सल्यानको किविले बजार नपाउँदा किसान समस्यामा

0
Shares

न्युज अफ नेपाल,सल्यान ।

सल्यानमा उत्पादन भएको किविले बजार नपाउदा किसान समस्यामा परेका छन । कोरोना महामारीका कारण बाहिरबाट व्यापारी नआएपछि छत्रश्वरी गाउँपालिका गुराँसेका झण्डै २ दर्जन व्यावसायिक किसान समस्यामा परेका हुन । व्यापारी नआउँदा उनीहरुले बारीको किवी टिप्नै सकेका छैनन ।

गुराँसेका तेजबहादुर योगीले ३२ रोपनी जग्गामा ६ सय ५० बोट किवी लगाउनु भएको छ ।गत वर्ष किवी बिक्रीबाटै २० लाख रुपैयाँ आम्दानी गर्नुभएका उहाँले यो वर्ष किवी बिक्रि गर्न सक्नु भएको छैन । योगिका अनुसार गुराँसेमा मात्रै झन्डै ५० लाख रुपैयाँको किवी बारीमै थन्किएको छ ।

गत वर्ष कात्तिक पहिलो साता बाट नै किवी बिक्री हुने गरेकोमा यस बर्ष कोही व्यापारी नआउदा बारीमै थन्किएको किसान चित्रबहादुर केसीले बताउनु भयो । अवको केही दिनमा किवी बिक्री नभए परिवार पाल्न गाह्रो हुने उहाँले बताउनु भयो । कोरोना महामारीका कारण व्यापारी खोज्दै बाहिर जान नसकिएको उहाँको गुनासो छ ।

४ सयमध्ये २ सय ५० बोटमा फलेको किवी बेचेर गत वर्ष करिब ४ लाख रुपैयाँ कमाएका डिल्लीबहादुर खत्रीले किवी टिप्नै आँट नगरेको बतानु भयो । उहाँका अनुसार गतवर्ष स्थानीय बजारमा न्यूनतम २ सय रुपैयाँमा किवी बिक्री भएको थियो । उत्पादित किवी कुहिएर जाने जोखिम बढेको भन्दै उहाँले सरकारी निकायसँग बजारिकरणको माग गर्नुभयो ।

कृषि विकास कार्यालयले गुराँसेलाई किवीको पकेट क्षेत्र घोषणा गरेको छ । गाउँका २ दर्जन किसान परिवार गत वर्षसम्म किवीबाटै आत्मनिर्भर थिए । कोल्डस्टोर नहुदा बारीको किवी टिप्न नसकेको किसानको गुनासो छ । सल्यानमा २०५८ सालबाट व्यावसायिक किवीखेती थालिएको हो । जिल्लामा करिब १ हजार रोपनी जग्गामा ४ हजार ५ सय किवीका बिरुवा लगाइएको कार्यालयले जनाएको छ । सल्यान बाट बार्षिक १६ मेट्रिकटन किवि जिल्ला बाहिर जाने गरेको छ ।