बिश्वकै अग्लो बन्जी र स्वीङ व्यवसायिक रुपमा सञ्चालनमा

0
Shares

दुर्गाप्रसाद शर्मा,पर्वत ।

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलमा बनेको बिश्वकै अग्लो बन्जी र स्वीङ ब्यबसायिक रुपमा सञ्चालनमा आएका छन । द क्लिफ प्रालिले निर्माण गरेको बन्जी, स्विङ र नेपालकै एक मात्र स्काइ साइक्लीङ तथा गुलेली शैलीको पिङ ब्यबसायिक रुपमा सञ्चालन आएका हुन ।

झण्डै २८ करोड रुपैयाको लगानीमा सहासिक खेलका परियोजना तयार भएका हुन । प्रालिले कार्तिक १५ गते देखि औपचारिक रुपमा सबै सहासिक पर्यटकीय खेलहरु सञ्चालनमा ल्याएपछि दैनिक सयौ आन्तरिक पर्यटकको घुँइचो लाग्न थालको छ ।

कालीगण्डकीको गहिरो खोँचमा ५ सय २५ मिटर लामो लठ्ठामा झुण्डिएको आकर्षक पुल २०७३ सालदेखी निर्माण थालिएको थियो । पुल, बञ्जी, स्काई साइक्लीङ संगै रिसोर्टको निर्माण कार्य ०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सन्चालनमा आउन सकेका थिएनन ।

‘हामीले नयाँ बर्षमा नै सबै सहासिक पर्यटकीय गन्तब्य पर्यटकका लागि खुल्ला गर्ने सोचमा थियौं ।’ कम्पनीका अध्यक्ष राजु कार्कीले भन्नुभयो ‘लक डाउनले रोकिएपनि अहिले सबै स्वास्थ्य मापदण्ड पुरा गरेर सेवा शुरु गरेका हौं।’प्रालिले कार्तिक १५ गते देखि औपचारिक रुपमा सबै सहासिक पर्यटकीय खेलहरु सञ्चालनमा ल्याएपछि दैनिक सयौ आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ ।

५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदीको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ ।

द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो र पुलमा बनेको बिश्वकै अग्लो बन्जिका रुपमा स्थापित भएको छ । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ। पोखरा देखी कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ। टेण्डम (जोडि) स्वीङको १२ हजार मुल्य निर्धारण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

बन्जीमा नेपालकै एक मात्र गुलेली शैलीको पिङ पनि निर्माण गरिएको छ । बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी बाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ ।

सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ। पिङ खेल्न प्रतीब्याक्ती २ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।यसैगरी स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ तयार गरिएको हो।

विश्वकै सबैभन्दा ऊचाईमा सन्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ। दुइतर्फी ३ सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने अध्यक्ष कार्कीले बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लीङ तयार गरिएको र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कम्पनीले जनाएको छ ।

बन्जीका लागि निर्माण भएको पुलको बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘द क्लिफ रिसोर्ट’ बनेको छ । २१ वटा सफारी टेण्ट रहेको रिसोर्टमा ७० जना अट्ने छ्न ।

अध्यक्ष कार्की सँगै युवराज जोशी, नेत्र प्रसाद पराजुली, फ्लोरेन्स कार्की, राजन जोशी र नवराज शर्मा लगायतको लगानी रहेको परियोजनामा प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ । बन्जी र स्वीङकालागि बनाइएको पुलको मात्र लगानी ८ करोड बढी रहेको बताइएको छ। १ सय २० रुपैयाँ तिरेर उक्त पुल वारपार गर्न सकिन्छ।

कसरी पुग्ने?

द क्लिफ प्रालि पोखरा बाट ५५ किमि , अन्नपूर्ण बेसक्याम्प को गेटवे नयाँपुल बाट १५ किमि दुरिमा अवस्थित छ। काठमाडौ, चितवन, पोखराबाट पर्वत कुश्मा सम्म सजिलै सार्वजनिक बस पाइन्छ। पोखराको बाग्लुङ बसपार्कमा गएर कुश्मा सम्म पुग्ने ‘सेयरिङ ट्याक्सी’मा पनि जान सकिन्छ।

द क्लिफमै गाडी सहितको प्याकेज बुक गरेर पोखरा-कुश्मा दुइतर्फी गाडीको सुबिधा लिन सकिन्छ। जम्प नगर्ने तर हेर्न मात्र जान चाहने ब्यक्तिले २ हजार रुपैयाँ तिरेर ‘गो एन्ड सी’ प्याकेज रोजेर दुइतर्फी गाडीको सुबिधा लिन सक्छन् ।