संक्रमणका कारण मकवानपुरमा तीनको मृत्यु

0
Shares

न्युज अफ नेपाल,  हेटौंडा ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मकवानपुरमा फरक स्थानमा तीन जनाको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणको कारण मकवानपुरका थप ३ जनाको मृत्यु भएको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ पुरुष र १ महिला छन् । मन्त्रालयका अनुसार संक्रमणका कारण मृत्यु हुनेमा हेटौंडाका ६६ वर्षीय पुरुष, ५१ वर्षीय पुरुष र ३३ वर्षीया महिला छन् । मृत्यु हुने तीनै जना जिल्ला बाहिर उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

हेटौंडाका ६६ वर्षीय पुरुष स्वासप्रश्वासमा समस्या भइपछि असोज ३० गते अस्पताल भर्ना भएका थिए । उनलाई असोज २८ गते कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी थाइराइड समस्याका बिरामीसमेत रहेको जनाइएको छ ।

अर्का मृतक ५१ वर्षीय पुरुष निमोनिया भएपछि असोज २६ गते अस्पताल भर्ना भएका थिए । उनमा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी उच्च रक्तचापका बिरामी रहेको जनाइएको छ ।
हेटौंडाकी ३३ वर्षीया महिला निमोनिया भएर असोज ३० गते अस्पताल भर्ना भएकी थिइन् । उनमा सोही दिन कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ बस्ने ती महिलाको मृत्यु भएको हो ।

हाल हेटौंडा–५ बस्ने उनको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वाशमा समस्या भएर भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी उनी ३७ हप्ताको गर्भवती रहेको भरतपुर अस्पतालले जनाएको छ ।

थाहा नगरपालिका वडा नम्बर–३ का कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । रिपोर्ट अनुसार उनी ४३ वर्षीय हुन् । कात्तिक ४ गते काठमाडौंस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्ने गरी थाहानगर फर्किएका थिए ।

ज्वरो निको नभएपछि उनी उपचारका लागि काठमाडौंस्थित मनमोहन मेमोरियल गएका थिए । अस्पतालमा स्वास्थ्य जाँच गर्दा उनीमा छातिको संक्रमण देखिएको उनका आफन्तले बताएका छन् । पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटभ रिपोर्ट आएपछि आफन्तले अस्पतालकै आइसोलेसनमा बस्न सुझाव दिए पनि उनी घर फर्किएका थिए ।

जनप्रतिनिधि र प्रहरीको सहयोगमा चनवन ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले शब व्यबस्थापन गरेको थियो । मृतकको परिवारलाई नगरपालिकाले एक लाख रुपियाँ राहत दिने भएको छ । नगरसभाले यस्तो निर्णय गरेको थियो ।

यससँगै मकवानपुरका कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा १९ जना हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका, मनहरी, बागमती गाउँपालिकाका एक/एक जना छन् ।

बागमती प्रदेश सरकारमातहत रहेका अस्पतालले कोभिड–१९ को उपचार निःशुल्क भइरहको प्रदेश सरकारले जनाएको छ । संघीय सरकारको नियमित पत्रकार सम्मेलनमा कोरोनाको उपचार नागरिक स्वयम्ले गर्ने जानकारी गराएपछि बागमती प्रदेश सरकारमातहत अस्पताल र आइसोलेसन खर्च सरकारले गर्ने बताएको हो ।

बागमती प्रदेश सरकारअन्तर्गत् ८ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेसनहरुमा कोरोना संक्रमितहरुको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

प्रदेश सरकारमातहत रहेका हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र अस्पतालद्वारा सञ्चालित आइसोलेसन र अन्य स्थानीय तहमार्फत् सहकार्यमा सञ्चालित थप १५ वटा आइसोलेसनमा कोरोना संक्रमितको उपचार निःशुल्क भइरहेको हो ।

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७९ हजार ६ सय ६१ जना पुगेको छ । प्रदेशमा हालसम्म कारोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार ७ सय ४९ छ । यससँगै प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ सय ९८ पुगेको छ ।