संक्रमण बढेपछि पर्वतका चार पालिकामा ‘लकडाउन’

0
Shares

दुर्गाप्रसाद शर्मा,पर्वत ।

कोभिड १९ को संक्रमण समुदायस्तरमा फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । पर्वतको कुश्मा नगरपालिका सहित जलजला, मोदी र महाशीला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । लक डाउन घोषणा गरिएका पालिकाहरुमा अत्याबश्यक बाहेकका पसल तथा पालिकाबाट दिइने सेवाहरु बन्द भएका छन् ।

दशैंपछि समुदायमा संक्रमण बढेपछि त्यसलाई रोक्न र संक्रमितको सम्पर्कमा धेरै ब्यक्ति पुग्न नसकुन भनेर लकडाउन गरिएको पालिकाहरुले जनाएका छन । कुश्मा नगरपालिकामा कात्तिक १५ गते देखिनै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमवार रातीदेखि लकडाउन जारी रहेको छ ।

त्यसैगरी पर्वतको जलजला गाउँपालिकामा मंगलवार रातीदेखि लागु हुने गरी कात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ । उता महाशीला गाउँपालिकाले पनि अर्को निर्णय नहुने बेला सम्म गाउँपालिकाले तोकेका अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र हिडडुल, सवारी साधन संचालन, वित्तिय संस्था तथा सहकारी संस्था र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

कुुश्मा नगरपालिकाले सदरमुकाम कुश्माबजार भित्रका वडा नं. ४, ५, ६ र ७ मा कात्तिक १५ गते रातीदेखि लकडाउन घोषणा गरेको छ । जसले गर्दा बजारका वित्तिय संस्था, वैक, सहकारी, शैक्षिक संस्था र उद्योग व्यावसाय ठप्प बनेका छन् । सरकारी कार्यालय खुलेपनि सेवाग्राहीको संख्या न्यून रहेको छ ।

सवारी साधनहरु भने बन्द गरिएको छैन । एकैदिन समुदायका ९ जनामा संक्रमण देखिएपछि कुश्माबजार लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । यता जलजलाको मंगलवार सम्पन्न गाउँपालिका स्तरीय संकट व्यवस्थापन समितिको वैठकले पालिकाका वडाहरुमा संक्रमण फैलन नदिनका लागि बुधवारदेखि लागु हुने गरी कात्तिक २५ गते सम्म लकडाउन घोषणा गरिएको छ ।

पछिल्लो समय छिमेकी जिल्ला र पालिकाहरुमा लकडाउन घोषणा भएपछि जलजला गाउँपालिकामा पनि थप संक्रमण नफैलियोस् भनेर लक डाउन गर्ने निर्णय भएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । यसैगरी मोदी गाउँपालिकामा पनि र कार्तिक १७ गते (सोमबार) राती देखि मोदी गाउँपालिकाको कार्यालय तथा मोदी गाउँपालिकाका सबै वडा कार्यालयहरुको अत्यावश्यक सेवा बाहेकको सेवा, शैक्षिक संघ संस्थाबाट प्रदान गरिने सेवाहरु, गाउँपालिका स्थित बैंक, वित्तीय संस्था एबम सहकारीबाट प्रदान गरिने सेवाहरु कार्तिक २२ गते राती १२ बजे सम्म बन्द गरिएको छ ।

जिल्लाको फलेवास नगरपालिका, विहादी र पैंयु गाउँपालिकामा भने कुनै बन्द तथा सेवा अवरुद्ध गरिएको छैन । छिमेकी जिल्ला म्याग्दीको वेनी नगरपालिका र बागलुङ नगरपालिका पनि उच्च जोखिममा परेपछि एक साताका लागि लक डाउन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार पर्वतमा हालसम्म संक्रमीतको संख्या १ सय ७७ जना पुगेका छन् भने १ सय ४३ जना निको भैसकेका छन् । २३ जना सक्रिय संक्रमित मध्ये ५ जनाको आइशोलेशनमा उपचार भैरहेको छ १८ जना होम आइसोलेसनमा रहेका छन ।