छ । तत्कालीन गोर्खाली सेनाले अँग्रेज फौजलाई सिन्धुलीगढीमा पराजित गरेको स्मरण स्वरुप प्रत्येक वर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजयोत्सव मनाउने परम्परा रहिआएको छ ।

तत्कालीन गोर्खाली सेनाले अँग्रेज फौजलाई सिन्धुलीमा पराजित गरेको २५३ वर्ष पूरा भएको छ । सिन्धुलीगढीमा आक्रमण गरेर काठमाडौं प्रवेश गर्न लागेको अँग्रेज फौजलाई तत्कालीन गोर्खाली सेनाले १८२४ साल असोज १५ गते पौवागढीमा पराजित गरेका थिए ।
वि.स. २०६७ सालमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सिन्धुलीगढी विजय उत्सव मनाउन शुरु गरेको थियो ।

सिन्धुलीगढीको इतिहास लोप हुन थालेको भन्दै महासंघले प्रचारप्रसारका लागि उत्सव मनाउन शुरु गरेकोे थियो । त्यसपछिका वर्षमा तत्कालीन जिल्ला विकास समितिको आयोजनामा विजय दिवस मनाउन थालिएको थियो । तर स्थानीय तहको निर्वाचनपछि कमलामाई नगरपालिकाले विजयोत्सवको आयोजना गर्दै आएको छ ।

२५३ औं सिन्धुलीगढी विजयोत्सव तत्कालीन गोर्खाली सेनाको नेतृत्व गर्ने बंशु गुरुङका सन्तानहरु लमजुङदेखि सिन्धुलीगढीमा आईका थिए । विजयोत्सव कार्यक्रममा कमलामाई नगरपालिकाका उप्रमुख मन्जु देवकोटा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्ड, सुरक्षा कर्मी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।