पर्वतमा यस वर्ष धान उत्पादन सात प्रतिशत बढ्ने

0
Shares

न्युज अफ नेपाल,पर्वत ।

पर्वतमा गएको वर्ष ह्वात्तै घटेको धान उत्पादन यस वर्ष बढ्ने भएको छ । यस वर्ष गएको जेठ अन्तिम सातादेखिनै निरन्तर वर्षा परेकाले ७ प्रतिशत भन्दा बढिले उत्पादन बृद्धि हुने भएको हो । रोप्ने बेला र रोपिसकेपछि निरन्तर वर्षा हुनु, हाबा हुरी, रोग किरा तथा असिना नपर्नु जस्ता अनुकुल समय परेकाले यस वर्ष धान उत्पादन बढ्ने भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

गत वर्ष भने रोप्ने बेला लामो समय परेको खडेरी, बाला लाग्ने बेला कालोपोकेको प्रभाव र थन्क्याउने बेला आएको असिना पानीका कारण पर्वतमा दश प्रतिशतले धान उत्पादन घटेको थियो । यस वर्ष धानखेतीका लागि दशककै राम्रो मौसम परेको केन्द्रले जनाएको छ । पर्वतमा मुख्य बालीको रुपमा चिनिने धान बालीको उत्पादन बढेपछि चामल आयात समेत घट्ने भएको छ ।

पर्वतमा ९ हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अघिल्लो वर्ष २६ हजार ९० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष बढेर २७ हजार ९ सय १६ मेट्रिक टन भन्दा बढि उत्पादन हुने अनुमान गरिएको छ । आर्थिक वर्ष ०७६/७७ मा भने भने प्रतिकुल मौसमका कारण घटेर साढे २३ हजार मेट्रिक टनको हाराहारीमा उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो ।

पर्वतको जमिनमा औषतमा प्रति हेक्टर २ दशमलब ९१ प्रतिशत मेट्रिक टन धान फल्ने गरेको छ । जिल्लामा स्थानीय छेमरोङ, जेठोबुढो, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायतका धान खेती हुँदै आएको छ । यसवर्ष कटुवाचौपारी, कुर्घा, पाङ, विहादी, र पैंयु क्षेत्रमा उत्पादन बढ्ने भएको छ ।

बाह्रैमास सिंचाई हुने क्षेत्रमा भन्दा वर्षाको भरमा खेतीपाती हुने ठाउँमा यसवर्ष उत्पादन बढेको कृषकहरुले बताएका छन् । यस वर्ष सोचेभन्दा पनि बढि धान फल्यो पर्वतको ठुलीपोखरीका कृषक दिनेश सापकोटाले भन्नुभयोे–‘गत वर्ष ३ मुरी भएको ठाउँमा अहिले १० मुरी उत्पादन भयो ।’