कालीगण्डकीमा जल यातायात पुनः शुरु

0
Shares

नेपाल समाचारपत्र,पर्वत ।

कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ ।कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात (स्टिमर सेवा) पुनः शुरु भएको हो ।

वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध बनेको थियो । बहाव घटेपछि अवरुद्ध स्टिमर पुनः शुरु भएको स्थानीय तिलक पराजुलीले जानकारी दिए । लामो समयसम्म वर्षा भएका कारण बहाव नघटेकाले विगतका वर्षमा भन्दा यस वर्ष ढिलो गरी स्टिमर सेवा शुरु भएको पराजुलीको भनाइ छ ।

सहजरुपमा सञ्चालन गर्न सकिने भएपछि कात्तिक पहिलो सातादेखि सञ्चालनमा ल्याइएको शालिग्राम–कालीगण्डकी जल यातायात प्रालिका सञ्चालक चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । गत असार पहिलो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि दुर्घटना हुन सक्ने भएकोले साउन, भदौ र असोजमा सेवा बन्द गरिएको सञ्चालक रानाले बताए ।

‘झण्डै चार महिनापछि सेवा शुरु भएको छ’ उहाँले भन्नुभयो ‘स्टिमर सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाका लागि सहज भएको छ ’ रानाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १९ वर्षदेखि जल यातायात स्टिमर सेवा सञ्चालनमा छ ।

स्टिमर सेवाबाट दक्षिण पर्वतको बिहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बाग्लुङका बासिन्दा लाभान्वित हुने गरेको बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो । स्टिमरमा केही बर्ष पहिले सम्म दैनिक एक हजारभन्दा बढीले जलाशयमा ओहोरदोहोर गर्दै आएकोमा कालीगण्डकी करिडोर र अन्य सडकको समेत पहुँच बढेपछि यात्रा गर्नेको सख्यामा केही कमि आएको छ ।

स्टिमरमा १५० जना सवार गर्न मिल्ने १० वटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुईवटा सञ्चालन भइरहेको व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीका कारण अहिले सामाजिक दूरी कायम गरी यात्रुहरु राख्ने गरिएको छ भने भाडादर समेत बढाइएको छ । अहिले दुईतर्फी यात्रा गर्दा ४०० निर्धारण गरिएको समितिले जनाएको छ ।