स्याङ्जामा एकै दिनमा १ सय ११ जना पक्राउ

0
Shares

अमृत अर्याल,स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादीहरुको खोजी कार्य तीब्र पारेको छ । प्रहरीले बुधबार एकैदिन १ सय ११ जना फरार प्रतिवादीहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँले जिल्ला प्रहरी कार्यालय मातहत युनिटबाट खटिएको प्रहरी टोलीले सम्मानित अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका बिभिन्न मुद्दा जस्तै कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागुऔषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुबिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका बिभिन्न मुद्धामा बिभिन समयमा फैसला भई लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको बताउनुभयो ।

पक्राउ परेकामध्ये ९७ पुरुष र १४ महिला गरी १ सय ११ जना छन् । फरार प्रतिवादीहरुलाई पक्राउ गरी सबै जनालाई स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याई सम्मानित अदालतबाट भएको फैसलालाई कडाईकासाथ कार्यान्वयनमा ल्याउन र कैद तथा जरिवाना तोकिएको व्यक्तिहरु समाजमा रहदा शान्ती सुरक्षामा समेत चुनौती आउने र अपराध गरे पश्चात पनि बिना सजाय समाजमा रहदा अपराध गर्न प्रोत्साहित हुने हुंदा र दशै तिहारको बेलामा अत्याधिक मानिसको आवागमन हुने हुँदा बिशेष योजना बनाई लामो समय देखि निग्रानी गरी फरार प्रतिवादीहरुलाई जिल्ला भित्रका बिभिन्न स्थान र बाहिर जिल्लाबाट समेत समन्वय गरी पक्राउ गर्न सफल भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा २०५९ साल देखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका जिल्ला स्याङ्जा थुमपोखरा घर भई लामो समय देखि लुकिछिपि नवलपरासी सुनवलमा बस्दै आएका तेजलाल डुम्रे, जवरजस्ती करणी मुद्दामा लामो समय देखि फरार रहेका बालसिंह गुरुङ, जवरजस्ती करणी उद्योगमा संलग्न ६ जना, हाडनाता करणीमा संलग्न ३ जना, हातहतियार खरखजना मुद्दाका ३ जना, लागुऔषध मुद्दाका २ जना लगायत विभिन्न जघन्य मुद्दामा संलग्न भई विगत लामो समय देखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।