व्यवसाय धरासायी भएको भन्दै डडेल्धुरामा आन्दोलनको तयारी

0
Shares

राम धामी,डडेल्धुरा ।

कोरोना महामारीका कारण व्यवसाय धरासायी भएको भन्दै डडेल्धुराका उद्योगी, व्यवसायीहरु आन्दोलनको तयारीमा छन् ।
कोरोना महामारीका कारण मुलुकमा लकडाउन जारी भएदेखि हालसम्म व्यवसाय नराम्रेरी प्रभावित भएको उद्योगी व्यवसायीहरुको गुनासो छ ।

व्यवसाय धरासायी भएका कारण विखलबन्दमा परेका उद्योगी व्यवसायीहरुले विपद्का बेला सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनको तयारी गरिरहेको जनाएका छन् ।डडेल्धुरा उद्योग बाणिज्य संघले बिहीबार आयोजना गरेको जिल्लास्थित बैंकका शाखा प्रबन्धकहरुसँगको बैठकमा सहभागी उद्योगी व्यवसायीहरुले व्यवसाय धरापमा परेकाले बैंकको ऋण किस्ता तिर्न नसकिने बताए ।

सदरमुकाममा रहेका बिभिन्न बैंकका प्रबन्धकहरुसँग व्यवसाय धरापमा परेका बेला किस्ता रकम असुल्न कडाई गरिरहेको गुनासोगर्दै बैंठकमा सहभागी उद्योगी व्यवसायीहरुले विद्यमान विपद्को अबस्थामा समस्या बुझीदिन आग्रह गरे ।

कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसाय क्षेत्रका समस्याहरुका बारेमा जिल्लास्थित सबै बैंकका शाखा प्रबन्धकहरुलाई अवगत गराउने उदेश्यले डडेल्धुरा उद्योग बाणिज्य संघले बैठक आयोजना गरेको हो । बैठकमा सहभागी उग्रतारा डडेल्धुरा यातायात प्रा.ली.का सञ्चालक सन्तोषकुमार खडकाले यातायात क्षेत्रको समस्या नबुझेर सरकारले कोरोना प्रभावित व्यवसायको सुचीकरणगर्दा मध्यम किसिमको जोखिममा यातायात व्यवसाय राखेकोमा भ्रत्सना गरे ।

उनले सरकारबिरुद्ध कानूनी लडाई र आन्दोलनमा जानुको विकल्प नभएको बताए । ‘लामो समय यातायात सेवा अवरुद्ध हुँदा यातायातका साधनहरु पार्किङ गर्नुप¥यो,’ उनले भने,‘गाडीको किस्ता बुझाउन बैंकबाट दबाब आउछ, तर किस्ता तिर्ने रकम यातायात व्यवसायीसँग नभएकोले सवारी साधनहरुको चाबी बैंकलाई बुझाउनवाहेक कुनै उपाय छैन ।’ उनले हाल सवारी साधन सञ्चालनमा आएको भए पनि महामारीको सन्त्रासका कारण यात्रु पाउन निकै समस्या भईरहेको बताए ।

कार्यक्रममा बोल्दै डडेल्धुरा उद्योग बाणिज्य संघका पुर्व उपाध्यक्ष राजेन्द्र पनेरुले धरासायी बन्दै गएको व्यवसाय सञ्चालन गर्न नसकिने अबस्था सिर्जना भएको गुनासो गरे । ‘लकडाउनका बेला कतिपय व्यवसायीले मनग्गे मुनाफा आर्जन पनि गरेका होलान, तर अधिकांस व्यवसायीहरुले नराम्रेरी नोक्सानी व्यहोरेका छन ।’ उनले भने ।

सरकारले बैंक कर्जामा व्याज समेत छुट नदिएकोमा यँहाका उद्योगी व्यवसायीहरुले रोष ब्यक्त गरेका छन् । कतिपय उद्योगी व्यवसायीहरुले विपद्का बेला पनि व्यवसायीका समस्या नबुझ्ने सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । कार्यक्रममा सहभागी डडेल्धुरा सदरमुकामस्थित बिभिन्न बैंकका प्रबन्धकहरुले भने राज्यको नीति अनुसार बैंक चल्ने दाबीगर्दै नीतिगत समस्याका बारेमा उद्योगी व्यवसायीहरुले सरकारसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन् ।

बैठकमा सहभागी राष्ट्रिय बाणिज्य बैंक डडेल्धुरा शाखाका प्रबन्धक सिताराम जोशीले बैंकको नीति अनुसार आफुहरु चल्नुपर्ने बाध्यता रहेको बताए । उनले महामारीको संकटका बेला ऋण असुली गर्न कडाई नगरिएको बताउदैं नीतिगत समस्याको समाधानका लागि उद्योगी व्यवसायीहरुले सरकार समक्ष माग राख्नुपर्ने धारणा ब्यक्त गरे । डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लास्थित बैंकका प्रबन्धकहरु, उद्योगी व्यवसायी र पत्रकारहरुको सहभागिता थियो ।