कोरोना संक्रमितलाई उपचार खर्च दिने जलजला गाउँपालिकाको निर्णय

0
Shares

नेपाल समाचारपत्र,पर्वत ।

पर्वत उत्तरी पर्वतको जलजला गाउँपालिकाले आफ्नो पालिका भित्रका कोरोना संक्रमितलाई उपचार खर्च सहयोग गर्ने भएको छ ।
समुदायस्तरमा कोरोना परीक्षण गर्न ‘एक घर, एक पिसिआर’ को अबधारणा अघि सारेको जलजलाको लामाखेत स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले संक्रमितलाई उपचार खर्च पनि उपलब्ध गराउने निणर्य गरेको हो ।

परिक्षणका क्रममा पहिचान भएर जटिल अवस्थाका अस्पताल भर्ना हुनेलाई उपचार खर्च वापत प्रतिव्यक्ति १० देखि २५ हजार रुपैयाँ उपलब्ध गराउने निणर्य गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । ‘लक्षण नदेखिएका संक्रमितको होम आइसोलेनमा राखेर उपचार गर्ने र अस्पताल भर्ना हुनुपर्नेहरुका लागि उपचार खर्च उपलब्ध गराउने निणर्य भएको छ।’ उहाँले भन्नुभयो ‘अस्पताल भर्ना हुन धरौटी राख्न र उपचार गर्न नसक्ने बिपन्न र गरिब समुदायका नागरिकका लागि लक्षित गरेर यस्तो ब्यवस्था मिलाएका हौ ।’
गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)ले ‘एक घर(एक पिसिआर जाँच’ को अबधारणा अघि सार्दै पालिकाबासीलाई सो सुविधा लिन अपिल गर्नुभएको छ । अघिल्लो आइतवारदेखि पर्वत बेनीबाट एक घर एक पिसिआर जाँच अभियान सुरु गरिएको थियो ।
यसैबीच जलजलाका जनप्रतिनिधिहरुले प्रदेश सरकारको कानुन अनुसार दशै भत्ता वापत पाउने सुबिधाको रकम कोरोना कोषमा जम्मा गरेका छन् ।

अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र गाउँसभा सदस्य गरि ४७ जनाको दशै भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ । गाउँपालिकाका अध्यक्ष मल्लले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताउनुभएको छ ।

यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।यसैबीच तत्काल पाँच शैयाको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष मल्ल कोरोना जितेर दशै अघि घर फर्कनुभएको थियो ।