बीमितले पाएनन् कोरोना बिमा दाबी


रोशन पराजुली,हेटौंडा ।

हेटौंडा उपमहानगरका नेपाली कांगे्रस सभापति आनन्दराम पराजुलीलाई कोरोना भएर साढे दुई महिना भइसक्दा पनि उहाँले कोरोना बिमा दाबी भुक्तानी प्राप्त गर्न सक्नुभएको छैन ।कोरोना संक्रमण निको भएर पनि उहाँ आफ्नो कार्यमा फर्किसक्नुभएको छ । उहाँले कोरोना बिमाको रकम आउने भनेपछि कोरोना बिमा बराबरको १ लाख रकम विभिन्न संघसंस्थालाई सहयोग गरिसक्नुभएको छ । तर, बिमांक रकम भने आएको छैन ।

उहाँले शिखर लाइफ इन्स्योरेन्समा बिमा गर्नुभएको थियो । बिमा कम्पनीमा बुझ्दा यसबारे आफूहरुलाई पनि थाहा नभएको इन्स्योरेन्सका प्रतिनिधिले बताएका छन् । रकम बिमा समितिले रोकिरहेको ह“ुदा हेड अफिसमा नै बुझनुपर्ने भन्दै उनीहरु पन्छिए । हेटौंडाका राजकुमार गौतम र उहाँकी पत्नीले एनएलजी इन्स्योरेन्समा बिमा गर्नुभएको थियो । उहाँहरु कोरोनामुक्त भएको २ महिना बढी भइसक्यो । तर, बिमा दाबी रकम भने पाउन सक्नुभएको छैन ।

कोरोना संक्रमण भएर २ महिना बित्दा पनि बिमा रकम नपाएकी हेटौंडाकी पत्रकार कुमारी स्याङ्बो पनि हुनुहुन्छ । उहाँको नेपाल पत्रकार महासंघ बागमती प्रदेशबाट युनाइटेड इन्स्योरेन्समा बिमा गरिएको थियो । उहाँले बिमा कम्पनीमा पटकपटक सम्पर्क गर्दा दुई/चार दिनमा भइहाल्छ भन्दै टार्ने गरेकोले आश मरिसकेको र पछिल्लो समय सम्पर्क पनि नगरिएको उहाँले बताउनुभयो ।

एभरेष्ट लाइफ इन्स्योरेन्समा बिमाबारे बुझ्दा प्रतिनिधिले आफूहरुले कागजपत्र मात्र हेटौंडाबाट सिफारिस गनें र बाँकी सबै काम हेड अफिसबाट नै हेर्ने हुँदा कुनै जानकारी नभएको बताए ।हेटौंडाका प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधि बिमा रकमबारे अन्यौलमा रहेको बताउँछन् । बिमा गर्ने बढेको बढ्यै तर भुक्तानी रकमको टुंगो नभएपछि आफूहरुले कोरोना बिमा गर्न छाडेको उनले बताए ।

यी केही उदाहरणमात्र हुन् । जतिको बिमा भयो, उनीहरुले बिमा रकम त पाउँछन् । तर, कहिले पाउँछन् भन्ने आफूहरुलाई जानकारी नभएको भन्दै उक्त कम्पनी पनि तर्किएको छ । मन्त्रालयबाट नै रोकिएको हुँदा बिमा दाबी भुक्तानी पाउन ढिला भएको उनीहरुको भनाइ छ । जबकि, हेटौंडाका बीमितले हेटौंडामा नै बिमा रकम पाइन्छ भनेर बिमा गरेका हुन् । प्रिमियम लिने बेलामा शाखाबाट लिने तर भुक्तानी दिनुपर्दा हेड अफिसमा बुझ्नुपर्छ भन्दै शाखा अफिसहरुले टार्दै गरेको देखिन्छ ।

कोरोना संक्रमित करिब ९० प्रतिशत बीमितले भुक्तानी पाएका छैनन् । आबश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दाबी भुक्तानी नपाएका अधिकांश हेटौंडाका बीमितले बिमा रकम पाउने आश मारिसकेका छन् । बिमा कम्पनीप्रति विश्वास टुट्दै गएको छ ।
कोरोना बिमा मापदण्ड–२०७७ मा आबश्यक कागजात पुगेका बीमितले बढीमा सात दिनभित्र भुक्तनी पाइसक्नुपर्ने प्रावधान छ ।

तर, अनेक बहानामा बिमा कम्पनीले भुक्तानी दिन आनाकानी गरेका छन् । केही बिमा कम्पनीले संक्रमित बीमित निको भएको रिपोर्ट चाहियो भनेर पनि दाबी भुक्तानी रोकेका छन् । जबकि, बिमा दाबीमा चाहिने कोरोना पोजेटिभ रिपोर्टमात्र हो । नेगेटिभ रिपोर्ट चाहिने व्यबस्था मापदण्डमा छैन । यही कारण अनेक बहाना झिकेर कम्पनीले दाबी भुक्तानी नदिएको जानकारको भनाइ छ ।

भदौ २८ सम्म बिमा गरेका बीमितले पुरानै मापदण्डअनुसार ५० हजार र एक लाख रुपियाँ दाबी भुक्तानी पाउनेछन् । तर, दाबी भुक्तानीका लागि तिनले पनि नयाँ बीमितले जस्तै घरमै आइसोलेसनमा बसेको भए पोजिटिभ पीसीआर रिपोर्टसहित स्थानीय तहको सिफारिस र अस्पतालमा उपचार गराएको भए डिस्चार्ज रिपोर्ट अनिवार्य पेश गर्नुपर्नेछ । बिमा कम्पनीले मागेको सबै कागजात पेश गरेकाहरुले कोरोना परीक्षण पनि सरकारीस्तरमै गराएका हुन् । कोरोना बिमा मापदण्ड परिमार्जनपछि अब निजी प्रयोगशालाका रिपोर्टले पनि मान्यता पाएका छन् ।