रहेनन् ‘नख्खु जेल ब्रेकर’

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुरका पूर्वसांसद वीरबहादुर लामाको ७० वर्ष उमेरमा काठमाडौंको पाटन अस्पतालमा निधन भएको छ । आईसीयुमा उपचाररत् लामाको आइतबार विहान करिब ४ बजे निधन भएको हो । तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य उहाँ दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित हुनुहुनथ्यो । उहाँका दुवै मृगौलाले काम गर्न छाडेका थिए । उपचारमा आर्थिक समस्या परे पनि सहयोग जुट्न सकेन ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले वीरबहादुर २०३३ सालको ‘नख्खु जेल ब्रेकर’ का रुपमा रहेको बताउनुभयो । नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दीमध्ये एक हुनुहुन्थ्यो वीरबहादुर । लामा २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिको सभापति हुनुभएको थियो ।

२०३३ मा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना कम्युनिष्ट नेताहरु नख्खु जेलबाट सुरुङ खनेर भाग्न सफल भएका थिए । २०६२/०६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद सदस्य रहनुभएका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनाबमा पराजित हुनुभएको थियो ।

लामा मकवानपुरको इन्द्रसरोवर गाउ“पालिका–४ फाखेल निवासी हुन् । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र–३ बाट उहाँ निर्वाचित हुनुभएको थियो । उहाँ २०६८ सालमा तत्कालीन नेकपा एमाले छाडेर संघीय समाजवादी पार्टीमा लाग्नुभएको थियो । जातीय पहिचानसहित राज्य निर्माणका विषयमा तत्कालीन नेकपा एमालेभित्र तीव्र विवाद भएपछि अशोक राईको नेतृत्वमा लामासहित नेताले तत्कालीन नेकपा एमाले परित्याग गरेका थिए ।

तर, उहाँ पछिल्लो समय राजनीतिमा सक्रिय हुनुभएको थिएन । उहाँ पञ्चायती व्यबस्था विरोधी तथा राजनीतिक, सामाजिक परिवर्तनको आन्दोलनका योद्धा हुनुहुन्थ्यो । लामाले हेटौंडा–भीमफेदी–फाखेल—फर्पिङ टोटो मार्गको सडक निर्माणका लागि ठूलो पहल गरेर निर्माण गरेपछि हाल उक्त सडक निकै व्यस्त हुने गरेको छ ।

लामा जिविस मकवानपुर सभापति भएपछि उहाँकै पहलमा काठमाडौंलाई तराईसँग जोड्न मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो । मदन भण्डारी मार्गका रुपमा चिनिने उक्त मार्गबाट हाल दैनिक सयौं सवारी आवतजावत गर्ने गर्छन् । उहाँका पत्नी, २ छोरा र ३ छोरी हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । पूर्वसांसद लामाको असामयिक निधनप्रति पूर्वसांसद मञ्चले पनि गहिरो दुःख व्यक्त गरेको छ । मञ्च सचिव नरबहादुर हमालले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा लामाको निधनप्रति दुःख व्यक्त गरिएको छ । मञ्चका आजीवन सदस्यसमेत रहनुभएका लामाको निधनप्रति दुःख व्यक्त गर्दै मञ्चले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । मञ्चले लामाको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।