धानको समर्थन मूल्य लागू



यमलाल भुसाल, बुटवल

रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रमा धानको न्यूनतम समर्थन मूल्य लागू भएको छ । तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरूले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् ।

नगरपालिकाको सहजीकरणमा सहकारीले किसानको धान संघीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद गर्न तयार भएका हुन् । संघीय सरकारले गत जेठमा धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरे पनि त्यो कार्यान्वयन नभएपछि तिलोत्तमा नगरपालिकाले कार्यान्वयनमा सहजीकरण गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

संघीय सरकारले गत जेठ २ गते चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपियँँ र मध्यम खालको धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपियाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । साना किसान सहकारीमार्फत धान खरिद गर्ने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्देशिका समेत जारी गरिसके पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन् ।

नगरपालिकाले बोलाएको बैठकपछि तिलोत्तमाका छ वटा साना किसान कृषि सहकारी किसानको धान खरिद गर्न आवश्यक तयारीमा जुट्न सहमत भएका हुन् । नगरपालिकाले सहकारीसँग नगर क्षेत्रमा धान उत्पादनको अवस्था, भण्डारण क्षमता, आर्थिक व्यवस्थापनलगायतका विषयमा छलफल गरेको थियो ।

सरकारले गत जेठ २ गते चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपियँँ र मध्यम खालको धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपियाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । किसानको धान खरिद गरेर भुक्तानी दिएको प्रमाणअनुसार सरकारले सहकारीलाई प्रतिक्विन्टल ११२ रुपियाँ अनुदान रकम उपलब्ध गराउनेछ ।

छलफलपछि सहकारीका पदाधिकारीहरु नगरका वास्तविक किसानले उत्पादन गरेको मापदण्डअनुसारको धान तोकिएका स्थानमा खरिद गर्न तयार भएका हुन् । यो निर्णयसँगै सहकारीले आवश्यक तयारी गरी किसानको धान तोकिएको मूल्यमा खरिद गर्न थाल्नेछन् ।

किसानको धान खरिद गरेर भुक्तानी दिएको प्रमाणअनुसार सरकारले सहकारीलाई प्रतिक्विन्टल ११२ रुपियाँ अनुदान रकम उपलब्ध गराउनेछ । कृषि मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका पारित गर्दै सहकारीलाई प्रतिक्विन्टल ११२ रुपियाँ अनुदान दिने व्यवस्था गरेको हो ।

धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी हुँदा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो । नगरपालिकाले न्यूनतम समर्थन मूल्यमा धान बिक्री गरेर लाभ उठाउन किसानलाई र व्यापारीलाई समेत सरकारी दररेट अनुसार खरिद गर्न निर्देशन गरेको छ ।

सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने छन् । त्यसभन्दा बढी चिस्यान भए किसानलाई तोकिएको मापदण्ड पूरा गर्न वा एक प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारण गर्न सक्नेछन् । न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन हुँदा किसानलाई ठूलो लाभ पुग्ने र कृषिमा सहकारीको भूमिका स्थापित हुँदै जाने नगरपालिकाको भनाइ छ ।

कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्डस्टोर, नर्सरी, उत्पादनलगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने सरकारको योजना छ । हाल तिलोत्तमामा टिकुलीगढ, गंगोलिया, करहिया, मधवलिया, शंकरनगर, आनन्दवन साना किसान सहकारी संस्था छन् ।

 

प्रतिक्रिया दिनुहोस्