२४ घण्टामा ३० कोरोना संक्रमितको मृत्यु

0
Shares

भगवती तिमल्सिना, काठमाडौं

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको चाप बढेसँग संक्रमण भएर मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यति ठूलो संख्यामा कोरोना संक्रमणबाट एकैदिन मृत्यु भएको अहिलेसम्मकै उच्च संख्या हो । बुधबारसम्म नेपालमा कोरोना सक्रण पुष्टि भएर या मृत्युपर्यन्त कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ३४ जना पुगिसकेको छ ।

नेपाल सरकारले दशैंअघिबाट कोरोना संक्रमणको उपचार, मृत्युपछिको व्यवस्थापन गर्ने विधिलाई परिमार्जन गरेको छ । यति बेला कुनै व्यक्ति कोरोना संक्रमण भयो भने सरकारले सशुल्क परीक्षण गर्ने र होम क्वारेन्टाइनमा मृत्यु भएमा स्थानीय निकायलाई जानकारी गराई परिवारले नै व्यवस्थापन गर्नुपर्ने नियम ल्याएको छ । यो नियम लागूभएपछि कोरोना संक्रमितको दर झन् बढ्दै छ ।

यस अघिसम्म विशेष गरी तालिम प्राप्त नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने हुँदा घरपरिवारका एक दुई जनाबाहेक समुदायका व्यक्ति शव व्यवस्थापनका लागि अर्थात् मलामी जाँदैनथे । तर सरकारले नयाँ नियम ल्याएसँगै परिवार र समाजका व्यक्तिहरु मलामी जाने र घुलमिल गर्ने कारणले धेरै व्यक्तिमा संक्रमण बढ्ने सम्भावना रहेको स्वास्थ्य विशेषज्ञहरुको ठम्याइ छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार स्वास्थ्य मन्त्रालय र सरकारले केही व्यापारीहरुको मिलेमतोमा जनतालाई थप संक्रमित बनाउने र कोरोनाका नाममा कमाउने धन्दाको मतियार भएको आरोप लगाएका छन् । सरकारले आफ्ना नागरिकको स्वास्थ्य सेवाभन्दा कमिसनलाई प्राथमिकतामा राखी प्रस्तावना अघि सार्ने स्वास्थ्य मन्त्रालयका केही निजी अस्पताल, व्यापारीसँग तालमेल मिलाउने कर्मचारीको बहकाउमा जनता मार्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको ठम्याइ छ ।

जनस्वास्थ्य संविधानमा नै व्यवस्था भएको विषयमा सरकारले घरिघरि आफ्नै तरिकाले सञ्चालनमा ल्याउनु गलत भएको समेत अधिकारीहरुको ठम्याइ छ । यता सरकार भने कोभिड उपचारमा प्रत्यक्ष सहभागी, उच्च पदाधिकारी, मन्त्री, नेताबाहेकलाई निःशुल्क स्वास्थ्य उपचार नदिने अडानमा पुगेको छ ।

बुधबार सार्वजनिक गरिएको रिपोर्टअनुसार ३ हजार ३ सय ९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । नेपालमा परीक्षण भई कोरोना प्रमाणित हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ । योसँगै ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमित अस्पताल, होम आइसोलेसनमा छन् भने १ हजार ३ सय ५ जना सम्भावित कोरोनाका व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।

यता कोरोनाको लक्षण मिलेका तर परीक्षण नगर्नेको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । नाम, पेसा, समुदायमा परिचित व्यक्तिहरुसमेत कोरोना संक्रमण परीक्षण गर्दा पैसा खर्च हुनुका साथै समाजबाट समेत अपहेलित हुनुपर्ने र दैनिक कामकाज बन्द गरी घरमै बस्नुपर्ने डरले कोरोना परीक्षण नै नगरी खुलारुपमा माक्ससमेत नलगाई काममा हिँड्नुले कोरोना संक्रमण अझ भयावह हुने अनुमान गर्न गाह्रो नपर्ने काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन डा. राजेन्द्र कोजू बताउनुहुन्छ ।

अहिले जति पनि कोरोना संक्रमित छन् उनीहरुलाई भेन्टिलेटरमा राखेर बचाउन सक्ने सम्भावना अत्यन्तै न्यून छ । त्यसैले भेन्टिलेटरभन्दा पहिला कोरोना संक्रमित बिरामीको अक्सिजनको मात्रा नापेर अक्सिजनको कमी छ भने तत्काल अक्सिजन दिने व्यवास्था गर्नुपर्छ । भेन्टिलेटरले मानिसलाई निस्क्रिय बनाउँछ । कोरोना संक्रमणमा बिरामी स्वयंको शरीरले रोगसँग लडेर श्वासप्रश्वासलाई सहज बनाउन सकेमात्र कोरोना जित्न सक्ने उहाँको ठम्याइ छ ।

उहाँ कोरोनाका बिरामीलाई भेन्टिलेटर होइन, अक्सिजनको खाँचो भएकाले सास फेर्न सजिलो बनाउँदै कोरोनासँग लड्ने क्षमताका विकास गर्नुपर्नेमा जोड दिनुहुन्छ । तर कोरोना संक्रमितले पहिला नै अस्पतालमा रकम डिपोजिट गरेपछि मात्र प्रवेश पाउने हुनाले सामान्य अवस्थाका बिरामीले न त परीक्षण सेवा लिन सक्छन् न त अस्पताल प्रवेश नै पाउँछन् ।