भाञ्जाको ‘उपहार’ ले मामा मक्ख

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मामाघर नेपाल मकवानपुर, सडक बालबालिका व्यबस्थापनमा सक्रिय अब्बल दर्जाको सामाजिक संस्था हो । स्थानीय दान, चन्दा, उपहार र सहयोगमा हेटौंडाका सामाजिक भावना भएका युवाले सञ्चालन गरिरहेको मामाघर नेपाल बिना ठूला र नियमित दाता पनि काम गर्न सकिन्छ भन्ने उदाहरण पनि हो ।

हेटौंडा र आसपास बेवारिस, अनाथ, सडकबालबालिका देख्ने बित्तिकै जोकोहीले मामाघर नेपालमा खबर गरिहाल्छन् । मामाघरका मामा अर्पण पराजुली पेशाले प्राध्यापक हुन् तर १० वर्षदेखि हरेक सा“झ केही खाना र कपडा बोकेर हेटौंडाका गल्लीगल्ली पुग्छन् उनी । र, कोही सहयोगको पर्खाइमा रहेका भेटे आबश्यक सहयोग गर्छन् ।

उनै अर्पणको नेतृत्वमा सञ्चालित मामाघर नेपालले हालसम्म १ सय ८३ जना सडक बालबालिकाको उद्धार गरेको छ भने त्यसमध्ये १ सय ३१ जनाको परिवार तथा आफन्तमा उनीहरुलाई पुनस्र्थापना गरिसकेको छ । हेटौंडाका समाजसेवी सिद्धीलाल श्रेष्ठले हेटौंडा–११ मा दानमा दिएको जग्गामा मामाघर नेपालको सुविधासम्पन्न २१ कोठे भवन निर्माण भएको छ ।

मामाघर नेपालले उद्धार गरेका बालबालिकालाई आवासीय सुविधा, औपचारिक शिक्षा, नृत्य, खेलकुद र आयआर्जनमूलक सीपहरु सिक्ने व्यबस्था मिलाइएको छ । दान, चन्दामा चलाउनुपर्ने मामाघरमा चाडपर्वको जोहो मिलाउन गाह्रो पर्नु स्वभाविक नै हो । यस वर्षको दशैंमा नया“ लुगा, च्युरा, मासु जोहो गर्दै गर्दा ९ वर्षदेखि मामाघर नेपाललाई आश्रय बनाएका १७ वर्षीय भाञ्जा सुमन अछामीले अचानक मामालाई उपहार दिए ।

‘यो हजुरलाई दशैंको उपहार’ भन्दै सर्ट दिएपछि मामा त एकछिन् अक्क न बक्क बने । मामाले ‘के हो बाबु यो’ भन्न नभ्याउँदै अछामीले भने–हाम्रा लागि यति गर्नुभयो । यो त एउटा सर्ट हो । पख्नु न अझै केके दिन्छु ।

मामाले भावुक बन्दै भाञ्जाको उपहारको सर्ट समाते । सडकबालकका रुपमा मामाघरले ९ वर्षअघि उद्धार गरेका अछामी २ वर्षदेखि हेटौंडामा फ्रिज, फाइन, मोटर आदि बनाउने सीप सिकेर काम गर्दैछन् । सीप, सँस्कार, संयोग र आत्मीयताको मिश्रण उपहार सर्टले आफूलाई धेरै भावुक बनाएको पराजुलीले बताए ।