प्रदेशकै उत्कृष्ट सहकारी बन्दै ‘दिव्यतारा’

14
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

हेटौंडामा स्थापित दिव्यतारा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले ललितपुरमा पनि सेवा सुभारम्भ गरेको छ । सोमबार ललितपुरको धोबीघाटबाट सेवा सुरु गरिएको हो । बागमती प्रदेशलाई कार्यक्षेत्र बनाएर अघि बढेको सहकारीको सेवा विस्तार गर्ने क्रममा ललितपुरबाट पनि सेवा सुरु गरेको हो ।

सहकारीले गर्दै आएको काम र सहकारीको अवस्थाका विषयमा अध्यक्ष महालक्ष्मी डीना उपाध्यायले जानकारी गराउनुभएको थियो । ‘प्रदेशभर सेवा दिन स्वीकृति पाएका छौं,’ अध्यक्ष डीनाले बुधबारदेखि चितवनमा पनि कार्यालय सञ्चालन गरी सेवा दिँदैछौं,’ उहाँले भन्नुभयो । उहाँले दिव्यतारालाई प्रदेशकै नम्बर एक सहकारी बनाउने उद्धेश्य रहेको बताउनुभयो । बहुउद्धेश्यीय सहकारी भएकोले बहुआयामिक क्षेत्रमा काम गरिरहेको अध्यक्ष डीनाले बताउनुभयो ।

मकवानपुरमा १० हजार शेयर सदस्य रहेको दिव्यताराले सामुदायिक रेडियो, रेडियो मकवानपुर, तोरीको तेल उद्योग र उपभोक्ता सहकारी पसल सञ्चालन गरिरहेको छ भने गोलभेंडा प्रशोधन केन्द्र र साबुन उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । सहकारीको कारोबार साढे ३ अर्बको छ भने एक अर्ब पुँजी छ । सहकारी व्यबस्थापक रमेश कोइरालाले सहकारीको अबस्थाका विषयमा जानकारी गराएका थिए । ललितपुरमा सन्तोष खड्कालाई सहकारी संयोजक तोकिएको छ ।

संयोजक खड्काले दिव्यतारालाई मकवानपुरमा जस्तै सफल बनाउने लक्ष्य रहेको बताए । कार्यक्रममा सहकारी सचिव गणेश भेटवाल, कोषाध्यक्ष ईश्वर पण्डित, कार्यसमिति सदस्य एवम् रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, सल्लाहकार दिनेश उपाध्याय, रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीलगायतको आतिथ्यता थियो । २०५५ सालमा स्थापना भएको दिव्यताराले मकवानपुरलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको थियो । जिल्लामा ९ वटा शाखामार्फत् सेवा दिइँदै आएकोमा सेवा बिस्तार गरिएको हो ।