कोरोना संक्रमितको पहिचान गर्न म्याग्दीमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित घरदैलो अभियान सञ्चालन

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीमा कोभिड–१९ संक्रमणको जोखिम समुदायस्तरमा फैलिएपछि संक्रमितको पहिचान गर्न घरदैलो अभियान सञ्चालन गरिएको छ । सदरमुकाम बेनीबजार क्षेत्रमा पर्ने बेनी नगरपालिका ७ र ८ नम्बर वडामा रहेका प्रत्येकका घर घरमा पुगेर सर्वसाधारणको अवस्था बुझ्न र संक्रमितको पहिचान गर्न आइतबारदेखि अभियान थालिएको नगरपालिकाले जनाएको छ ।

पछिल्लोपटक कोभिड–१९ को संक्रमण तीव्र रुपमा फैलिएपछि बेनी नगरपालिकाले कोरोनाको अवस्था बुझ्न स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सहभागितामा ‘कम्युनिटी टेष्ट स्क्रिनिङ क्याम्प’सहित घरदैलो सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । अभियानका क्रममा घरका सबै सदस्यहरुको ज्वरो नाप्ने, लक्षण देखिएका संक्रमितहरु भए नभएको पहिचान गर्ने र कोभिड–१९ न्युनीकरण गर्न जनस्वास्थ्यका सबै मापदण्डको पूर्णरुपमा पालना गराउनका लागि सपथग्रहण गराउने जस्ता गतिविधिहरु सञ्चालन गरिएको छ ।

कोरोना संक्रमणको जोखिम बढेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा कोरोना संक्रमित खोजी अभियान सुरु गरिएको जनाइएको छ । बेनी नगरपालिका, डिसिसिएमसी र स्वास्थ्य कार्यालयसहितको टोलीले घर घरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामूलक सन्देश प्रवाह गर्न अभियान थालिएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले अभियानका क्रममा विभिन्न कारणले संक्रमितहरु स्वास्थ्यकर्मीको पहुँचभन्दा बाहिर रहेको हुन सक्ने भएकाले जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले उनीहरुको अवस्थाबारे जानकारी समेत लिइने जानकारी दिनुभयो । घरदैलो अभियानले कोरोना संक्रमित भए नभएको पहिचान गर्नुका साथै उपचारमा समेत सहयोग पुग्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

म्याग्दीमा हालसम्म कुल १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु हुनुका साथै ७५ जना निको भएर घर फर्किसकेका छन् । हाल ३९ जना सक्रिय संक्रमितहरु आईशोलेसनमा रहेको छन्भने जिल्लामा बेनीबजार क्षेत्र सबैभन्दा उच्च जोखिममा परेको छ भने तीनवटा स्थानीय तहले लकडाउन गरेका छन् ।

आइतबारदेखि सुरु गरिएको घरदैलो कार्यक्रम क्रमशः नगरपालिकाको सबै वडामा सञ्चालन गरिने बेनी नगरपालिकाले जनाएको छ । अभियानको पहिलो दिन बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा रहेको सदरमुकाम क्षेत्रमा नगर प्रमुख श्रेष्ठको नेतृत्वमा घरदैलो गरिएको छ । सदरमुकाम बेनीबजार क्षेत्रमा सक्रिय संक्रमितहरु १९ जना पुगेका छन् । गएको १४ गतेदेखि ७ दिनका लागि कडा रुपमा गरिएको लकडाउन शनिबारदेखि पुनःः ७ दिन थप गरी २८ गतेसम्म पु¥याइएको छ ।

लकडाउनको अनुगमनसहित आइतबारदेखि घरदैलोमा पुगेर सर्वसाधारणहरुको अवस्था बुझ्ने, लक्षणहरु देखिएमा निगरानी बढाउनुका साथै जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना गराउन कडाई गर्नका लागि अभियान थालिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।