कन्ट्याक्ट ट्रेसिङबाट म्याग्दीमा पाँचजना कोरोना संक्रमित थपिए

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीमा कन्ट्याक्ट ट्रेसिङबाट कोरोना भाइरसका पाँचजना संक्रमितहरु थपिएका छन् । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको शुक्रबार सङ्कलन गरिएको १५ ओटा नमुनामध्ये पिसिआर परीक्षण गर्दा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमिततर्फ बेनी नगरपालिका–७, बेनीका ७८ र ४४ वर्षीया दुई महिला, ५६ वर्षीय १ पुरुष, बेनपा–८, घर भई बेनी अस्पतालमा कार्यरत २२ वर्षीया एक महिला स्वास्थ्यकर्मी तथा रघुगंगा गाउँपालिका–२, का ३४ वर्षीय एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

कोरोना पुष्टि भएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई आइशोलेसनमा राखिएको छ । आइतबार थपिएका पाँचजना संक्रमितसहित म्याग्दी जिल्लामा हाल कोरोना भाइरसका सक्रिय बिरामीहरु कुल २४ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

बेनीको आइशोलेसनमा ३, मंगला गाउँपालिकामा ५ र १६ जना होम आईशोलेसनमा रहेको उनले जानकारी दिएका छन् । म्याग्दीबाट हालसम्म कुल १८ सय ६९ वटा नमुना सङ्कलन गरी पिसिआर जाँच गर्न पठाइएकोमा ती सबै नमुनाको नतिजा आइसकेको निमित्त प्रमुख लम्सालको भनाइ छ ।

तीमध्ये १७ सय ४७ वटा नमुनाको नतिजा नेगेटिभ, संक्रमित बिरामीको दोस्रो, तेस्रो नतिजासहित १ सय २१ वटा नमुनाको नतिजा पोजिटिभ र १ वटा नमुनाको नतिजा इन्भ्यालिड आएको स्वास्थ्य कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमितको कुल संख्या ९४ रहेकोमा ७६ पुरुष र १८ जना महिला संक्रमित रहेका छन् ।

उनीहरुमध्ये ५५ जना पुरुष र १० महिला निको भएर घर फर्किसकेका छन् । जिल्ला बाहिर गई संक्रमित पुष्टि भएका ८ जनाको औपचारिक र ६ जनाको अनौपचारिक जानकारी प्राप्त भएको जनाइएको छ ।